भारतसँग खटपट हुँदा चीनतिर ढल्कीने, सत्ताच्यूत हुनुमा भारतकै भूमिका देख्ने ‘ओली राष्ट्रवाद’ प्रत्यूत्पादक


ADVERTISEMENT


– कुसुम भट्टराई


ADVERTISEMENT

# # #


राष्ट्रवाद कि देशभक्ति ? जबसम्म हामी ‘राष्ट्रवाद’ र ‘देशभक्ति’बीचको भेद खुटयाउन सक्दैनौं, तबसम्म देश उँभो लाग्न सक्दैन । कुनै एक जाती, धर्म, भाषाको मात्र पक्षपोषण गरिनु राष्ट्रवाद हो । देशभक्तिमा चाहिँ मुलुकका सबै भाषा, धर्म, जाती र वर्गको समष्टीगत उन्नतीको सदाशयता राखिएको हुन्छ ।

पञ्चायत कालमा राष्ट्रवादको गलत व्याख्या भयो । देशका जनता निरंकुशता, अभाव, गरिबी, भोकमरी, अशिक्षा र गरिबीको चपेटामा परिरहे, शासकहरु चाहिँ सगरमाथा, बुद्ध, सीता, ढाका टोपी र दौरा सुरुवालकै विम्बमा राष्ट्रियता देखिरहे । जनताको सर्वांगीण विकास गर्नु, त्यसका लागि सोच्नु र समर्पित हुनु नै देशभक्ति हो ।

लामो समयदेखि खोक्रो राष्ट्रवादको मुख्य आधार ‘भारत विरोध’लाई बनाइयो । हाम्रो राष्ट्रियता भारतको विरोधमा मौलाउँदै गयो, जुन भ्रम मात्र थियो । नेपाललाई आर्थिक रुपमा सम्पन्न नबनाइ फगत भारतकै विरोध गरेर शासकहरुले नेपाली जनमा राष्ट्रवादी संवेदना उत्तेजित गर्दै आए । २००७ सालमा भएको दिल्ली सम्झौताको विरोधदेखि दश वर्षे हिंसात्मक विद्रोहसम्म विशेषगरी कम्युनिष्टहरुले भारत विरोध नै राष्ट्रियता हो भन्ने ‘स्कुल अफ थट’ जनतामा फैलाए ।

नाकाबन्दीताका भारतको चर्को विरोध गरेर एमाले अध्यक्ष केपी ओलीले नेपालीको मन जिते । नेपालीमा भएको राष्ट्रवादी संवेदनालाई उनले जुरुक्क उचालिदिए । त्यही संवेदना भजाएर उनले नेकपालाई बहुमत दिलाए र आफू प्रधानमन्त्री भए । यद्यपी, उनको राष्ट्रवादी राग नक्कली थियो । उनले त त्यसलाई चुनावी ‘स्टन्ट’ मात्र बनाएका थिए । प्रधानमन्त्री बनेपछि तिनै ओली भारतसामू लम्पसार नै परे ।

नेपाली नेताहरुको यस्तै द्वैध स्वभावका कारण भारतीय पक्षसँग हाम्रो दरिलो संवाद र पारस्परीक हितका पक्षमा दीर्घकालीन सम्झौता हुन नसकेको हो । हैन भने, कोरा राष्ट्रवादभन्दा पर हाम्रो धरातलीय यथार्थ बेग्लै छ । हाम्रो भौगोलिक बाध्यताले हामीलाई भारतसँग पैंठेजोरी खोज्नै दिँदैन । यसो गर्दा हामीलाई फाइदा पनि छैन ।

