तनहुँ – दशैं–तिहारको बिदालाई लक्षित गर्दै बन्दीपुरहिलले ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ। बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड बन्दीपुरहिलले नौ दिनसम्म चल्ने उत्सवमा स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विभिन्न आकर्षण समेट्ने जनाएको छ।

फेस्ट दुई चरणमा आयोजना हुनेछ। पहिलो चरण असोज २८ देखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ देखि १० गतेसम्म बन्दीपुर केबलकारको लोअर स्टेसनमा सञ्चालन हुनेछ।


ADVERTISEMENT

# #


महोत्सवमा स्थानीय परिकारका साथै रमाइला खेल, सांस्कृतिक प्रस्तुति, बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन रहनेछन्। त्यस्तै, केबलकार, जिपलाइन, स्काई साइकलिङलगायतका साहसिक गतिविधिको अनुभव पनि लिन सकिने आयोजकले जनाएको छ।

दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख राजमार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवर्द्धनात्मक कुपनसमेत वितरण गर्नेछ।


ADVERTISEMENT

#
#


बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमका अनुसार बन्दीपुरलाई नेपालको एक प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले फेस्ट आयोजना गर्न लागिएको हो। उनका अनुसार यसले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्नेछ।

कार्यक्रम संयोजक सुरज राईले फेस्ट सबैका लागि खुला रहने र प्रवेश निःशुल्क हुने जानकारी दिएका छन्। स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा स्वागत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए।

प्राकृतिक सौन्दर्य, मनोरम हिमाली दृश्य, सांस्कृतिक अनुभव र साहसिक गतिविधिका लागि परिचित बन्दीपुरमा आयोजना हुने यस फेस्टले दशैं–तिहारको समयमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।