काठमाडौँ – नेपाले पपुवा न्यूगिनी (पीएनजी)विरुद्ध दोस्रो एकदिवसीय खेलमा शानदार जित निकालेको छ । शुक्रबार युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दा नेपालले पीएनजीलाई १५१ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन बनायो । जवाफी ब्याटिङका लागि मैदान उत्रिएको पीएनजीले १९.१ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटियो ।


ADVERTISEMENT

# # #


नेपालका लागि आफ्नो खेल जीवनकै उत्कृष्ट बलिङ गरेका सन्दीपका अघि पीएनजीका ब्याट्सम्यान निरीह देखिए । ५.१ ओभर बलिङ गरेको सन्दीपले ११ रन मात्र खर्चिएर ६ विकेट चट्काए । यस्तै सोमपाल कामी, सुसन भारी र विक्रम सोबले समान १–१ विकेट लिए ।

पीएनजीका लागि टोनी उराले सर्वाधिक १९ रन बनाए । यस्तै चार्लस अमिनीले १६, नोर्मान भानुवाले १२, सेसे बाउले ११ र गौडी टोकाले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

यसअघि ब्याटिङ तर्फ नेपालका लागि रोहित पौडेललले सर्वाधिक ८६ रन हाने । जसक्रममा नेपालका लागि एकदिवसीय क्रिकेटमा दोस्रो ठूलो र व्यक्तिगत रुपमा अहिलेसम्मकै उच्च स्कोर गरेका उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपिनिङ ब्याट्सम्यानद्वय कुशल भुर्तेल र आशिफ शेखले समान ३–३ रन बनाएर आउट भए । सुरुवाती ९ रन बनाउँदा २ विकेट गुमाएपछि दबाबमा आएको नेपालका लागि रोहित पौडेलले कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गरे । ज्ञानेन्द्र व्यक्तिगत ४५ रनमा आउट भए । अर्धशतक बनाउनबाट ५ रनले चुकेका उनले ७० बलमा २ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ४५ रन बनाउँदा करण केसीले ४२ रनको योगदान दिए । आक्रमक व्याटिङ गरेका करणले २६ बलमा ४ छक्का र २ चौका ठोके । यस्तै सोमपाल कामीले ११ रन बनाउँदा विनोद भण्डारी ११ रनमा रनआउट भए ।

पपुवा न्यूगिनीका लागि चाद सोपेरले ९ ओभरमा ४५ रन खर्चिँदै ३ विकेट लिए । यस्तै कबुवा मोरिया र नर्मन भानुवाले समान २–२ विकेट लिए भने चार्ल्स अमिनीका नाममा १ विकेट रह्यो ।

नेपाललले आईसीसी ओडीआई लिग–२ अन्तर्गत यही सेप्टेम्बर १३ देखि २०सम्म ओमानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्दैछ । त्यसैको तयारीका लागि नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो ।

जसमध्ये पहिलो खेलमा नेपालले २ विकेटको जित हात पारेको थियो ।