काठमाडौं – हनुमानढोका दरबार क्षेत्रमा वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान गरिएको छ ।


ADVERTISEMENT


नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा आज बिहान ६ः५१ बजे इन्द्रजात्राको लिङ्गो ठड्याइएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । मुख्य जात्रा आइतबार हुने भए पनि आजैदेखि विभिन्न देवीदेवताका नामका नाच शुरु हुने उहाँले बताए ।


ADVERTISEMENT

# # #


कार्यालयका मूल पुजारी देवराज अर्यालद्वारा विधिपूर्वक पूजा आराधना एवं हवन गरी शुभ साइतमा इन्द्रध्वजोत्थान गरिएको हो । सो अवसरमा नेपाली सेनाको शार्दुलजङ्ग गुल्म (गुरुजुको पल्टन) ले धिमे बाजासहित मङ्गल धुनको प्रस्तुति गरेको थियो । इन्द्रध्वजोत्थानसँगै आज बिहान वसन्तपुर दरबार क्षेत्रमा देवी नाच पनि प्रस्तुत गरिएको छ ।

आजदेखि यही असोज ८ गतेसम्म विभिन्न १९ किसिमभन्दा बढीका नाच पनि वसन्तपुर क्षेत्रमा प्रस्तुत गरिन्छ । भक्तपुर, हलचोकलगायत उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राका अवसरमा नाच प्रस्तुत गर्ने परम्परा छ । इन्द्रध्वजोत्थान गरेपछि जात्राको मुख्य दिन आइतबार कुमारीलाई तल्लो टोल यात्रा गराइन्छ ।

असोज ४ गते माथिल्लो टोल यात्रा गराइने कार्यक्रम रहेको छ । असोज ८ गते नानिचा यात्रा गरिने छ । त्यसै दिन राति १०ः३६ बजे इन्द्रध्वज पातनअर्थात् लिङ्गो ढालिने साइत छ । यसरी करिब १५ दिन लामो इन्द्रजात्राको कार्यक्रम समापन गरिन्छ । कोरोना महामारीका कारण गत वर्ष पूजा आराधनामात्र गरेर यात्रा स्थगित गरिएको थियो ।

यस वर्ष सरोकार भएका निकायको बैठकले स्वास्थ्य मापदण्ड पालना गरी न्यूनतम उपस्थिति गराएर जात्रा गर्न लागिएको गुठी संस्थान काठमाडौँ कार्यालय प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। रासस