काठमाडौँ – नेतृत्व चयनका लागि प्रमुख विद्यार्थी सङ्गठनहरू राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेका छन् । अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले नयाँ नेतृत्व चयन गर्न लागेका हुन् ।


ADVERTISEMENT


अनेरास्ववियुले आगामी चैत २२ देखि २४ गतेसम्म २३औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले यही असोज १४ देखि १६ गतेसम्म २२औँ राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । नेविसङ्घले पनि छिटै ११औँ महाधिवेशनका लागि मिति तोक्न लागेको छ । चन्द निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि यही असोज ६ गतेदेखि २२औँ राष्ट्रिय सम्मेलन चलिरहेको छ । पोखरामा चलिरहेको सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


अनेरास्ववियुको गत भदौ २ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आगामी चैत २२ देखि २४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।सुनिता बरालको नेतृत्वमा सङ्गठनलाई पुनःगठन गर्दै महाविधेशन जाने निर्णय गरिको र उनले महाविधेशन शैक्षिक मुद्दामा केन्द्रित हुने जानकारी दिए । महाविधेशनका लागि मङ्सिरभित्रै सबै तहको अधिवेशन सक्ने जनाइएको छ ।

यस्तै क्रान्तिकारीले आसन्न राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र बनाएको छ । यसका लागि अहिले जिल्ला र प्रदेश तहको अधिवेशन भइरहेको जनाइएको छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुने र बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा गर्ने बताइएको छ । यसअघि भदौ २६ मा भएको क्रान्तिकारीको विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसपटकको सम्मेलनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताए ।

यस्तै नेविसङ्घका महामन्त्री बलदेव तिमिल्सेनाले नेपाली कांग्रेसको महाधिवेशन लगत्तै ११औँ राष्ट्रिय महाधिवेशन गर्ने जानकारी दिए । उनले महाधिवेशनका लागि राजनीतिक र साङ्गठनिक प्रतिवेदन तयार पार्नाका साथै सदस्यता वितरणको कार्य भइरहेको बताए । “हामी महाविधेशनको तयारीमा जुटेका थियौँ तर पार्टीको महाधिवेशनका कारणले हाम्रो महाधिवेशन अलि ढिला हुने भयो”, उनले भने, “पार्टीको महाधिवेशन भएको एक महिनाभित्र हामी पनि महाधिवेशन गर्नेछौँ ।”

यस्तै नेकपा (एकीकृत समाजवादी)को भ्रातृसङ्गठन अनेरास्ववियूको भर्खरै सम्पन्न राष्ट्रिय भेलाले सुदेश पराजुलीको अध्यक्षतामा केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्ष पराजुलीले अब दुई वर्षपछि मात्र नयाँ नेतृत्वका लागि भेला गरिने जानकारी दिए ।

समयमै हुँदैन महाविधेशन

सबै विद्यार्थी सङ्गठनका समयमै नयाँ नेतृत्व चयनका लागि महाधिवेशन हुन सकेको छैन । कोरोना भाइरसको सङ्क्रमण र पार्टीको आन्तरिक विवादका कारण महाविधेशन समयमा गर्न नसकिएको हो । प्रत्येक दुई÷दुई वर्षमा हुने महाधिवेशन पार्टीको हस्तक्षेपका कारण पनि रोकिँदै आएको छ ।

विसं २०७२ मा अखिलको २२औँ महाधिवेशनले नविना लामालाई अध्यक्षमा निर्वाचित गरेकामा अहिले छ वर्षपछि मात्र २३औँ महाधिवेशनका लागि मिति तोकिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भएपछि नेकपाको विद्यार्थी सङ्गठन अखिलको संयोजक ऐन महरलाई बनाइएको थियो । पछि एमाले र माओवादी केन्द्र अलग भएपछि एमाले निकट अखिलका महर नै अध्यक्ष भएका छन् । गत भदौ २ गते भएको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटीलाई पुनःगठन गर्दै बरालको अध्यक्षतामा ४६५ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ ।

यस्तै २०७४ सालमा २१औँ सम्मेलन गरेको क्रान्तिकारीले चार वर्षपछि २२औँ राष्ट्रिय सम्मेलन गर्दैछ । प्रत्येक दुई÷दुई वर्षमा हुनुपर्ने सम्मेलन पार्टीको आन्तरिक किचलोका कारण चार वर्षमा हुन लागेको हो । यस्तै नेविसङ्घको २०७२ सालमा १०औँ महाधिवेशन भएकामा छ वर्षपछि अहिले ११औँ महाधिवेशनको तयारीमा जुटेको छ । समयमै महाधिवेशन हुन नसकेपछि २०७६ माघमा अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए । “समयमै महाधिवेशन गर्न नसकेपछि मैले पार्टीमा राजीनामा बुझाएको हुँ”, उनले भने, “तर राजीनामा बुझाएको दुई वर्ष पुग्न लाग्दा पनि महाविधेशन हुन नसक्नु दुःखद् हो ।”

उनले राजीनामा दिइसकेपछि नेपाली कांग्रेसले महाविधेशन गर्न राजीव ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय पदाधिकारी बनाए पनि कोरोना भाइरसका कारण महाविधेशन अझैसम्म हुन सकेको छैन । रासस