भारतसँग नेपालको आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, पौराणिक र धार्मिक सम्बन्ध छ । खुला सीमाका कारण रोटीबेटीको सम्बन्ध छ । हामी हिन्दी, उर्दु, अवधी, भोजपुरी, मैथली, बंगाली आदि भाषा बुझ्छौं । तर, छिमेकी भइकन पनि अधिकांश नेपाली चिनिया भाषा बुझ्दैनन् । चिनियाँ संस्कृति, खाना र जिवनशैलीसँग नेपालीको जिवनशैलीले कुनै तादात्म्य राख्दैन । तर, भारतीय जिवनशैलीसँग नेपालीको जिवनशैली करीब करीब मिल्छ ।

आर्थिक रुपमा भारतसँग हामी अत्याधिक निर्भर छौं । भारतसँग नेपालको कुल व्यापार ८ अर्ब डलरभन्दा बढी छ । नेपालले तेश्रो मुलुकसँग गर्ने सबै व्यापार भारतकै मार्गबाट संचालन गर्छ । हुन त चीनले तेश्रो मुलुकसँग व्यापार गर्न चार वटा समुद्री बन्दरगाह र तीनवटा स्थल बन्दरगाह दिएको छ । तर, ती बन्दरगाह व्यवहारीक हिसाबले सुगम छैनन् । चिनियाँ बन्दरगाह नेपालबाट दुइ हजार किलोमिटर टाढा छन् भने भारतको कलकत्ता बन्दरगाह जम्मा ७७४ किलोमिटर र विशाखापटनम ११ सय ९४ किलोमिटर टाढा छ । हाम्रो लागि भारतको बाटो नै व्यापारका लागि उपयुक्त हुन्छ, जुन भौगोलिक यथार्थ हो ।

नेपालभन्दा धेरै गुणा ठूलो देश भारत विस्तारै महाशक्ति मुलुकका रुपमा विकसित हुँदैछ । मानव शंसाधन र प्राकृतिक श्रोतका हिसाबले भारतको अर्थतन्त्र उँभो लाग्दैछ । विश्व व्यापारमा भारत एउटा विशाल बजार भएकाले संसारको ध्यान त्यो बजारतर्फ सोझिएको छ । नेपालका लागि भारत पनि एउटा विशाल बजार हुनसक्छ, यदि हामीले आफ्ना श्रोत र साधनको उपयोग गरेर उत्पादन बढाउन सक्यौं र भारतमा निर्यात गर्न सक्यौं भने ।

तर, बिडम्बना, हामी नेपाली उत्पादक हैन उपभोक्ता मात्रै बनिरहेका छौं । उपभोक्ता बनिसकेपछि हामीले आधारभूतदेखि विलासिताका हरेक वस्तु भारतबाटै आयात गरिरहेका छौं । आलु, प्याज, लसुन, जिरा, मरीचदेखि दाल, चामल, कपडालगायत मसिना चिजसमेत भारतबाटै आउँछ । हामी धेरै हदसम्म भारतमा निर्भर छौं । यो यथार्थ हो । तैपनि हामीमा एकखालको खोक्रो स्वाभीमानी ग्रन्थी पनि छ, जसले भारत विरोधको रस निकालिरहन्छ ।

हेक्का रहोस्, भारतको विरोध हामी आफ्नो बलबुतामा गर्दैनौं । हामी एक त इतिहासको वीरता र पराक्रमको दुहाइ दिन्छौ । किल्ला, काँगडा, नालापानी आदि युद्धका कथा सम्झिन्छौं । आजको आणविक अस्त्रको युगमा हाम्रो सामरीक शक्ति कुन स्थानमा छ ? हामी त्यो आँकलन गर्दैनौं । पाकिस्तानसँग आणविक अस्त्र छ, उसले भारतलाई चुनौती दिइरहन्छ । भारत र पाकिस्तानबीचको सम्बन्ध जन्मजात शत्रुतापूर्ण छ । तर, भारतसँगको हाम्रो सम्बन्ध जन्मजात मैत्रीपूर्ण छ । यो तथ्य नभुलौं ।

