काठमाण्डौं-सामान्य अवस्थाभन्दा चुनावको बेला पेट्रोलियमको खपत बढ्ने गर्छ । चुनाव प्रचारका क्रममा सवारी साधनको प्रयोग बढ्ने भएकाले पेट्रोलियमको खपत बढ्ने गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार अहिले नै सामान्यभन्दा २० प्रतिशतले इन्धन (पेट्रोल, डिजेल र हवाई इन्धन) को माग थपिएको छ । ‘चुनाव नजिकिँदै जाँदा ३० प्रतिशतसम्म माग थपिने प्रक्षेपण छ, उनी भन्छन् ।


ADVERTISEMENT


चुनावमा जित्ने आशमा उठेका उम्मेदवारले बुताले भ्याएसम्म खर्च गर्छन् । यस्ता उम्मेदवारले निर्वाचनका क्रममा औसत चार हजार पाँच सय लिटर पेट्रोलियम (पेट्रोलरडिजेल) खपत गर्ने अनुमान छ । पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष सरोज पाण्डेका अनुसार तराई र सडक सुविधा पुगेका पहाडका चुनाव क्षेत्रमा जित्ने आशमा उठेका उम्मेदवारले औसत १० वटा चारपांग्रे र ३० वटा दुई पांग्रे सवारी साधन परिचालन गर्छन् ।


ADVERTISEMENT

# # #


चुनावमा परिचालन हुने सवारी साधन बिहानदेखि राति अबेरसम्म घुमिरहेकै हुन्छन् । सवारीधनी जो भए पनि चुनावमा परिचालन भएपछि पेट्रोलियमको बन्दोवस्त उम्मेदवारले गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले प्रतिनिधि सभाका लागि बढीमा चारवटा चार पांग्रे हलुका सवारी साधन र चारवटा मोटरसाइकल वा बढीमा चारवटा घोडा प्रयोग गर्न पाउने सिमा तोकेको छ । प्रदेश सभा चुनावका लागि बढीमा दुईवटा चारपांग्रे हलुका सवारी साधन र दुईवटा मोटरसाइकल वा दुईवटा घोडा प्रयोग गर्न पाउने भनेको छ । ‘तर आचारसंहिताको सिमामा बाँधिने उम्मेदवार विरलै हुन्छन्, पाण्डे थप्छन्, ‘जित्ने आशमा चुनावमा होमिएका उम्मेदवारले आचारसंहिता उल्लंघन गरेकै हुन्छन् ।

उनका अनुसार एक महिनासम्म प्रचारमा उम्मेदवारले तीनवटा वटा सवारी साधन परिचालन गर्दा करिब एक हजार पाँच सय लिटर इन्धन खपत हुन्छ । त्यसपछि कार्यकर्ता बोकेर दुई पांग्रे र चार पांग्रे सवारी साधनसहितको र्‍यालीरजुलुस निकाल्दा करिब एक हजार लिटर इन्धन खपत हुन्छ । त्यसपछि दैनिक दुई दर्जनको संख्यामा दुई पांग्रेर चार पांग्रे सबारी साधन कुदाएर प्रचारप्रसार गर्ने कार्यकर्तालाई एक महिनालाई दुई हजार पाँच सय लिटर इन्धन खपत हुने गर्छ।

‘सर्सती हेर्दा एक जना उम्मेदवारले एक महिनामा पाँच हजार लिटर इन्धन खपत गर्छन्, पाण्डे भन्छन्, ‘विकट पहाडी र हिमाली क्षेत्रको अवस्था फरक हुने भएकाले प्रतिउम्मेदवार चार हजार पाँच सय लिटर औसत खपत मान्नुपर्ने हुन्छ । साढे चार हजार लिटरमध्ये झण्डै ६० प्रतिशतका दरले दुई हजार सात सय लिटर पेट्रोल र ४० प्रतिशतका दरले एक हजार आठ सय लिटर डिजेलको खपत हुन्छ ।

अधिकांश कार्यकर्ता प्रचारप्रसारका लागि मोटरसाइकलको हकमा दैनिक पाँच लिटर र चार पांग्रेको हकमा आठ लिटरसम्म इन्धनको कुपन उम्मेदवारबाट पाउँछन् । यस्ता कुपनको आधारमा इन्धन लिने कार्यकर्ताको स्थानीय पेट्रोल पम्पमा जुलुसै हुने गर्छ । इन्धनको बढी प्रयोग पनि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवार र उनका कार्यकर्ताले गर्छन् । समानुपातिक उम्मेदवारले अधिकतम तीन सय लिटर इन्धनको प्रयोग गर्छन् । केही हिमाली र पहाडी क्षेत्रमा बाटो घाटोको असुविधा कारण सबारी साधन गुडाउने अवस्था नभएकाले समानुपातिक उम्मेदवारले प्रयोग गर्ने इन्धन परिमाण साढे चार हजार लिटरमै मिलान गरिएको छ ।

