काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ।

मंगलबार भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ११३ रनले पराजित गरेको हो। अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ क्रिकेट मैदानमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमै समेटियो। ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्।


ADVERTISEMENT

# #


ओमानको ब्याटिङ लाइनअप सुरुदेखि नै नेपाली बलरसामु कमजोर देखिएको थियो। १२ ओभरभित्रै ४१ रन जोड्दा ६ विकेट गुमाएको ओमानलाई विनायक शुक्ला र जय ओडेराले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूबीच ८३ रनको साझेदारी भए पनि त्यसले टोलीलाई हारबाट जोगाउन सकेन। ओडेरा २५ रनमा आउट भए।

नेपालका नन्दन यादव र कप्तान सन्दीप लामिछानेले समान तीन–तीन विकेट लिए। नन्दनले ६ ओभरमा १२ रन खर्चिए भने सन्दीपले नौ ओभरमा २८ रन दिए। दीपेन्द्रसिंह ऐरीले दुई तथा करण केसी र ललित राजवंशीले एक–एक विकेट हात पारे।


ADVERTISEMENT

#
#


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए। उनले ६७ बलमा तीन चौका र एक छक्का प्रहार गरे।

अर्जुन कुमालले ४० रन बनाउँदा बसिर अहमद र इशान पाण्डेले समान ३७ रन जोडे। दीपेन्द्रसिंह ऐरीले २२ रन बनाए। अन्त्यतिर आक्रामक ब्याटिङ गरेका करण केसीले केवल १६ बलमा ४० रन बनाए। उनले ४९औँ ओभरमा हस्नेन शाहलाई लगातार तीन छक्का प्रहार गरेका थिए।

ओमानका लागि शाह फेसल, शकील अहमद र करण सोनाभालेले दुई–दुई विकेट लिए भने हस्नेन शाहले एक विकेट लिए।

लगातार दोस्रो जितसँगै नेपालले लिग–२ को अंकतालिकामा आफ्नो स्थिति सुधार्ने प्रयास जारी राखेको छ। ३४ खेलबाट २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ। ३० खेल खेलेको ओमान ३३ अंकसहित चौथो स्थानमा कायम छ।

नेपालले शृङ्खलाको अर्को खेल आगामी शनिबार क्यानडासँग खेल्नेछ।