नरेन्द्रसिंह कार्की, दार्चुला – कञ्चनुपरको ब्रह्मदेवदेखि दार्चुला टिङ्करसम्म निर्माणाधीन महाकाली लोकमार्गमा चालु आर्थिक वर्षमा छ वटा पक्की पुल निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा डडेल्धुरा, बैतडी र दार्चुला गरी छ वटा ठाउँमा पुल निर्माण हुने भएको हो ।


ADVERTISEMENT


पुल निर्माणका लागि चालु आर्थिक वर्षमा ठेक्का लगाउने तयारी गरिएको महाकाली लोकमार्ग दार्चुला टिङ्कर सडक योजना प्रमुख आशुतोष कर्णले बताए । उनका अनुसार डडेल्धुराको घट्टे र ठूलीगाड खोलामा दुई वटा, बैतडीको नीलगाड र कसानी खोलामा दुई वटा तथा दार्चुलाको कालागाड र कुकुरेगाड खोलामा दुई ठाउँमा पक्की पुल निर्माण हुनेछन् ।


ADVERTISEMENT

# # #


आर्थिक वर्ष २०६५–६६ बाट निर्माण सुरु गरिएको यो सडकखण्डले गति लिएको छैन । अहिले सडकको ट्र्याक खुलाउने, ब्याक किट तथा पुल निर्माणको काम सँगसँगै अघि बढाउन लागिएको हो । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिङ्करसम्म कूल ४२५ किलोमिटर सडक पर्दछ भने खलङ्गा सदरमुकामदेखि टिङ्कर ३० किलोमिटर दूरी रहेको छ ।

टिङ्कर सडक योजनाका अनुसार महाकाली लोकमार्गको दार्चुलामा ९० किलोमिटर, बैतडीमा ५७ किलोमिटर र डडेल्धुरामा १३ किलोमिटर सडकको अस्थायी ट्र्याक खुलाइएको छ । यो सडकखण्डको त्रिदेशीय नाका टिङ्कर जोड्ने गरी ८७ किलोमिटर सडकखण्डको ट्र्याक खुलाउने जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।

नेपाली सेनाले चालु आर्थिक वर्षदेखि काम थालेको सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौडेलले बताए। महाकाली लोकमार्ग निर्माणका लागि चालु आर्थिक वर्षमा कूल एक अर्ब तीन करोड बजेट विनियोजन भएको छ । सोमध्ये नेपाली सेनालाई रु २२ करोड ५० लाख छुट्याइएको छ ।

सात दिनको तलब विपद् कोषमा जम्मा गरिने

दुहुँ गाउँपालिकाले दुहुँ बाढीपीडित पुनःस्थापनाका लागि जनप्रतिनिधि, कर्मचारी र शिक्षकको सात दिन बराबरको तलब विपद् कोषमा जम्मा गर्ने भएको छ । दुहुँ गाउँ कार्यपालिका बैठकले भदौ १३ गते आएको बाढीपहिरो पीडितको पुनःस्थापनाका लागि रकम जम्मा गर्ने निर्णय गरेको हो ।

गाउँपालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले पालिकामा रहेका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकको सात दिन बराबरको तलब गाउँपालिकाले खोलेको विपद् कोषमा राख्ने निर्णय भएको गाउँपालिका प्रवक्ता गोविन्द डडालले जानकारी दिए ।

बाढपिहिरोका कारण १०० भन्दा बढी घरधुरी विस्थापित भएका छन् । दुहुँका पाँच बस्ती पुनःनिर्माण गर्नुपर्ने भएको छ । अर्बौँ बराबरको सम्पत्ति क्षति भएको छ । पूरै बस्ती पुनःस्थापना गर्न अहिले गाउँपालिकाले सहयोगसमेत सङ्कलन गरिरहेको छ ।

बैठकले गाउँपालिकालाई पुनःर्निमाण र पुनःस्थापना गर्न विशेष गाउँपालिका घोषणा गर्न प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता डडालले जानकारी दिए । बाढीबाट क्षतविक्षत भएका सार्वजनिक संरचना पुनःनिर्माणका लागि प्रदेश तथा सङ्घ सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।

बिजुली नहुँदा गाउँ अन्धकार

सदरमुकाम नजिकै रहेको दार्चुलाको दुहुँ गाउँपालिका फेरि अन्धकारमय बनेको छ । यही भदौ १३ गते आएको बाढिपहिरोपछि गाउँपालिका अन्धकारमय बनेको हो । अहिले स्थानीयवासी पुनः सोलार र टुकीको भर पर्नुपरेको छ ।

“गाउँपालिकाभर रहेका पाँच वटा विद्युत् बाढीपहिराले बगाएपछि गाउँवासी अन्धकारमा बसेका छन्”, गाउँपालिका अध्यक्ष कार्कीले भने, “विद्युत् नहुँदा मोबाइल चार्ज गर्नै गाउँवासीलाई सास्ती छ ।”

बाढीपहिरोका कारण कालागाड लघुजलविद्युत् हिकिला ४३ किलोवाट, कालागाड लघुजलविद्युत् ब्रह्मदेव दोस्रो ४५ किलोवाट, ब्रह्मदेव लघु जलविद्युत् ५० किलोवाट, भास्कर लघुजलविद्युत् पिपलचौरी भाडी ४० किलोवाट र सुत्खोला लघुजलविद्युत् १० किलोवाट पूर्णरूपमा ध्वस्त भएको अध्यक्ष कार्कीले बताए ।

विद्युत्को नाम निसाना मेटिएको छ । लघुजलविद्युत्ले गाउँपालिकाभरि विद्युत् पुगेको थियो । अहिले सबै ध्वस्त भएपछि गाउँपालिका २०औँ वर्ष विकासमा पछाडि धकेलिएको छ । विद्युत् बनाउन कति बजेट चाहिने हो हिसाब छैन । पूरै विद्युत्गृहदेखि प्रसारण लाइन सबैमा क्षति पुगेको छ ।

गाउँपालिकामा तत्काल राष्ट्रिय प्रसारण लाइन जोड्न विद्युत् प्राधिकरण दार्चुलालाई आग्रह गरिएको अध्यक्ष कार्कीले बताए । अहिले दुहुँ–१ पिपलचौरीमा मात्रै विद्युत्को पहुँच पुगेको प्रवक्ता डडालले बताए । वडा नं २ र वडा नं ३ का केही घरधुरीमा लाइन जोडिएको छ । बाढीपहिरोले विद्युत्का खम्बा, मेनलाइन सबै बगाएपछि विद्युत् जडानमा ढिलाइ भएको उनले बताए । अहिले प्राधिकरणले ठेक्कामार्फत काम गराए पनि सबै ठाउँमा तत्काल बत्ती पुग्ने सम्भावना नरहेको उनको भनाइ छ ।

अहिले गाउँपालिकाको कुन कुन वडा र बस्तीसम्म विद्युत् लाइन विस्तार भए छ भन्नेबारे नेपाल विद्युत् प्राधिकरण दार्चुला भने अनविज्ञ छ । “अहिले मलाई कुन वडा र कहाँ बत्ती पुगेको छ भन्ने केही जानकारी छैन”, नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख पदमबहादुर बमले भने, “एक दुई वडामा ग्राहक बनेजस्तो लाग्छ, तर यकिन विवरण छैन ।” रासस