काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् भने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा परशुराम तामाङद्वारा लिखित नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा नाम पुस्तक विमोचन गर्दै प्रचण्डले अहिले बैचारिक खडेरी परेकाले सबैले कम्युनिस्ट आन्दोलनबारे बहस गर्नुपर्ने बताएका हुन् । अध्यक्ष प्रचण्डले अहिलेको परिस्थितिमा आएको आवश्यकताको नाममा मार्क्सवादलाई गलत दिशातर्फ लैजान खोजिएको पनि बताए ।


ADVERTISEMENT

# # #


उनले पेरुका कम्युनिस्ट नेता गोन्जालोको रिहाइका लागि माओवादीले पनि अभियान चलाएको धारणा पनि राखे । प्रचण्डले माओवादी आन्दोलनबाट धेरै उपलव्धी प्राप्त भएको भन्दै कसलै यसलाई अपमूल्यन गर्न नसक्ने तर्क गरे ।

उनले नेपालको कम्युनिष्ट एकता एउटा प्रयोग भएको तर्क गरे । माओवादीले ओली नेतृत्वको एमालेसंग एकता गरेको र अहिले पार्टी बिभाजन हुँदा ज्ञान प्राप्त गरेको उनले बताए ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालको कम्युनिस्ट पार्टीहरु विदेशीसामु लम्पसार पर्ने गरेको बताए । कम्युनिस्ट पार्टीहरूमा गुटवादी र अहंकारको प्रवृत्ति देखिसकेपछि यसलाई चिर्न र जुध्न कम्युनिस्ट पार्टीहरुले सही र क्रान्तिकारी सर्वहारा संस्कृतिको विकास गर्नुपर्ने उनले बताए ।

त्यस्तै कार्यक्रमका सहभागीहरुले कम्युनिस्ट आन्दोलनलाई सशक्त ढंगले अघि बढाउनुपर्ने बताएका थिए । माओवादी नेतासमेत रहेका परशुराम तामाङको पुस्तक जागरण बुक्स हाउसले बजारमा ल्याएको हो ।