रुकुमपूर्व– रुकुमपूर्वमा स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने र गर्भ जाँच गराउने महिलाको सङ्ख्यामा कमी आएको पाइएको छ ।


ADVERTISEMENT


संस्थागत सुत्केरी हुने र गर्भ जाँच गराउनेको सङ्ख्या गत तीन वर्षयताको अवस्था हेर्दा सो तथ्याङ्कमा कमी आएको पाइएको हो ।


ADVERTISEMENT

# # #


रुकुमपूर्वमा गएको आर्थिक वर्ष २०७७/७८ मा जिल्लामा सुत्केरी भएका कूल ६९२ जनामा ५२ प्रतिशत मात्र संस्थागत सुत्केरी भएका छन् । घरमै सुत्केरी हुनेको प्रतिशत लगभग ४८ छ । यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ५७१ महिला सुत्केरी भएका थिए । जसमा त्यस वर्ष संस्थागत सुत्केरी हुनेको प्रतिशत ४६ रहेको छ ।

त्यसको अघिल्लो अर्थात् आव २०७५/७६ मा ५८५ जना सुत्केरी भएकामा संस्थागत सुत्केरीको दर ४७ प्रतिशत रहेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन एवं सूचना अधिकारी निमप्रसाद गिरीले जानकारी दिएका छन् ।

यसमा पनि ५० प्रतिशत दक्ष प्रसूतिकर्मीमार्फत सुत्केरी हुने गरेका छन् भने ५० प्रतिशत अन्य स्वास्थ्यकर्मीमार्फत सुत्केरी हुने गरेका छन् । संस्थागत सुत्केरी हुने पुथाउत्तरगङ्गा गाउँपालिकामा सबैभन्दा कम रहेको छ । सूचना अधिकारी गिरीका अनुसार गएको तीन वर्षमा पहिलो वर्ष १२७, दोस्रो वर्ष ९३ जना संस्थागत सुत्केरी भएका छन् ।

यसैगरी भूमे गाउँपालिकामा पहिलो वर्ष २२५, दोस्रो वर्ष २२९ र तेस्रो वर्षमा २४० जना स्वास्थ्य संस्थामा सुत्केरी भएका सूचना अधिकारी गिरीले बताए । सिस्नेमा भने पहिलो वर्ष २३३, दोस्रो वर्ष २४९ जना र तेस्रो वर्षमा ३०४ जना स्वास्थ्य संस्थामा गएर सुत्केरी भएका छन् ।

यसैगरी जिल्लामा गर्भ जाँच गराउनेमा पछिल्ला तीन वर्षमा करिब ४४ मात्र रहेका थिए । गर्भवती भएपछि पहिलो पटक गर्भ जाँच गराउने ६० प्रतिशत हुने गरेको र चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भ जाँच गराउनेको सङ्ख्या भने ४५ प्रतिशतमा झर्ने गरेको सूचना अधिकारी गिरीको भनाई छ ।

भौगोलिक हिसाबले विकट यस क्षेत्रका सबै नागरिक स्वास्थ्य संस्थाको पहुँचमा नहुनु, अज्ञानता, जनचेतनाको कमीलगायत कारणले जिल्लामा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र सुत्केरी हुनेको सङ्ख्या नबढ्ने गरेको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ । रासस