काठमाडौं – अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा)ले सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको बजेटको स्वागत गरेको छ । नयाँ बजेटले स्वदेशी उद्योगलाई प्रबर्धन गरेको भन्दै व्यवसायीले अब नेपालमै सवारीसाधन एसेम्बलिङ उद्योग स्थापना हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रवार अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा प्रतिक्रिया दिँदै नाडाले अब नेपालमै अटोमोबाइल उद्योग खुल्ने बताएको हो । सरकारले ल्याएको प्रतिस्थापन बजेट सवारीसाधन एसेम्बलिङका लागि कोसेढुंगा भएको भन्दै नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले यसका लागि बजेटको पूर्ण कार्यान्वयन महत्त्वपूर्ण हुने बताए ।


ADVERTISEMENT

# # #


आयातित मोटरसाइकलमा अन्तःशुल्क वृद्धि गर्दै नेपालमै एसेम्बलिङ हुने उद्योगको भन्सार तथा उत्पादन दुवैतर्फ अन्तःशुल्कमा ५०/५० प्रतिशत छूट दिने व्यवस्था उक्त विधेयकमा गरिएको छ । यद्यपि, आयातित मोटरसाइकलका लागि भने सरकारले ‘सेग्मेन्ट’ नै परिवर्तन गरी अन्तःशुल्क बढाएको छ ।

सरकारले १२५ देखि २०० सीसीसम्मका मोटरसाइकलमा १० प्रतिशत, २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा २० प्रतिशत र २५० देखि ५०० सीसीसम्मका मोटरसाइकलमा ३० प्रतिशतसम्म अन्तःशुल्क बढाएको छ ।

सरकारले एसेम्बलिङ उद्योगलाई प्रोत्साहन गर्नु सकारात्मक भएको भन्दै अध्यक्ष दुलालले सर्वसाधारणले चढ्ने मोटरसाइकलमा कर वृद्धिको निर्णय सच्याइनुपर्ने बताए । ‘सर्वसाधारणले चढ्ने मोटरसाइकलमा बढाइएको पुरानै सेग्मेन्ट कायम गरेर कर घटाउनुपर्छ,’ उनले भने । सरकारले नेपाली उद्योगलाई प्रोत्साहन गर्न ऐन नियमको स्थिरता महत्वपूर्ण हुने समेत उनले बताए ।

नाडाको विज्ञप्ति यस्तो छ :

देशको बर्तमान जटिल अवस्थामा पनि २०७८÷०७९ को प्रतिस्थापन बजेट आउदा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पनि ठूलै आशा र विश्वास अनि सरकारसंग भरोसा राखेकै हो ।

नाडाले झण्डै एक दशक अघि देखि नै आफना बजेट सम्बन्धी सुझावहरुमार्फत निरन्तर रुपमा सरकारलाई नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महशुल दुवैमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएकोमा माननीय अर्थ मन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन बजेट मार्फत एसेम्बलगरी नेपालमा सवारी साधन उत्पदान गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२ ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरिएकोमा नाडाले त्यसको स्वागत गर्दे सो निर्णय नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग स्थापनाका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा समेत राखेको छ ।

तर, त्यस्ता सवारी साधनहर उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससंग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुदैमा त्यस्ता उद्यागहरुलाई कुनै असर पर्न हुंदैन भन्ने कुरामा नाडा विश्वास राख्दछ ।

आजको यस्तो कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनहरु प्राय प्रयोग नहुने सन्दर्भमा मोटरसाइकल जस्ता नीजि सवारी साधनहरुले ने विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नु पर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक बृद्धि भएको छ र सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नु पर्ने देखिन्छ ।

तर, बर्तमान बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दे सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा बृद्धि समेत गरेको छ । मोटरसाइकलको सेगमेण्टमा भईरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएकोले सरकारले गत बर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि हामी सरकारसंग अनुरोध गर्दछौं ।

 अध्यक्ष कृष्णप्रसाद दुलाल