धारा, पानी, बत्ती वर्षौंदेखिका स्थायी प्रमुख चुनावी मुद्दा हुन् । उम्मेदवारले दिने आश्वासन र मतदाताका मुख्य चासो पनि यिनै थिए । तर यस पटक चुनावी एजेन्डामा नयाँ विषय थपिएको छ– ‘चिनियाँ रेल ।’ दलका राष्ट्रिय घोषणापत्र मात्र होइन, प्रदेश ४ का उम्मेदवारको स्थानीय घोषणामै ‘चिनियाँ रेल’ प्राथमिकतामा परेको छ । विशेष गरी चीनको तिब्बतबाट काठमाडौं–पोखरा–लुम्बिनी जोड्ने रेलमार्गको सम्भाव्यता अध्ययन भइरहेका बेला त्यसको अधिकतम फाइदा पोखरा आसपासका क्षेत्रलाई हुने भन्दै उम्मेदवारहरूले चुनावी एजेन्डा बनाएका छन् ।


ADVERTISEMENT


मत माग्न घरदैलोमा जुटिरहेका बेला गत बुधबार रेलमार्ग अध्ययन गर्न चिनियाँ उच्च प्राविधिकसहितको सरकारी टोली पोखरामै आएपछि मतदातालाई आश्वासन दिन उम्मेदवारलाई झन् सजिलो भएको छ । मतदाताले पनि यो विषयप्रति निकै चासो बढाएका छन् । चिनियाँ टोलीले कास्कीको विरौटा, हेम्जा र विजयपुर क्षेत्रमा सम्भावित रेलवे स्टेसनबारे स्थलगत अवलोकन गरेको थियो । ‘प्रदेश ४ लाई पर्यटकीय केन्द्र बनाउनका लागि चिनियाँ रेल आयो भने झन् सहज हुन्छ,’ स्थानीय बुद्धिजीवी परशुराम शर्माले भने, ‘रेलको सर्वेक्षणसमेत हुने तयारीले हाम्रो पनि ध्यान खिचेको छ ।’ उनलाई पाँच वर्षमा चिनियाँ रेल आइपुग्ला भन्ने विश्वास छैन तर प्रदेश ४ लाई नै प्रमुख रुट बनाएर त्यससम्बन्धी काम अघि बढ्यो भने ठूलो उपलब्धि हुने उनी ठान्छन् । ‘यही रुट भएर जाने सम्भावना भएकाले उम्मेदवारहरूले आफ्नो एजेन्डामा यो विषय पनि छिराएका हुन्,’ शर्माले भने ।


ADVERTISEMENT

# # #


प्रदेश ४ लाई प्रमुख पर्यटकीय राजधानी बनाउने सबै दलका उम्मेदवारको साझा घोषणा छ । यो घोषणामा पछिल्लो समय आएको ‘चिनियाँ रेल’ को सपनाले पनि स्थान पाएको हो । कांग्रेस उम्मेवारहरूले एक साताअघि सार्वजनिक गरेको स्थानीय घोषणापत्रमा ‘निस्शुल्क स्वास्थ्य सेवादेखि केबुलकार, जलविद्युत्, चक्रपथ निर्माण र रेलवे’ सम्मका योजना छन् । वामपन्थी गठबन्धनले त झन् रेलको प्रसंग छुटाउने नै भएनन् । केपी ओली प्रधानमन्त्री भएका बेला चीनसँग यससम्बन्धी कुरा अघि बढेको भन्दै यसबारे अतिरिक्त व्याख्यासहित मत माग्ने गरेको छ । ‘केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग निर्माण गरी विकासका सम्भावनाका ढोका खोल्न’ का लागि आफ्नो गठबन्धलाई जिताउनुपर्ने आहवानसहितका पर्चा मतदातालाई बाँडेका छन् ।

मुस्ताङको कोरला नाका स्तरोन्नतिसहित सधैं सञ्चालन, पोखरा हुँदै लुम्बिनीसम्म रेल र अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नै प्रदेश ४ को समृद्धिको मूल आधार हुने धारणा उम्मेदवारहरूको छ । भारतले नाकाबन्दी लगाएका बेला चीन र नेपाल सरकारबीच तिब्बतको सिमाना जोड्ने नाकाहरू सञ्चालन गर्ने समझदारी भएको थियो । समझदारीपछि संसदको विकास समितिले पनि कोरला नाका सञ्चालनका लागि स्थलगत अध्ययन गरेको थियो । संसदीय समितिले कोरला नाका सञ्चालन गर्न सकिने सुझाव दिएको थियो ।

