काठमाडौं – नेपाल र भारतबीच सीमा व्यवस्थापन सुधार, सीमापार अपराध नियन्त्रण तथा विपद् प्रतिकार्यमा सहकार्य सुदृढ गर्ने विषयमा छलफल भएको छ ।
नयाँदिल्लीमा आयोजित बिमस्टेकको पहिलो गृहमन्त्रीस्तरीय बैठकका क्रममा मंगलबार नेपालका गृहमन्त्री सुधन गुरुङ र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको हो ।
भेटमा द्विपक्षीय सुरक्षा सहकार्यलाई प्रभावकारी बनाउने, सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती सम्बोधन गर्ने तथा सीमापार आपराधिक गतिविधि नियन्त्रणका लागि समन्वय बढाउने विषयमा छलफल भएको जनाइएको छ ।
भेटपछि जारी विज्ञप्तिअनुसार दुवै देशबीच बाढीपहिरोजस्ता प्राकृतिक विपद्को पूर्वतयारी, समयमै सूचना आदानप्रदान र आपत्कालीन अवस्थामा समन्वित प्रतिकार्य गर्ने विषयमा पनि जोड दिइएको थियो ।
गृहमन्त्री गुरुङले हालैको बाढीपहिरोपछि नेपाललाई समयमै सहयोग उपलब्ध गराएकोमा भारतलाई धन्यवाद दिएका थिए । उनले नेपाल–भारत सम्बन्धलाई सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा अघि बढाउँदै दुवै देशको हितमा व्यावहारिक सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल र भारतबीच करिब एक हजार ८५० किलोमिटर लामो खुला सीमा रहेको छ । दुवै देशका नागरिकले लामो समयदेखि कायम व्यवस्थाअनुसार राहदानी वा भिसाबिना एकअर्काको देशमा आवतजावत गर्दै आएका छन् । खुला सीमाले दुई देशबीचको सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई सहज बनाएको भए पनि मानव तस्करी, अवैध ओसारपसार र सीमापार आपराधिक गतिविधि नियन्त्रणमा चुनौती सिर्जना गर्दै आएको छ ।
यसैगरी, दुवै देशले बाढीपहिरोलगायत प्राकृतिक विपद्का कारण सीमावर्ती क्षेत्रमा उत्पन्न हुने समस्यासँग जुध्न समन्वय र सूचना आदानप्रदानलाई महत्त्व दिँदै आएका छन् । विपद्का बेला यातायात सम्पर्क अवरुद्ध हुने तथा पूर्वाधारमा क्षति पुग्ने अवस्थालाई ध्यानमा राख्दै आपत्कालीन सहायता र प्रतिकार्यमा सहकार्य आवश्यक रहेको छ ।
बंगालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि पहल ९बिमस्टेक० को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा क्षेत्रीय सुरक्षा सहकार्यका विषयमा समेत छलफल भइरहेको छ । बिमस्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यान्मार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् ।
सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्राकृतिक विपद्को सामना गर्ने साझा चुनौतीका कारण नेपाल–भारतबीचको सुरक्षा संवादलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।



























