काठमाडौं -सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०औँ वार्षिक साधारण सभा बुधबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले सेयरधनीलाई कुल ४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
बैंकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकको चुक्ता पुँजी १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार ६१४ रुपैयाँका आधारमा ५८ करोड ९२ लाख ८३ हजार ६१७ रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड १० लाख १४ हजार ९२७ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ। दुवै गरी बैंकले कुल ६२ करोड २ लाख ९८ हजार ५४४ रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।
सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य एकीकृत वित्तीय विवरणसमेत छलफलपछि स्वीकृत गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको सिटिजन्स बैंकको पछिल्लो २० वर्षको औसत लाभांश १०.०८ प्रतिशत रहेको छ।
सभामा अध्यक्ष पाण्डेले सेयरधनीबाट प्राप्त सुझावलाई बैंकको कामकारबाहीमा समेट्दै आगामी दिनमा थप प्रगति हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले संस्थागत सुशासन र नियामकीय अनुपालनालाई उच्च प्राथमिकतामा राख्दै बैंकको समग्र अवस्था थप सुदृढ बनाउने बताए।
यसैबीच, बैंकले डिजिटल बैंकिङ सेवाको विस्तारलाई पनि प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याउनुका साथै युवा लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ र फ्रिलान्सर लक्षित विशेष बचत खाता सञ्चालनमा ल्याएको छ।
त्यसैगरी, मोबाइल बैंकिङ एपबाटै सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ।




























