काठमाडौँ – नेपाली क्रिकेट टोलीले आज पपुवन न्यूगिनी (पीएनजी) सँग एक दिवसीय खेल खेल्दैछ । ओमानको अल अमारत क्रिकेट स्टेडियममा नेपालले नेपाली समय अनुसार बिहान ११ः१५ बजे खेल्दैछ । खेल डिशहोमको एक्सन स्पोर्टसले प्रत्यक्ष प्रशारण गर्नेछ ।


ADVERTISEMENT


खेल सेप्टेम्बर ५ र ८ मा तय भए पनि प्राविधिक कारणले आजदेखि सुरु भएको हो । नेपालले दोस्रो तथा अन्तिम खेल सेप्टेम्बर १० मा खेल्नेछ । त्यसपछि नेपालले लिग–२ अन्तर्गत ओमन र अमेरिकाविरुद्ध सेप्टेम्बर १३ देखि २० सम्म खेल्नेछ ।


ADVERTISEMENT

# # #


उक्त सिरिजको पहिलो खेलमा नेपालले १३ सेप्टेम्बरमा अमेरिकाविरुद्ध खेल्नेछ भने अन्तिम खेल १९ सेप्टेम्बरमा घरेलू टोली ओमानविरुद्ध मैदान उत्रिनेछ । उक्त सिरिजका लागि पपुवा न्यूगिनीविरुद्धका खेल तयारीका रुपमा हेरिएको छ ।

पपुवा न्यूगिनीविरुद्धको खेल नेपालको ११ औँ एकदिवसीय खेल हुनेछ । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएको नेपाली टोलीले पहिलो खेल सन् २०१८ को अगस्ट १ मा नेदरल्याण्डविरुद्ध उसकै घरेलू मैदानमा खेलेको थियो ।

नेपाल १९ महिनापछि एकदिवसीय खेल खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २०२० को फेब्रुअरीमा घरेलू मैदानमा ओमान र अमेरिकाविरुद्ध एकदिवसीय खेल खेलेको थियो । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको उक्त त्रिकोणात्मक सिरिजमा नेपाल ओमानविरुद्धका दुईवटै खेलमा पराजित गरेको थियो भने अमेरिकालाई दुवै खेलमा हराएको थियो ।

कोरोना महामारीका कारण लिग–२ को खेल तालिका प्रभावित भएसँगै त्यसयता नेपालले एकदिवसीय खेल खेलेको छैन । नेपालमा वर्षात्का कारण अभ्यास प्रभावित भएपछि नेपाल ओमान सिरिजका लागि दुई हप्ता अघि नै ओमान उडेको थियो ।

नेपालले पछिल्लो समय गत वैशाखमा नेपालमै नेदरल्याण्ड र मलेसियासँग त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । शानदार प्रदर्शन गर्दै सिरिज जितेको नेपालले त्यसयता अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

नेपाली टोली
ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब ।