जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सङ्क्रामक रोगको जोखिम बढेको छ । पच्चिस जनाको क्षमता रहेको कारागारमा हाल ७५ कैदीबन्दी छन् ।


ADVERTISEMENT


तीमध्ये ४२ कैदी र बाँकी थुनुवा रहेका कारागार प्रमुख अनिल तिवारीले जनाए । उनका अनुसार, तेब्बर कैदीबन्दी हुँदा यहाँ सरुवा रोगको पनि जोखिम बढेको हो ।


ADVERTISEMENT

# # #


भौतिक दूरी कायम हुने त कुरै छैन्, कोरोनाको पनि जोखिम छ उनी भन्छन्, ‘कारागारभित्र ठाउँ नभएर टेण्ट हालेर राखेका छौंँ, व्यवस्थापनमा निकै चुनौती छ ।’

‘कारागार भित्रैको कम्पाउण्डमा दुई टेण्ट हालेका छौंँ, त्यसभित्र आठ शैया लगाएर १३ जनालाई त्यहाँ बसोबासको व्यवस्था गरेका छौंँ ; प्रमुख तिवारी भन्छन्, ‘व्यवस्थापनमा चुनौती थपिएको छ, ठाउँ अभावमा एउटै शैयामा तीन कैदीबन्दी सुत्ने गरेका छन् ।’

उनका अनुसार, कैदीबन्दीलाई शौचालय प्रयोग र सरसफाइका लागि समेत समस्या हुँदै आएको छ । उनीहरूमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले तत्कालका लागि बाह्य भेटघाट समेत बन्द गरिएको जानकारी दिदैँ उनले भने, ‘सबैले खोप लगाए पनि जोखिम बढ्ने भएकोले बाहिरी भेटघाट बन्द गरेका हौँ । विशेष परिस्थिति तथा मुद्दासँग सम्बन्धित भेटघाट भए, ७२ घण्टाभित्रको पिसिआर रिपोर्ट र कोरोना खोप लगाएको कार्ड हेर्ने गरेका छौं ।’

यस्तै, जिल्ला अस्पतालका प्रमुख डा वसन्तराज जोशीले पनि कारागारमा सङ्क्रमक तथा सरुवा रोगको जोखिम रहेको बताउँछन् । उनी भन्छन्, ‘थोरै मान्छे बस्नुपर्ने ठाउँमा बढी मान्छे लामो समयसम्म बस्दा जोखिम निकै हुन्छ ।’ यस्तो ठाउँमा क्षयरोग तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढी देखिने सम्भावना रहने उनको भनाई छ ।

पुरानो र जीर्ण भवन पुनःनिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ । विसं २०४०मा निर्माण गरिएको कारागार पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो ।

नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागमा लागत अनुमानसहितको योजना पठाइए पनि कहिले बन्ने भन्ने टुङ्गो छैन । प्रमुख तिवारीले भने, ‘नयाँ भवन बन्ने कुराको टुङ्गो लागेको छैन् । रू चार करोडभन्दा बढीको लागत इस्टमेट गरेर पठाइएको थियो ।’ कारागार सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको उनले बताए । रासस