म्याग्दी – मोबाइल फोनमा कुराकानी गर्न टावर टिप्ने डाँडामा चढ्नुपर्ने र इन्टरनेट चलाउन सदरमुकाम जोमसोम झर्नुपर्ने उपल्लो मुस्ताङवासीको बाध्यता हटेको छ ।


ADVERTISEMENT


घर, गोठ, मेलापात, कार्यालय जहाँ जाँदा पनि साथमा रहेको मोबाइलमा कुराकानी गर्न मात्र नभएर उच्च गतिको इन्टरनेट चलाउन पाएपछि बारागुङ, मुक्तिक्षेत्र, लोघेकर–दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका बासिन्दालाई सहज भएको छ ।


ADVERTISEMENT

# # #


देश ,विदेश र वल्लोपल्लो गाउँमा अत्यावश्यक सूचना आदानप्रदान गर्नदेखि सहर बजारका कलेजमा भर्ना भएका विद्यार्थीले कोरोना महामारीमा घरमै बसेर अनलाइनबाट पढ्न पाएका चराङवासी घम्जुघुटी गुरुङले बताए ।

“सञ्चार सुविधाको विस्तारसँगै भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बासिन्दाको जीवनशैलीमा परिवर्तन आएको छ”, उनले बताए, “कोठाभित्रै बसेर सूचना आदानप्रदान गर्न पाएका छौँ । सञ्चार नहुँदा धेरै सास्ती भएको थियो ।” विकास निर्माणमा सहजीकरण गर्न, सार्वजनिक सेवा प्रवाह, भेडाच्याङ्ग्रा, स्याउलगायत कृषिजन्य वस्तुको बजारीकरणमा समेत सहयोग पुगेको लोमान्थाङका टासी गुरुङले जानकारी दिए । “धार्मिक र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ”, उनले भने, “मोबाइल सुविधा विस्तारसँगै जीवनशैलीमा नसोचेको परिवर्तन ल्याएको छ ।”

सरकारी स्वामित्वको नेपाल टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा तारजडित टेलिफोन, फाइबरबाट इन्टरनेट विस्तार गरेको छ । मुक्तिनाथ, दामोदरकुण्डदेखि चीनको सिमाना कोरला नाकासम्म बिटिएस टावरमा थ्रीजी सञ्चालन गरेको टेलिकमको बागलुङ शाखाका वरिष्ठ इञ्जिनीयर केशव शर्माले जानकारी दिए ।

“मुक्तिनाथमा फाइबर इन्टरनेट विस्तार भएको छ”, उनले भने, “चार हजार ६०० मिटर उचाइको कोरला नाकाको बिटिएस टावरमा पनि थ्रीजी चलाएका छौँ ।” छरिएका र पातलो बस्ती भएको मुस्ताङका ठाउँमा मोबाइल र थ्रीजी इन्टरनेट विस्तार गर्न २० बिटिएस टावर राखेको टेलिकमका मुस्ताङ शाखा प्रमुख सुमनराज श्रेष्ठले जानकारी दिए ।

धार्मिकस्थल दामोदरकुण्डमा जाने दर्शनार्थी र स्थानीयवासीलाई लक्षित गरेर पछिल्लो पटक लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावर’को स्तरोन्नति गरिएको छ । तीव्र गतिमा चल्ने हावाहुरी, हिमपात र चिसोका कारण सञ्चार सेवालाई प्रभावित हुन नदिन स्थानीय तहले सामग्री राख्ने घर निर्माण र टावरसम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तार गरेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए ।

पोखरा–बागलुङ, बेनी–जोमसोम–कोरला सडक निर्माणका क्रममा फाइबरमा क्षति हुने र विद्युत् आपूर्तिमा हुने अनियमितता मुस्ताङको सञ्चार सुविधालाई नियमित र गुणस्तरीय बनाउन चुनौती देखिएको छ । विसं २०७४÷०७५ सम्म मुस्ताङमा सीमित कल सुविधा मात्र थियो । हाल अधिकांश भू–भागमा माइक्रोवेभ रेडियो लिङ्कमार्फत अत्याधुनिक प्रविधिको सेवा प्रवाह गरिरहेको छ । रासस