‘पोखरा पर्यटनकै राजधानी हो र यो प्रदेशकै मुख्य आकर्षण यसैमा छ,’ कास्की क्षेत्र नं. १ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार कानुनमन्त्री यज्ञबहादुर थापाले भने, ‘धार्मिकदेखि अन्य सबै खालका पर्यटनका लागि थप पूर्वाधार तयार गर्नुपर्नेछ । त्यो गर्न सकियो भने यो सबैभन्दा समृद्ध प्रदेश हुन्छ ।’ नेपाल भित्रिनेमध्ये झन्डै ७० प्रतिशत पर्यटक पोखरा र यो आसपासका पर्यटकीय क्षेत्रमा पुग्छन् । बर्सेनि ५ लाखभन्दा बढी पर्यटक यो क्षेत्रमा आउँछन् । सबै पूर्वाधार बन्ने हो भने यो संख्या हवात्तै बढ्छ । पछिल्लो समय ट्रेकिङ रुटमा राम्रो सुविधा भएकाले पर्यटकहरू बढिरहेका छन् ।

‘सबै पूर्वाधार तयार गर्न सक्ने हो भने नेपाल भित्रिने सबै पर्यटकलाई यो क्षेत्रमा ल्याउन सकिन्छ,’ कास्की २ मा वामपन्थी गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले भने, ‘विदेशी मात्र होइन स्वदेशी पर्यटकका लागि पनि यो क्षेत्र प्रमुख गतव्य बन्दैछ ।’ उनका अनुसार चीनसँगको कोरला नाका हुँदै त्रिवेणीबाट भारत जोड्ने रुटले यो क्षेत्रमा थप समृद्धि ल्याउने छ ।

बषैँदेखी चर्चामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको छ । चार वर्षभित्र निर्माण सक्ने गरी चिनियाँ कम्पनीले काम अघि बढाएको छ । यो विमानस्थल सुचारु हुँदासम्म अन्य पूर्वाधार तयार गर्नुपर्ने भन्दै उम्मेदवारहरूले चुनावी योजनामा स्याटेलाइट सिटीदेखि अन्य सडक निर्माणसम्मका विषय अघि सारेका छन् । पोखरा आसपासका क्षेत्रहरू स–साना सहरहरू बनाउने र मुख्य केन्द्रमा बढ्न सक्ने जनघनत्वलाई घटाउने योजना उम्मेदवारहरूको छ । ‘पोखराको केन्द्रमा जनघनत्व बढिरहेको छ, यसलाई कम गर्न नजिकका अन्य स्थानहरूलाई विकास गर्नुपर्छ,’ क्षेत्र २ को प्रदेशसभा ‘क’ का कांग्रेस उम्मेदवार गुरु बरालले भने, ‘त्यसमा हामीले मुख्य चासो दिएका छौं ।’

पोखरा सहरलाई स्मार्ट बनाउनेदेखि ताल संरक्षणसम्मका विषय उम्मेदवारका प्राथमिकतामा छन् । कास्कीको प्रमुख आकर्षणका रूपमा रहेका तालहरू अतिक्रमणमा परेका छन् । तिनलाई जोगाउने वाचा उम्मेदवारको छ । ‘तालहरूको खास क्षेत्रफल कति हो भन्ने निर्धारण भइसकेको छ त्यसको संरक्षण र विकास हाम्रो मुख्य चासो हुनेछ,’ वामपन्थी गठबन्धनका तर्फबाट प्रदेशसभा ३ ‘ख’ का उम्मेदवार राजीव पहारीले भने, ‘फेवाताललाई पुरानै अवस्थामा पुर्‍याउने र वरिपरि पैदलमार्ग बनाइने छ ।’

प्रदेश ४ को राजधानीका रूपमा पोखरालाई हेरिएको छ । अन्य प्रदेशमा कुन स्थानमा राजधानी राख्ने भन्ने विवाद छ । तर प्रदेश ४ मा पोखराबाहेक अन्य विकल्प आएको छैन । त्यसैले प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार विकास पनि प्राथमिकतामा परेको छ । शैक्षिक र स्वास्थ्य पर्यटनको अवधारणा पनि चुनावी एजेन्डाका रूपमा आएको छ । यहाँ पोखरा विश्वविद्यालय, मनिपाल र गण्डकी मेडिकल कलेज, त्रिविको वनविज्ञान अध्यय संस्थान, दुईरदुई इन्जिनियरिङ कलेज र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज छन् । यसमा अझै सुधार्दै शैक्षिक केन्द्रका रूपमा विकास गर्ने आश्वासन पनि मतदातालाई दिएका छन् ।