काठमाडौं – सरकारले भाषा परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जान नपाएका श्रमिकलाई कोरिया पठाउने तयारी गरिरहेको छ । ईपीएस शाखा र कोरियाको मानव संसाधन विकास बोर्ड (एचआरडी)ले तोकेको मापदण्डअनुसार सरकारले श्रमिक पठाउने गरी तयारी गरिरहेको हो ।


ADVERTISEMENT


भाषा परीक्षा उत्तीर्ण गरेर बसेका नेपाली कामदारलाई सम्पूर्ण मापदण्ड पूरा गरी कोरियाका लागि सीधा उडान गर्नका लागि बोलपत्र आह्वान भइसकेको छ । कोरिया सरकारले राखेको मापदण्डअनुसार कोरोना बीमा र सीधा उडानको सम्झौतापछि नेपाली श्रमिक कोरिया पठाउने प्रक्रिया सुरु हुने ईपीएस शाखाले जनाएको छ ।


ADVERTISEMENT

# # #


मापदण्डअनुसार नेपालबाट जाने श्रमिकको कोभिड बीमा हुनुपर्ने, सीधा हवाई उडान हुनुपर्ने र १४ दिन होटल क्वारेन्टाइनको खर्च श्रमिक स्वयंले बेहोर्नु पर्नेछ । दक्षिण कोरिया जाने कामदारको बीमा गर्न विभागले अजोड, प्रिमियर, शिखर, एनएलजी, प्रभु र आईएमई इन्स्योरेन्स कम्पनी छनोट गरेको छ । यी कम्पनीले कोरिया जाने श्रमिकको पाँच हजार अमेरिकी डलरसम्मको कोरोना बीमा गर्नुपर्नेछ ।

ईपीएस शाखाका निर्देशक सुरेश राहुलले सीधा उडानका लागि केही समयअघि नै बोलपत्र आह्वान गरेको र परेका बोलपत्रको मूल्याङ्कन गर्ने काम भइरहेको जानकारी दिए । अक्टोबरमा सीधा उडानको सम्झौतापछि नियमित उडान हुने र एचआरडीले अन्तिम छनोट गरेर पठाएका श्रमिक पठाउन सुरु गरिने उनको भनाइ छ ।

विभागका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेका करिब १० हजार श्रमिक रोकिएका छन् ।