हेटौँडा – बाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सरकार एक हप्ता लम्बिएको छ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत पाउँ भनी राखेको प्रस्तावमा बिहीबार मतदान नभएरै बैठक स्थगित भएसँगै उनको पद एक हप्ता जोगिएको हो ।


ADVERTISEMENT


बिहीबारको बैठक मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावबारे छलफल गरेर टुंगिएको हो । सभामुख सानुकुमार श्रेष्ठले छलफल स्थगित गर्दै विश्वासको मत प्राप्त गर्ने बाँकी प्रक्रिया प्रदेश सभाको अर्को बैठकमा गरिने बताए । उनले कार्तिक १० गते दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित गरेका हुन् ।


ADVERTISEMENT

# # #


यसअघि बैठक सुरु हुनासाथ मुख्यमन्त्री शाक्यले आफूलाई विश्वासको मत दिन प्रदेश सांसदहरुलाई आग्रह गरिन् । त्यसपछि विपक्षी दलका तर्फबाट शालिकराम जमकट्टेलले शाक्यलाई विश्वासको मत नदिने बताउँदै गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका बाग्मती प्रदेश संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट संसदलीय दलका नेता इन्द्र बानियाँले बोलेका थिए भने अन्य पार्टीका नेताले समेत मुख्यमन्त्री शाक्यले राखेको प्रस्तावमा आफ्नो धारणा राखे ।

बाग्मती प्रदेशमा नेकपा एमाले अल्पमतमा रहेकाले शाक्यले प्रदेशसभामा विश्वासको मत पाउने छैनन् । यससँगै संयुक्त गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

बाग्मती प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्ष गरी हाल १०९ सदस्य छन् ।