महेन्द्रनगर– अभिभावकविहीन बालबालिकाको आश्रयस्थल बनेको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकालीअञ्चल बाल अनाथालय दाताका भरमा चलिरहेको छ । विसं २०४९ मा स्थापना भएको बाल अनाथालयलाई राज्यबाट सहयोग नहुँदा अनाथालय सञ्चालनमा समस्या भइरहेको भए पनि कुनै पनि निकायले चासो देखाएका छैनन् ।


ADVERTISEMENT


तत्कालीन जिल्ला विकास समितिले वार्षिक रुपमा अनाथालयलाई केही रकम खाद्यान्न खरिदका लागि अनुदान दिइरहेको थियो । पछिल्ला वर्षमा स्थानीय सरकार आइसकेपछि सो रकम आउन बन्द हुँदा अनालयको खर्च व्यवस्थापनमा निकै समस्या भइरहेको अनाथालयका कार्यालय प्रमुख शङ्कर चन्दले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


अनाथालयमा हाल २९ बालबालिका आश्रित छन् । सबैजसो बालबालिकालाई बजार क्षेत्रका निजी तथा सरकारी स्कुलले निःशुल्क अध्यापन गराइरहेको भए पनि अनाथालयको अन्य व्यवस्थापनमा भने आर्थिक अभाव हुँदै आएको छ । ‘नगरपालिकासँग अनाथालय सहयोगका निम्ती धेरै गुहार माग्यौँ’, उनले भने, ‘पर्खाल निर्माणका लागि सहयोग भए पनि बालबालिकाको पालनपोषणका लागि केही पनि भएन ।’ अनाथालयलाई हालसम्म १९३ जना टुहुरा बालबालिकालाई आश्रय दिइसकेको जनाएको छ ।

‘यहाँ आश्रय लिएर पढेका धेरै बालबालिका जागिरमा छन्’, चन्दले भने, ‘सेना, प्रहरी, शिक्षक र निजामती सेवामा यहाँबाट पढेर गएका बालबालिका पनि छन् ।’

अनाथालय व्यवस्थापन समितिसँगै दाताको खाद्यान्न, लत्ताकपडालगायतको सहयोगले अनाथालय चलिरहेको चन्दको भनाइ छ । ‘जन्मदिन, श्राद्ध, विवाहको खुसीमा यहाँ दाता सहयोग गर्छन् । स्कुल र सहकारीको पनि महत्वपूर्ण सहयोग छ’, उनले सुनाए ।

त्यसैगरी पछिल्लो समय अनाथालय व्यवस्थापन समितिका पदाधिकारी र सदस्यले अनाथालय सञ्चालनका लागि रु १६ लाखको अक्षयकोष समेत स्थापना गरेको उनको भनाई छ । उनी भन्छन्, ‘अक्षय कोषमा आउने ब्याजबाट बालबालिकाको पालनपोषणमा खर्च गर्ने गरिएको छ । स्थानीय र प्रदेश सरकारले अनाथालयलाई बेवास्ता गरे ।’ रासस