भारत विरोधका क्रममा अर्कोतिर हामी उत्तरी छिमेकी चीनको आड लिन खोज्छौं । ‘भारतलाई तह लगाउन नेपाललाई चीनले सहयोग गर्छ नी’ भन्ने भ्रामक अनि मनोगत आग्रह पालेका हुन्छौं । केही ऐतिहासिक पृष्ठभूमिले पनि हामीमा यसखालको लघुताभाषी सोच विकास गराएको हो । सन् १९६२ मा तात्कालीन चिनियाँ रक्षा मन्त्रीले भनेका थिए, ‘नेपालमाथिको हस्तक्षेप चीनमाथिको हस्तक्षेप सम्झिइनेछ ।’

यसै कारण हिजोआज पनि हामी भारतसँगको सम्बन्धमा कुनै खटपट हुनासाथ हठात एउटा गल्ती गरिहाल्छौं, चीनतिर ढल्किने । भारतसँग खटपट भएमा भारतसँगै वार्ता गरेर समस्या समाधान गर्नुको साटो नेपाली नेताहरु ‘चाइना कार्ड’को कुटनीति अपनाउन थाल्छन् ।

भुपरिवेष्ठित मुलुकले सीमा जोडिएको छिमेकीको विकल्प खोज्न सक्दैन, विकल्प नै हुँदैन । भारतको विकल्प चीन हुन सक्दैन, चीनको विकल्प भारत हुन सक्दैन । चीनसँग नेपालको आफ्नै सम्बन्ध छ, भारतसँग आफ्नै ।

सामाजिक, भाषिक, आर्थिक, सांस्कृतिक, धार्मिक र पौराणिक हिसाबले भारत हामीसँग धेरै नजिक छ । यसर्थ भारतसँगको नेपालको सम्बन्ध विश्वका बाँकी सारा मुलुकसँगको दाँजोमा भिन्न, विशेष र अद्वितीय छ । नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भइरहनुको विकल्पै छैन । दुवै देशका जरा दुवै देशमा फैलिएका छन् । सभ्यताको एउटा विराट स्वरुप समुद्रदेखि हिमालसम्म फैलिएको छ । देश अलग भए पनि संवेदना एउटै छ ।

गौतम बुद्ध, भगवान राम, सीता, जनक, बाबा गोरखनाथदेखि हालका बाबा रामदेवसम्मको धार्मिक र आध्यात्मिक सम्बन्ध दुबै देशसँग जोडिएको छ । दुवै देशबीचको सामाजिक सम्बन्ध झन प्रगाढ छ । पारिवारिक, आर्थिक, धार्मिक, पर्यटकीय र मानव शंसाधनको सम्बन्ध झन गहिरो छ । अहिले करीब ५० लाखभन्दा बढी नेपाली भारतमा कार्यरत छन् । भारतीयहरु पनि नेपालमा रोजगारीका लागि आउँछन् । पशुपतिनाथदेखि विश्वनाथसम्म, मुक्तिनाथदेखि केदारनाथसम्म, देवघाटदेख हरिद्वारसम्म, रैनादेविदेखि ऋषिकेशसम्म, पाथीभरादेखि वैश्णोदेवी माता मन्दिरसम्म नेपाल र भारतको धार्मिक सम्बन्ध अटुट छ ।

मित्र फेर्न सकिन्छ, तर छिमेकी फेर्न सकिदैन । मर्दा, पर्दा, प्राकृतिक विपत्ती आउँदा, हाँसो, खुसी र रोदनमा नजिकै रहेर साथ र सहयोग गर्ने भनेको भारतले नै हो । उदाहरणका लागि कोरोना महामारी सुरु भएपछि भारतले रोकथाम र उपचारका लागि सहयोगस्वरुप १८ प्रकारका औषधि उपलब्ध गरायो । भारतले उपलब्ध गराएको २३ टन औषधिमा इन्जेक्सन, डेस्ट्रोज र हाइड्रोक्सिक्लोक्विनलगायत थिए । आफै महामारीसँग जुझीरहेको भारतले यसरी औषधि सहयोग गरेर छिमेकीको कर्तव्य निर्वाह गरेको थियो । तात्कालीन ओली सरकारले महामारी सुरु भएको तीन महिना बितिसक्दा पनि उपचार र रोकथामका लागि औषधि जोहो गर्न नसकिरहेको बेला भारतको सहयोगले नेपालीलाई राहत दिएको थियो ।