निर्वाचन आयोगले अहिले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ एक सय ६५ र प्रदेश सभाका लागि प्रत्यक्षतर्फ तीन सय ३० गरी चार सय ९५ सिटका लागि प्रतिस्पर्धा गराइरहेको छ । चार सय ९५ सिटमा प्रतिस्र्पधा गर्नका लागि निर्वाचन आयोगमा दर्ता भएका ९१ दलबाट पाँच हजार पाँच सय ११ जनाले उम्मेदवारी दिएका छन् ।

अहिलेको मूल्यअनुसार एक जना उम्मेदवारले तीन लाख ९७ हजार आठ सय रुपैयाँबराबरको इन्धन खपत गर्छन् । तर, सबै उम्मेदवारले यही अनुपातमा खर्च गर्दैनन् । जुनसुकै चुनाव क्षेत्रमा जित्ने गरी प्रतिस्पर्धामा रहेका उम्मेदवार कम हुन्छन् । जित्ने आश भएका उम्मेदवारले मात्र खुलेर खर्च गर्छन् । ‘चुनावमा खपत हुने सबै इन्धन नेपालमै खरिद हुन्छ भने छैन, पाण्डे भन्छन्,‘सीमा पारीको भारतीय बजार पुगेरपनि इन्धन भर्ने चलन । यसैले चुनावका बेला सीमा पारीका भारतीय बजारमा पनि पेट्रोलियमको माग बढ्ने गर्छ ।

सिमापारीका आफन्तले इन्धन खर्च व्यहोरिदिने भएकाले सवारी साधन उतैपट्टि पठाउने चलन पनि छ ।मंसिर महिनामा चुनाव प्रचार, सुरक्षाकर्मीको गस्ती, निर्वाचन आयोगका गतिविधि आदिका कारण अहिलेको माग वृद्धि बाहेक थप १० प्रतिशत इन्धनको माग वृद्धि हुने निगमको अनुमान छ । प्रवक्ता गोइतका अनुसार सेप्टेम्बरको तुलनामा अक्टुवर महिनामा पेट्रोलियम आयात २० प्रतिशतको हाराहारीमा बढाउन परेको थियो । अक्टोवरमा पेट्रोल ४२ हजार किलोलिटर आयात भयो, सेप्टेम्बरमा ३५ हजार किलोलिटर भित्रिएको थियो ।

अक्टोवरमै एक लाख किलोलिटर डिजेल खपत भयो, सेप्टेम्बरमा ८३ हजार किलोलिटर खपत भएको थियो । यस्तै हवाई इन्धन अक्टोवरमा १९ हजार किलोलिटर आएर खपत भयो, सेप्टेम्वरमा १७ हजार किलोलिटर खपत भएको थियो । सामान्य समयको तुलनामा मंसिरमा करिब १० हजार पाँच सय किलोलिटर पेट्रोल र २५ हजार पाँच सय किलोलिटर डिजेलको खपत थपिने अवस्था छ ।

निगमको क्षेत्रीय डिपोका अनुसार पनि चुनावको चहल पहल बढेसँगै इन्धनको माग बढेको छ । मकवानपुर र चितवनमा सामान्य समयभन्दा अहिले नै ३० प्रतिशतले माग बढेको छ । सर्लाही, रौतहट, सिन्धुली, रामेछाप, बारा, पर्सा र धादिङमा पनि १५ प्रतिशत माग बढेको छ । यस्तै नुवाकोट, दोलखा, रसुवा, सिन्धुपाल्चोकमा २० प्रतिशतले माग बढिसक्यो ।

मोरङ, झापा, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, उदयपुर, खोटाङ, इलाम, धनकुट्टा, भोजपुरलगायत जिल्लामा पाँचदेखि १० प्रतिशतको हाराहारीमा माग बढेको छ । सुर्खेत, दाङ, कालिकोट, सल्यान, रुकुम, बर्दिया, रोल्पाको माग ५ प्रतिशतले बढेको छ । रूपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङजा, गुल्मी, बागलुङ, कास्कीलगायतमा २० प्रतिशत माग बढेको छ ।

‘चुनावलाई ध्यानमा राखेर शनिबार र आइतबार पनि विशेष आग्रह गरी इन्धन आयात गरिराखेका छौं, गोइत भन्छन् । उनका अनुसार चुनावका बेला इन्धनको अभाव हुन नदिन देशभरको भण्डार गृहमा पेट्रोल तीन हजार नौ सय किलोलिटर, डिजेल २४ हजार किलोलिटर र हवाई इन्धन दुई हजार आठ सय किलोलिटर मौज्दात राखिएको छ ।