काठमाडौँ– गत वर्ष जेठदेखि मोटरसाइकल चलाउन थालेका काठमाडौंको डाँछीका दिनेश न्यौपानेसँग अझै सवारीचालक अनुमतिपत्र छैन । नयाँ बानेश्वरस्थित एउटा स्वास्थ्य क्लिनिकमा कार्यरत उनी डेढवर्ष पहिलेसम्म सार्वजनिक बसमा ओहोरदोहोर गर्थे ।


ADVERTISEMENT


कोरोना महामारी नियन्त्रणका लागि २०७६ चैतमा सरकारले जारी गरेको लकडाउनका कारण सार्वजनिक यातायात बन्द भयो । त्यसपछि भने उनले पहिले आफन्तको मागेर र पछि आफैं किनेर मोटरसाइकल चलाइरहेका छन् । मोटरसाइकल चलाएको महिनौंसम्म पनि नयाँ चालक अनुमतिपत्रका लागि आवेदन नखुल्दा उनले फारम भर्न पाएका छैनन् ।


ADVERTISEMENT

# # #


गत पुसमा आवेदन खुले पनि प्राविधिक समस्याले गर्दा पुस र माघ महिनामा पटकपटक प्रयास गरेपनि भर्न नसकेको उनको गुनासो छ । न्यौपानेले फागुन महिनामा आवेदन भरेका थिए । असार महिनाको अन्तिम सातामा पालो आउने भनेपछि उनले लिखित र प्रयोगात्मक परीक्षाका लागि तयारी गरे । दोस्रो लहरको कोरोना संक्रमण फैलन थालेपछि गत वैशाखमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्‍यो र उनको परीक्षाको मिति धकेलियो ।

साउन महिनामा बन्दाबन्दी हटेसँगै पुनः परीक्षा हुने आशा पलाएको भए पनि चावहिलस्थित यातायात कार्यालयको जवाफले निराश बनाएको न्यौपानेले बताए । यो डेढ वर्षमा उनले एक पटक ट्राफिक प्रहरीको जाँचमा परेर एक हजार रुपैयाँ जरिवाना तिरेका थिए । आफूसँग अनुमतिपत्र हुँदा ढुक्कले चलाउन पाइने भए पनि अहिले डराएर हिँड्नुपरेको उनको दुःखेसो छ । सकेसम्म ट्राफिक प्रहरीको जाँच नहुने भित्री सडकबाट उनी यात्रा गर्ने गर्छन् ।

‘आफूसँग अनुमतिपत्र नहुँदा गाह्रो भएको छ,’ उनले भने । एकातिर कोभिड र अर्कातिर कार्डको आपूर्ति नहुँदा लामो समयसम्म नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन भएको छैन । सेवाग्राहीले चाहेर पनि अनुमतिपत्र बनाउन पाएका छैनन् भने त्यही अनुमतिपत्र नभएको भन्दै ट्राफिक प्रहरीले जरिवाना गर्दै आएको छ । पटकपटक कोभिडका कारण भन्दै प्रशासनले सार्वजनिक यातायात बन्द गर्दा काठमाडौँ उपत्यकामा निजी सवारीसाधन चढ्ने बढ्दैछन् ।

सार्वजनिक सवारीसाधनमा स्वास्थ्य मापदण्डको पालना नगराउँदा निजी सवारी साधन चढ्नु बाध्यता भएको उपत्यकावासी बताउँछन् । सवारीसाधन किनेर चढ्नु कतिका लागि रहर त कतिका लागि बाध्यता छ ।

सेवाग्राहीले चाहेर पनि चालक अनुमतिपत्रको परीक्षामा सहभागी हुन पाएका छैनन् भने सडकमा पनि जाँच कम मात्रै भएको देख्न सकिन्छ । केही वर्ष पहिलेसम्म ट्राफिक प्रहरीले मुख्य मात्रै होइन सहायक सडकमा जाँच गर्ने गरेकोमा डेढवर्ष पहिले कोभिड देखिए पनि जाँच खासै भएको पाइँदैन ।

ट्राफिक प्रहरीले भने कोभिडका कारणले जाँच कम गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन आएकाले त्यसैका आधारमा कम गरिएको जनाएको छ । देशभर सङ्क्रमण बढिरहँदा जाँच कम भएको ट्रफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताए । ‘कोभिड सङ्क्रमण बढिरहँदा हामी मास्कको प्रयोगबारे चेतना फैलाउनेलगायतका अरु जिम्मेवारी पूरा गर्न लागेका थियौं, अब पुनः जाँच बढाइनेछ,’ उनले भने ।

सरकारले ६ वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेदेखि नै यसमा समस्या देखिएको छ । ललितपुरको एकान्तकुनास्थित कार्यालयबाट सेवा शुरु गरिएकोमा यसलाई अन्य कार्यालयमा विस्तार गरे पनि समस्या समाधान भएको छैन । त्यसबेला अनुमतिपत्र छाप्ने उपकरणको क्षमताभन्दा बढी संख्यामा छाप्नु पर्दा सेवाग्राहीले परीक्षा पास गरेको वा नवीकरण गरेको लामो समयसम्म पाएका थिएनन् ।

उपकरणको क्षमताका कारण भएको ढिलाइ हटाउन सरकारले दुई वर्ष पहिले नै ठूलो संख्यामा अनुमतिपत्र छाप्ने उपकरण ९मास प्रिन्टर० खरिद गरेको थियो । भारतीय कम्पनीसँग एकै पटकमा उपकरण र १० लाख कार्ड खरिद गरेपछि केही समय सजिलो हुँदै थियो । त्यो कार्ड सकिएपछि पुनः समस्या भएको छ ।

कार्ड अभावकै कारणले तत्काल नयाँ अनुमतिपत्रका लागि आवेदन नखुलाइने विभागले जनाएको छ । एकथरी सेवाग्राहीले फारम भर्न पाएका छैनन् भने अर्काथरीले फारम भरेर पनि परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षा पास गरेर वा नवीकरण गरेर अनुमतिपत्र नपाउनेको संख्या झण्डै सात लाख पुगिसकेको छ । अहिले तत्काल नआउने देखिएकाले त्यति बेलासम्म नयाँ आवेदन नखुलाइने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।

उनका अनुसार दशैंअघि नयाँँका लागि आवेदन खुलाउन नसकिने देखिएको छ । ‘नयाँ आउने कार्ड मास प्रिन्टरमा छापिएमा पुनः खुलाउन सकिनेछ,’ उनले भने । रासस