काठमाण्डौं – आगामी दोस्रो चरणमा हुने संघीय संसद् एवम् प्रदेश सभाको निर्वाचनलाई लक्षित गरेर क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले मतदाता शिक्षा कार्यक्रमलाई बिहीबार यहाँ सञ्चालन गरेको छ । कार्यालयले कटहरी र बूढीगंगा गाउँपालिकाका निर्वाचन शिक्षा कार्यकर्तालाई एकदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । कटहरी गाउँपालिकाका २८ र बूढीगंगा गाउँपालिकाका ३३ गरी जम्मा ६१ जना निर्वाचन शिक्षा कार्यकर्ता सहभागी भएको मतदाता शिक्षा जिल्ला समन्वयकर्ता तारादेवी शर्माले जानकारी दिइन्।


ADVERTISEMENT


जिल्ला समन्वय समिति मोरङका सरोज गौतम, क्षेत्रीय निर्वाचन कार्यालयका लक्ष्मी पनेरु दाहाल र हेमन्तकुमार श्रीवास्तवले प्रशिक्षण दिए। प्रशिक्षित कार्यकर्ता निर्वाचन हुने मतदान केन्द्रमा खटाइने जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसैगरी कार्यालयले विराटनगर महानगरपालिकाका मतदान केन्द्रहरुमा खटिने निर्वाचन शिक्षा कार्यकर्ताका लागि बिहीबार यहाँ एकदिने प्रशिक्षण आयोजना गरिएको छ । प्रशिक्षण कार्यक्रममा नगरक्षेत्रका १३२ जना सहभागी भएका छन् । क्षेत्रीय निर्वाचन कार्यालयका नारायणकुमार बिष्ट, तीर्थ अधिकारी, मनमाया रिजाल लगायतले प्रशिक्षण दिए ।

बिहीबारबाट शुरु भएको प्रशिक्षणका क्रममा मोरङका ७५८ जना मतदाता शिक्षा स्वयंसेवकलाई प्रशिक्षण दिइने क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।