काठमाण्डौं-पछिल्ला केही खेलमा निराशाजनक प्रदर्शन गर्दै आएको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड पुनः लयमा फर्किएको छ । रियलले स्पेनिस ला लिगाको सोमबार खेलिएको खेलमा लस पाल्मसलाई ३-० गोलले हरायो । रियल अंकतालिकाको तेस्रो स्थानमा छ । यद्यपि सबै टोलीले ११-११ खेल खेलिसक्दा लिग लिडर बार्सिलोनाभन्दा रियल अझै आठ अंकले पछाडि छ ।


ADVERTISEMENT


घरेलु मैदानमा खेलिएको तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी लस पाल्मसविरुद्घको खेलमा रियलका लागि पहिलो गोल ४१औं मिनेटमा कासेमिरोले गरेका थिए । खेलको दोस्रो हाफमा रियलले दुई गोल थप्दै जित सहज बनाएको थियो । रियलका लागि दोस्रो गोल ५६औं मिनेटमा मार्को एसेन्सियोले गरेका थिए । ७४औं मिनेटमा इस्कोले अर्को गोल थपेपछि रियलले सजिलै तीन अंक हात पार्‍यो ।


ADVERTISEMENT

# # #


तालिकाको पहिलो स्थानमा आसीन बार्सिलोनाको ३१ अंक छ । २७ अंकसहित भ्यालेन्सिया दोस्रो र २३ अंकसहित रियल तेस्रो स्थानमा छन् । समान अंक भए पनि रियलसँग गोलअन्तरमा पछि परेको एट्लेटिको म्याड्रिड तालिकाको चौथो स्थानमा छ । २० अंकसहित भिल्लारियल तालिकाको पाँचौं स्थानमा छ भने केवल ६ अंक बटुल्न सकेको लस पाल्मस १९औं स्थान (रेलिगेसन क्षेत्र) मा छ ।

रियल यसअघि लगातार दुई खेलमा पराजित भएको थियो । यसअघि स्पेनिस ला लिगामा रियललाई गिरोनाले हराएको थियो भने च्याम्पियन्स लिगमा पनि रियलले टोट्टनहामसँग हारको स्वाद चाखेको थियो । लगातार दुई खेलमा पराजित भएपछि साबिक विजेता रियलले आफ्नै समर्थकको चर्को आलोचना खेप्नु परेको थियो । ‘टोलीको गुमेको आत्मविश्वास फर्काउन यो जितले महत्वपूर्ण योगदान गरेको छ’, खेलपछि रियलका अनुभवी डिफेन्डर सर्जियो रामोस भन्छन् ।

सोही राति भएको अर्को खेलमा रियल सोसिएडाडले घरेलु मैदानमा इबरलाई ३-१ गोलले पराजित गर्‍यो । भिल्लारियलले पनि घरेलु मैदानमै मालागामाथि २-० गोलको जित हासिल गर्‍यो । १७ अंकसहित रियल सोसिएडाड तालिकाको सातौं स्थानमा छ । आठ अंकसहित इबर १७औं स्थानमा आसीन छ भने भिल्लारियलसँग हारेको मालागा केवल चार अंक बटुल्दै २०औं स्थानमा छ ।-आजको अन्नपुर्ण पोष्टबाट