भारतको चाहना नेपालमा स्थिरता, शान्ति र समृद्धि नै हो । नेपालमा शान्ति र स्थिरता भएमा त्यसको प्रभावले भारतीय सिमावर्ती प्रान्तहरुमा पनि शान्ति र स्थिरताको सुनिश्चितता हुन्छ । छिमेकमा अशान्ति भयो भने छेउको घरका मानिसलाई पक्कै निद्रा लाग्दैन ।

छिमेकको घर कम्पाउण्ड फोहोर भयो भने त्यसको दुर्गन्ध अर्को छिमेकीको नाकसम्म पुग्छ । यो यथार्थ भारतले मनन गरेको छ । यही कारण नेपालमा हुने अशान्ति, अराजकता र संकटमा भारतले मध्यस्थताको भूमिका निर्वाह गरेर निकासको वातावरण बनाइदिने गरेको छ ।

विसं २००७ मा राजा त्रिभुवनलाई दिल्लीमा शरण दिनु, दिल्ली सम्झौतामार्फत प्रजातान्त्रिक सेफ ल्यान्डिङ गराउनु, माओवादी हिंसात्मक विद्रोहको सुरक्षित अवतरणका लागि दिल्लीमै १२ बुँदे समझदारीको तारतम्य मिलाइदिनु आदि भूमिका भारतीय पक्षबाट निर्वाह भएकै हो । भारतको यो भूमिका उसको आग्रह या चाहनाले भन्दा पनि नेपाली नेताकै आग्रहले भएको हो । नेपालमा केही सानो संकट भयो कि नेपाली नेताहरु दिल्लीको मुख ताक्छन् । औषधि उपचारका बहानामा दिल्ली दौडाहामा निस्कन्छन् । भारतीय नेताहरुसँगको भेटमा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष र समस्याको समाधानबारे भन्दा पनि आफुलाई मन्त्री र प्रधानमन्त्री बनाइदिन याचना गर्छन् । भारतसँग गम्भीर र खुला ढंगले समस्याका बुँदामा छलफल गर्ने साहस र इमानदारिता कुनै नेपाली नेताले देखाउन सकेका छैनन् ।

आन्तरिक राजनीतिमा आफ्नो पकड खुस्किनासाथ नेपाली नेताहरु त्यसको दोष सोझै भारतमाथि थोपर्छन् । हरेक दलमा यो रोग बारम्बार बल्झिरहन्छ । सत्ताबाट बाहिरिनासाथ ‘भारतको इशारामा मलाई सत्ताबाट गलहत्याइयो’ भन्नेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिन नेपाली नेताहरु हिचकिचाउँदैनन् । आफ्नो राजनीतिक धरातल आफ्नै अक्षमता र नालायकीले कमजोर भएपछि भारतको चर्को विरोध गर्ने रुग्ण राष्ट्रवाद (सेनाइल नेस्नालिज्म)को राग अलाप्न थालिहाल्छन् ।

