काठमाण्डौं-नेपाली टिमले एएफसी यू–१९ च्याम्पियनसिप २०१८ छनोटको अन्तिम खेलमा बुधबार ओमानसँग ५–० को हार बेहोरेको छ । यससँगै बिस्केकमा भएको छनोटमा नेपाली टिम सबै खेलमा हारेको छ ।


ADVERTISEMENT


ओमानका कप्तान फैसल अल हारथीले फ्रि–किकमार्फत् उत्कृष्ट गोल गर्दै ११ औं मिनेटमा खाता खोलेका थिए । अर्सद अल–अलवीले गोलकिपर सोजित गुरुङसँगको वान भर्सेस वानको अवसरमा ३२ औं मिनेटमा गोल गर्दै ओमानको अग्रता दोब्बर बनाए ।


ADVERTISEMENT

# # #


अल हारथीले पहिलो हाफको इन्ज्युरी समयमा व्यक्तिगत दोस्रो गोल गरेपछि ओमान ३–० ले अघि बढेको थियो । ओमानको वर्चस्व कायमै रहेको दोस्रो हाफमा थामिर अल जाबीले ५८ औं मिनेटमा गोल थपेका थिए भने अल–अलवीले ५९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले भने, ‘हाम्रा खेलाडीले राम्रो फुटबल खेल्न सकेनन् । ओमानलाई धेरै अवसर दियौं र दस मिनेटभित्रै उसले गोल गर्‍यो । वास्तवमै खेल एकपक्षीय रह्यो ।’

अघिल्लो महिना थिम्पू (भुटान) मा भएको दोस्रो साफ यू–१९ च्याम्पियनसिपको उपाधि जितेको नेपाली टिमले एएफसी च्याम्पियनसिपको छनोटमा यसपालि सबभन्दा ठूलो अन्तरको हार ओमानसँग बेहोरेको हो । यसअघि लोप्साङको टिम किर्गिस्तानसँग २–०, बहराइनसँग ४–० र यूएईसँग १–० ले पराजित भएको थियो । अन्तिम खेलमा बहराइनसँग १–० ले हारेर पनि यूएई ९ अंकसहित समूह ‘ए’ को शीर्षस्थानमा रहँदै अर्को वर्ष इन्डोनेसियामा हुने फाइनल चरणलाई छनोट भयो ।