काठमाण्डौं-दश जोड २ का अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्रै नलिई मोटरसाइकल चलाउने गरेका छन् । महानगरीय प्रहरी ट्राफिक महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृया सञ्चालन गर्दा एकै दिन ललितपुरबाट मात्र १०३ जना विद्यार्थी पक्राउ परे ।


ADVERTISEMENT


सवारी दुर्घटनामा विद्यार्थीको बढ्दो संख्या नियन्त्रण गर्न महाशाखाका प्रमुख सर्वेन्द्र खनालको निर्देशन बमोजिम मंगलबार विद्यार्थी केन्द्रित गरेर ललितपुरको मानभवन र कुमारीपाटी क्षेत्रमा बिहान एक घन्टा आकस्मिक चेकिङ गरेको थियो ।जसमा कलेज हिँडेका २ सय विद्यार्थीसँग सवारी चालक अनुमति पत्र माग्दा १०३ सँग चालक अनुमति पत्र नभएको फेला परेको थियो।


ADVERTISEMENT

# # #


महाशाखा प्रमुख खनालका अनुसार सवारी दुर्घटनामा मृत्यु हुने र घाइते हुनेहरुमा विद्यार्थीको संख्या बढी देखिएपछि उनीहरुलाई केन्द्रित गरी विशेष कारबाही शुरू गरिएको हो। मंगलबार बिहान ललितपुरको मानभवन, कुमारीपाटी र जावलाखेल क्षेत्रबाट ट्राफिक प्रहरीले विना कागजपत्र चलाउने, तिब्र गतिमा कुदाँउने, स्पस्ट नम्बर प्लेट नभएका, स्वरूप परिवर्तन गरेर बाइक चलाउनेलाई नियन्त्रणमा लिएको ललितपुर ट्राफिक प्रहरीका प्रमुख सिताराम हाथेछुले जानकारी दिए ।

‘बिहान ६ बजे हामीले सवारी चेक जाँच गर्ने क्रममा क्याम्पस ड्रेसमै विना लाईसेन्स, स्वरूप परिवर्तन र तीन जना राखेर मोटरसाईकल चलाउने १०३ जनालाई नियन्त्रणमा लिएका हौ,’ उनले भने । नियन्त्रणमा लिएका मोटरसाइकल अब अभिभाबकलाई बोलाएर अबदेखि विना लाईसेन्स नचलाउने सर्तमा र लाईसेन्स भएको व्यक्तिलाई मात्र उक्त मोटरसाईकल जिम्मा लगाईने हाथेछुले जानकारी दिएका छन् । कारबाहीमा परेका उनीहरुलाई जनही एक हजारदेखि ५ हजार रूपैयाँसम्म जरिवाना लिने बताए ।

विद्यार्थी माझ मोटरसाइकलको स्वरुप परिर्वतन गरेर चलाउने प्रतिस्पर्धा बढेकाले प्रहरीले उनीहरुको मोटरसाईकलको स्वरुपको समेत परीक्षण गरेको थियो । प्रहरीका अनुसार नियमित परिक्षणकोक्रममा बाइकको स्वरुप परिर्वतन गरेको अभियोगमा ६९ वटा बाइक फेला पारेको थियो । दश जोडमा अध्ययनरत विद्यार्थी माझ मोटरसाईकल चलाउने प्रतिष्पर्धासँगै उनीहरु दुर्घटनाको सिकार बन्न थालेपछि केही कलेजहरुले आफ्ना विद्यार्थीलाई मोटरसाईकल चलाउनै प्रतिबन्ध लगाए पनि प्रभावकारी भने हुन सकेको छैन ।

ललितपुर ट्राफिक प्रमुख हाथेछुका अनुसार शुरक्षाको दुष्टिकोणमा दुईपांग्रे सवारी जोखिमयुक्त हुने गरे पनि किशोरहरुले मोटरसाईकललाई फेसन र मनोरञ्जनको रुपमा लिएका कारण उनीहरु आफैं पिडित बन्ने गरेको बताए । ‘उच्च गति अनि लापरवाहका कारण उनीहरु उच्च जोखिममा छन्,’ उनले भने, ‘बाइक पछाडि कलेजको सहपाठी राख्न पाए भने त सिनेमाको हिरो नै सम्झेर चलाउँछन् जसबाट उनीहरु आफू त दुर्घटनामा परेका छन् नै अरुलाई समेत प्रभाव पारेका छन् ।’

यसैबीच महाशाखाले विद्यार्थी केन्द्रित कारबाही प्रकृयालाई निरन्तरता दिने जनाएको छ । किशोर अवस्थाका युवा युवतीको गतिविधिमा अभिभावक बढी सचेत हुनुपर्नेमा बताउँदै महाशाखाका प्रमुख खनालले छोरा छोरीले कसरी बाइक चलाएका छन्, लाइसेन्स छ कि छैन भनेर ध्यान नदिँदा अभिभावक आफैंले आफ्नो सन्तानको ज्यान जोखिममा पारेको दाबी गरे ।

उनले अभिभावकहरुलाई आग्रह गरेका छन्- पछि पछुताउनुभन्दा अहिले नै लगाम लगाउनु उत्तम हुन्छ।’