पूर्ववर्ती केपी ओली सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्यो । नेपाल र भारतबीच कालापानी क्षेत्रमा मात्र हैन, अन्य धेरै ठाउँमा सीमा विवाद छ र त्यसको समाधानका लागि वार्ताहरु चलिरहेकै थिए । भारतीय मिडियाले नेपालको नयाँ नक्सा जारी गर्ने कदमलाई ‘चीनको उक्साहट’का रुपमा प्रचार गरे । यद्यपी कालापानी क्षेत्रको विवाद आजको हैन, राजा महेन्द्रकै पालाको हो । यस विषयमा भारतसँग सार्थक बार्ता गर्नुको साटो ओलीले नयाँ नक्सा नै जारी गराए, संसदबाट पारित पनि भयो । विवादित विषयमा दुवै पक्षविबीच वार्ता नै पहिलो प्राथमिकता हुनुपर्थ्यो, तर अहिलेसम्म यस विषयमा वार्ता हुन सकेको छैन । भारतलाई प्रमाणिक दस्तावेजका आधारमा त्यो भूमि नेपालकै हो भनेर सहमत गराउने कुटनीतिक सामर्थ्य ओलीले देखाउन सकेनन् ।

बरु, आन्तरिक रुपमा विरोधी दलविरुद्ध कटाक्ष गरेझैँ ओलीले भारतलाई चिढ्याउने खालका अभिव्यक्ति दिए । गत वर्ष संसदमा बोल्ने क्रममा ओलीले भारतको राष्ट्रिय प्रतिकमुनी लेख्ने गरिएको वाक्यबारे टिप्पणी गर्दै भने, ‘भारतको एउटा प्रतिक चिन्ह छ, भारत भनेर चिनिने अशोकाले स्थापना गरेको चारमुखे सिंह । त्यसकोमुनि सत्यमेव जयते लेखिएको हुन्छ । सत्यमेव जयते भारतको चिन्ह मुनी छ, विश्वास चाहिँ म गर्छु । म सोध्नेवाला छु, भारतलाई सत्यमेव जयते कि सिंहमेव जयते ?’

यति मात्र हैन, सोही सम्बोधनमा उनले ‘भारतबाट आएको कोरोना भाइरस अलि कडा परेछ’ भनेर भारतलाई चिढयाए । उनले भनेका थिए, ‘अहिलेसम्म हेर्दा बुहानबाट संक्रमित भएर आएको अलि नरम देखिएको थियो, इटलीबाट आएको पनि नरमै देखिएको थियो, दुबइबाट आएको पनि नरमै देखिएको थियो, तर भारतबाट आएको चाहिँ अलि कडा भाइरस परेछ ।’

जब तात्कालीन नेकपाका नेताहरुले ओलीको स्वेच्छाचारी रवैयाको विरोध गर्न थाले, तब ओलीले त्यसको दोष पनि भारतमाथि नै थोपरे । उनले मदन भण्डारीको जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘७८ वर्षदेखि खोसिएको जमीन फिर्ता ल्याउन खोज्दा मलाई हटाउन खोजिएको छ । दिल्लीका संचार माध्यमहरुलाई सुन्नुस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ कहाँ के के भइरहेको छ । यहाँका होटलमा भइरहेका गतिविधिहरु त्यसले पनि देखाउँछ । दुतावासको सक्रियता त्यसले पनि बताइरहेको छ ।’

आफूलाई हटाउन भारत लागेको भन्ने कुरा सांकेतिक रुपमा भनेपछि ओलीप्रति भारतीय पक्ष चिढिनु स्वभाविकै थियो । यति मात्र नभएर उनले बिना आधार र प्रमाण रामको जन्मभूमि अयोध्या नेपालकै ठोरीमा पर्छ भनेर भारतलाई चिढ्याए ।

 उनले भने, ‘हामी अहिले पनि ठानिरहेक छौं, हामीले भारतका राजकुमार रामलाई सीता दियौं । भारतका हैन, अयोध्याका रामलाई सीता दिएका हौं । अयोध्या भनेको वीरगञ्जभन्दा अलिकित पश्चिपट्टिको गाउँ हो । अहिले खडा गरिएको अयोध्या हैन ।’ओलीको उक्त भनाइको भारतको सत्तारुढ दल भाजपाका प्रवक्ता र धर्म गुरुहरुले चर्को आलोचना गरे ।

