काठमाडौं – काठमाडौंका विद्यालयहरु पनि धमाधम खुल्न थालेका छन् । अभिभावकलाई भने विद्यालय खुल्दाका समस्या र चुनौती थपिएको छ ।


ADVERTISEMENT


यस्तै भइरहेको छ काठमाडौं डल्लुमा बस्दै आएकी रामेछापकी सरस्वती खड्कालाई । उनका छोराछोरी अहिले गाउँमा छन्। विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि विद्यालय बन्द गर्ने निणर्यसँगै काठमाडौंमै अध्ययन गर्ने उनका छोराछोरी गाउँ गएका हुन्।


ADVERTISEMENT

# # #


ज्याला मजदुरी गरी दैनिकी चलाउने सरस्वती भने काठमाडौंमै छिन् । दोस्रो लहरको कोरोना माहामारी सुरु भएसँगै उनका दुई सन्तान गाउँबाटै अनलाइनका माध्यमबाट पठनपाठन गरिरहेका छन् । आइतबारदेखि काठमाडौं महानगरपालिकाले भौतिक उपस्थितिमा विद्यालय खोल्न गरेको निणर्यले भने उनी अन्योलमा छिन् ।

उनले भनिन्, “एकातिर केटाकेटीले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन्, अर्कातिर नेपालीको महान् चाड दशैं शुरु हुन हप्ता दिनमात्रै बाँकी छ, एक हप्ताका लागि आफ्ना छोराछोरीलाई काठमाडौं ल्याउने वा पढाइ छुटाउने भन्ने विषयमा दोधार भइरहेको छ।”

काठमाडौंको वसन्तपुर निवासी यशोदा थापाले पनि दशैं अगाडि छोटो समयका लागि भौतिक उपस्थितिमा भन्दा पनि आफ्ना छोराछोरीको पठनपाठन अनलाइनका माध्यमबाट घरबाटै गराउन सहज हुने बताइन्। उनले भनिन्, “कोरोनाको डर कायमै छ, दशैँ आइसक्यो, खोप लगाएको छैन, यो हप्तामात्रै विद्यालय पठाएर के गर्नु ? ”

उनले कोरोनाको तेस्रो लहर आउने र त्यसबाट बालबालिका नै बढी सङ्क्रमित हुने भनिरहेका सन्दर्भमा सरकारले बालबालिकालाई खोपको व्यवस्था गर्न ढिलाइ गरिरहेको भन्दै गुनासो गरिन्। कोरोना भाइरस महामारीको त्रास कम नभएको र दशैँ शुरु हुन एक हप्तामात्रै बाँकी हुँदा सरस्वती र यशोदा मात्रै होइन, विद्यालय खोल्ने निर्णयले धेरै अभिभावक थप दोधारमा छन्।

महानगरपालिकाले असोज १० गते आइतबारदेखि भौतिकरूपमा नै विद्यालय खोल्ने निर्णय बिहीबार गरेको थियो। सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर र मोडर्ना नामक कोरोना भाइरसविरुद्धको खोप दिने तयारी गरिरहेको छ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरूपमा खोल्ने निणर्य गरिएको थियो। कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्न अनुमति दिने निणर्य गरेको थियो।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि महानगरपालिकाले जनाएको छ। शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ। लामो समय विद्यालय बन्द रहेको, चाडवाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरूपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ।

स्वास्थ्य तथा जनासङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले भने, “सामान्यतया सङ्क्रमण घटेको छ, तर मानिसको लापरवाहीका कारण जोखिम थप चुलिँदो छ, यस्तो अवस्थामा विद्यालय खोल्नु हुँदैन।”

उनले कम्तीमा पनि दशैँसम्म सङ्क्रमणको अवस्था विश्लेषण गरेर मात्रै स्थानीय तहले भौतिक उपस्थितिमै विद्यालय सञ्चालनबारे निर्णय लिनुपर्ने बताए। कोरोना सङ्क्रमणको अवस्था स्थिर रहेको, आम मानिसले सोचेजस्तो जोखिम कम नभएको र पूर्ण सावधानीको आवश्यकता उत्तिकै रहेको उनको भनाइ छ।

सरुवा रोग विशेषज्ञ डा सागर राजभण्डारीले पछिल्लो समय फेरि केही मात्रामा कोरोना सङ्क्रमण बढ्दै गएको हुँदा अहिलेकै अवस्थामा विद्यालय खोल्नु उपयुक्त नहुने धारणा राखे। “उपत्यका बाहिरका ग्रामीण भेगका थोरै विद्यार्थी रहेका विद्यालय सञ्चालनमा ल्याए पनि घना बस्ती भएका सहरी क्षेत्रका विद्यालय पुनःसञ्चालनमा ल्याउने समय भएको छैन, त्यसका लागि कम्तीमा तिहारसम्म हेर्नुपर्छ”, उनले भने ।

काठमाडौं उपत्यकाभित्रकै थिमि नगरपालिकाले मुख्य चाडवाड नजिक आइरहेको र त्रास पनि कायमै रहेकाले दशैंअघि विद्यालय नखोल्ने जनाएको छ।