रामपुर (पाल्पा) – अहो ! तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त ! एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन ।

व्यावसायिक रुपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो । यसबाट सफलता पाउँदै गर्दा झन् व्यवसायतर्फ मोह बढिरहेको छ । रामपुर नगरपालिका–५ राङभाङका गौतमलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन । उनको परिवारको दरिलो आम्दानी नै तरकारी खेती बनेको छ ।


ADVERTISEMENT

# # #


उनी भन्छन्, “तरकारी खेतीबाट राम्रै सफलता पाएँ, छोराछोरीको पढाइ खर्च, घरायसी खर्च राम्रोसँग चलेको छ, निरन्तर लागि परे फाइदा पनि राम्रै छ ।” रोजगारको सिलसिलामा दुई दशक भारतमा बिताएका गौतमले गाउँ फर्के लगत्तै तरकारी खेती सुरु गर्नुभएको हो । तरकारी खेतीबाट उनले दाम मात्र नभई समाजमा राम्रो पहिचान बनाएका छन्।

यसै व्यवसायबाट गौतमले घरायसी खर्च, चार छोराछोरीको पढाइ खर्च राम्रैसँग धानेका छन् । उनले मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाई गछएन् । “जति कमाई गरेको छु, त्यसमा सन्तुष्ट छु, पाँच/सात रोपनी जति जग्गामा तरकारी हुन्छ, अन्य जग्गामा अन्नबाली लगाएको छु, यसमै आनन्दको जीवन जिउन पाएको छु,” गौतमले हँसिलो मुद्रामा भने ।

गौतमले बाह्रैमास विभिन्न जातका तरकारी उत्पादन गर्छन् । घरबाटै धमाधम बिक्री हुने हुँदा व्यवसायमा झन्झट छैन । अहिले उनले टनेलभित्र लगाएको गोलभेँडाको उत्पादन सुरु हुँदैछ भने काउली र बन्दा लगाउने तयारी गरेका छन् । तरकारी उत्पादन हुनु अगावै माग गर्ने हुँदा व्यापारीलाई पुर्याउन नसकिएको उनकी श्रीमती टिकीसरा गौतम बताउँछिन् । “तरकारीको फल लाग्न सुरु भएपछि टिप्नुभन्दा पाँच÷सात दिनअघि नै व्यापारीले माग गर्छन्, उत्पादन गरे मात्रै भयो, तरकारी बेच्ने पिरलो छैन,” उनले भनिन्।

सुरुका वर्ष डोकोमा बोकेर बजारमा पुर्याउने गौतम दम्पती अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दङ्ग छन् । श्रीमान् श्रीमतीको दिनचर्या नै तरकारी लगाउने र गोडमेल गर्दैमा बित्छ ।

यस्तै रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी व्यवसाय सुरु गरेका छन् । उनले तीन वर्षअघि ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरी करिब दश रोपनी जग्गामा तरकारी व्यवसाय थालनी गरेका हुन् । तरकारी खेतीसँगै सयपत्री फूल खेतीमा पनि उनले जोड दिएका छन् । थापाको फार्ममा हाल बोडी, सिमीलगायत तरकारीको उत्पादन भइरहेको छ भने दशैँ तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा र सयपत्री फूल लगाएका छन् ।

“दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु,” थापाले भने । प्रयोगमा नआएको जग्गा भाडामा लिएर थापाले तरकारी व्यवसाय सुरु गरेका हुन् । अहिले त्यही पत्थरिलो जमिनमा हरियाली तरकारी फलेर लाखौँको आम्दानी होला भन्ने कसैलाई पत्यार लागेको थिएन । त्यही पत्थरिलो जमिनबाट उनले हाल वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको छ ।

समय अनुसारका तरकारी लगाउन प्रविधि नजान्दा समस्या परेको उनको अनुभव छ । स्थानीय सरकारले अनुदानका कार्यक्रम मात्र नभई किसानलाई दीर्घकालीन समयसम्म टिक्ने प्रविधि दिएमा तरकारीबाट धेरै कमाउन सकिने थापाको अनुभव छ । अब दश रोपनी जग्गा थप गरी २० रोपनीमा तरकारी लगाएर वार्षिक रु दश लाख कमाउने योजना रहेको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । रामपुर नगरपालिकामा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा किसान आकर्षित भएका छन् भने धेरै किसान व्यवसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन् ।

पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यवसाय दर्ता गरेका वा समूहमा आबद्ध किसानलाई उन्नत तथा वर्णाशङ्कर तरकारीको बीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चिङ्ग, थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी सिटलगायत कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ । “केही किसानले दीर्घकालीन रुपमा व्यवसाय गर्ने गरी सोही अनुसारको संरचना तयार पारी तरकारी खेतीमा लाग्नुभएको छ, व्यवसायउन्मुख हुँदै गरेका किसानले पनि क्रमशस् जग्गा विस्तार गरी व्यवसायमा लाग्न थालेको पाइएको छ, कार्यालयमा तरकारी खेती गर्न इच्छुक किसान बेलाबेलामा परामर्श लिन आउने गर्नुहुन्छ,” पाण्डेयले भने ।

मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने ठूला व्यावसायिक किसानलाई अनुदानसमेत दिन थालिएको छ । कृषि शाखाबाट किसानलाई वातावरणमैत्री, जैविक विषादी उपलब्ध र प्राविधिक ज्ञानका लागि स्थलगत घुम्ती तालिम किसानका खेतबारीमै सञ्चालन गरिँदै आइएको छ । खेतबारी खनजोतका लागि हाते ट्र्याक्टर जस्ता साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराइएको छ । कृषि शाखाको सहयोगमा विभिन्न कृषि सामग्री तथा बीउ बिजन, तालिम, प्राविधिक ज्ञान सीप पाएपछि यहाँका किसान मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन् । रासस

प्रतिकृया

प्रतिकृया