गत वर्ष फागुनमा माओवाद केन्द्रका नेता पुष्पकमल दाहालले माके, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी मिलेर सरकार बनाएमा त्यो भारतका लागि ‘कम्फर्टेबल सरकार’ हुने अभिव्यक्ति दिएका थिए । तात्कालीन प्रधानमन्त्री ओलीले भारतप्रति सँकेत गर्दै भनेका थिए, ‘उहाँहरुलाई जनतालाई सेवा गर्ने, पूर्वाधार विकास गर्ने सरकार हैन, कसैका लागि कम्फर्टेबल सरकार चाहिएको छ ।’

सर्वोच्चको फैसलापछि सत्ताच्यूत भएका ओलीले केही दिनअघि मात्र भारतको नामै किटेर वर्तमान सत्ता गबन्धन भारतकै इशारामा बनेको आरोप लगाए । उनले आफूले पूर्वाधार विकास गर्दै, देशको स्वाभिमानको पक्षमा उभिदै मुलुकको समृद्धि अभियान थालेको, तर भारतले नेपालका केही नेतालाई उचालेर सरकार ढालेको अभिव्यक्ति हाकाहाकी दिए । सरकारमा हुँदा भारतको अति भक्ति गर्ने, राजनीतिक धरातल खस्किएर सत्ताबाट हटनासाथ भारतकै अर्घेल्याइ देख्ने नेपाली नेताहरुको रवैयाकै कारण नेपाल–भारत सम्बन्धमा बारम्बार चिसोपना आउने गरेको छ ।

डा. बाबुराम भट्टराई बारम्बार भारतसँग निहुँ खोजेर, अन्ध राष्ट्रवादको राग अलापेर र पैठेजोरी खोजेर नहुने धारणा व्यक्त गरिरहन्छन् । काठमाडौको एउटा अन्ध राष्ट्रवादी तप्काले उनलाई ‘भारतीय दलाल’सम्म भन्ने गर्छ । तर, एक्काइशौं शताब्दीमा छिमेकी मुलुकसँग परम्परागत भ्रामक अवधारणाबाट सम्बन्ध अघि बढन सक्दैन ।

पक्कै नेपालसँग भारतका केही आर्थिक र रणनीतिक स्वार्थ छन् । नेपालबाट भारतले चाहेको के हो ? त्यसबारेमा भारतसँग हामीले खुलस्त कुरा गर्नुपर्छ । भारतको स्वार्थको संसम्बोधन गरिदिए वापत भारतबाट नेपालले आफ्नो समृद्धि, स्थिरता र विकासमा के के सहयोग पाउनसक्छ, त्यसबारेमा पनि खुलस्त कुरा हुनुपर्छ ।

दुवैका राष्ट्रिय स्वार्थलाई टेबलमा राखेर सम्यक संवाद गर्ने र भारतलाई चित्त बुझाएर सम्बन्ध अगाडि बढाउने हो भने भारतको विकासको लाभ नेपालले पनि पाउनसक्छ । भारतसँग नेपालको विशेष सम्बन्ध छ । भारतसँगको सम्बन्धको कसीमा हामीले चीनसँगको सम्बन्धलाई दाँज्न मिल्दैन । भारतसँग सम्बन्ध सुमधुर बनाउँदा चीनलाई चिढ्याउनु पनि जरुरी छैन । भारतसँग विशेष सम्बन्ध राख्नुको अर्थ के पनि हैन भने चीनसँग टाढिनु । चीनसँगको हाम्रो सम्बन्धको आफ्नै आयाम छ, भारतसँगको आफ्नै ।

