वालिङ– स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय राजकुमार सार्की २१ दिनदेखि सम्पर्कविहीन बनेका छन् ।


ADVERTISEMENT


वालिङ–१३ स्थायी घर भएका सुस्त मनस्थितिका उनी पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिएकी हुन् ।


ADVERTISEMENT

# # #


दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाको भनाई छ ।

‘सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ? के गर्दैछ? भन्ने अत्तोपत्तो छैन’, विमया भन्छिन्, ‘छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर गर्‍यौँ तर केही मेसो आएको छैन ।’

भाइको खोजीका लागि फेसबुक, रेडियोहरुमा सूचना बजाउँदा पनि फेला नपरेको दिदी लच्छिमाले बताउँछिन् । कोही कसैले देखेको छ कि कतै छ कि भनेर भाइको फोटो छापेर ठाउँठाउँमा पोष्टर बनाएर समेत टाँसेको सुनाउँदै उनले भनिन्, ‘भाइ हराएको यत्तिका दिन भयो कहाँ के गर्दै होला, जिउँदो छ/छैन, खोजी कार्य जारी राखेका छौँ तर केही पत्तो लागेको छैन ।भाइको बाटो हेरेर परिवार चिन्तामा तड्पिएका छौँ ।’

परिवारका अनुसार, राजकुमारमा स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या छ । अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको उनको दाँत किराले खाएको छ भने, उनमा आँखा रातो भइरहने समस्या छ । खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरुमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाको भनाई छ । रासस