हामीले बढी भरपर्ने, बढी निकट हुनुपर्ने र बढी लाभ लिनसक्ने भनेको भारतबाटै हो । हाम्रा जलविद्युत आयोजनाहरुबाट उत्पादित हुने विद्युतको ठूलो र सहज बजार भारत नै हो । एमसीसी सम्झौता लागू हुनासाथ निर्माण हुने विद्युत प्रशारण लाइनले त्यो बजार खुलाउँछ । निजी क्षेत्रले समेत विद्युत कारोबारमा सहभागी हुन पाउँछ । भारतसँग यस्ता अपार सम्भावना छन् । हामीले आन्तरिक उत्पादन बढाउन सक्यौं भने पहिलो अनि ठूलो खरिदकर्ता भारत नै हो ।

जुनसुकै सरकार आए पनि नेपालको परराष्ट्र नीति परिवर्तन नहुने गरी साझा खाका बनाउनै पर्छ । राष्ट्रिय हितका पक्षमा राष्ट्रिय सहमतिका आधारमा तयार हुने परराष्ट्र नीति भयो भने हाम्रो बार्गेनिङ शक्ति बलियो हुन्छ ।

अतः काँग्रेस नेता प्रदीप गिरीले भने झैं नेपालका सबै दलहरुले परराष्ट्र नीतिकाबारेमा राष्ट्रिय सहमति कायम गर्नैपर्छ । जुनसुकै सरकार आए पनि नेपालको परराष्ट्र नीति परिवर्तन नहुने गरी साझा खाका बनाउनै पर्छ । राष्ट्रिय हितका पक्षमा राष्ट्रिय सहमतिका आधारमा तयार हुने परराष्ट्र नीति भयो भने हाम्रो बार्गेनिङ शक्ति बलियो हुन्छ । शक्ति राष्ट्रहरुले पनि आन्तरिक शक्तिहरुलाई खेलाएर, जुधाएर आफ्नो हात माथि राख्न पाउँदैनन् ।

अतः भारतको विकल्प चीन र चीनको विकल्प भारत हुन सक्दैन । लोकतन्त्र, मानवअधिकारको विश्वव्यापी मान्यतामा विश्वास गर्ने मुलुक भएकाले नेपालले विशाल लोकतान्त्रिक मुलुक भारतसँगको विशेष सम्बन्धलाई आफ्नो राष्ट्रिय हितमा कसरी उपयोग गर्ने भन्नेबारे गम्भीर हुनुपर्ने बेला आइसकेको छ । वैश्वीक राजनीतिमा दुई ठूला महाशक्ति अमेरिका र चीनबीचको आर्थिक र सामरिक रस्साकस्सीमा नेपालजस्तो मुलुकले आफ्नो अस्तित्व रक्षा र हितका लागि अर्को ठूलो मुलुक भारतसँग शत्रुतापूर्ण हैन, मैत्रीपूर्ण सम्बन्ध नै राख्नु अपरिहार्य छ । प्रचण्डले भने झैं अहिले भारतका लागि कम्फर्टेबल सरकार छ, यो सहजता र सहुलियतलाई सार्थकता दिन भारतसँग हार्दिक र सौहार्द संवाद गर्नैपर्छ । भारतको चर्को विरोध पनि हैन, भारतसामु लम्पसार पनि हैन । सम्यक अर्थात प्रर्याप्त सम्बन्ध राख्नुपर्छ ।

चीन पनि यही चाहन्छ । नेपालले भारतसँग समुधुर सम्बन्ध राखोस् भन्ने नै चीनको पनि सदाशयता छ । चीनले नेपाललाई अझै पनि दिल्लीकै आँखाले हेर्छ । नेपालमा कुनै चलखेल गर्नु परे चीनले एक पटक दिल्लीतिर नजर दौडाइ हाल्छ । किनकी, चीन र भारतको सम्बन्ध आर्थिक र रणनीतिक रुपमा झन व्यापक छ ।

अतः भारतविरोधी राष्ट्रवाद हैन, नेपाल र भारतमैत्री देशभक्ति नै आजको सही परराष्ट्र नीति हो ।