काठमाण्डौं-आफ्नै डेरामा बन्धक बनाइएकी एक महिलालाई प्रहरीले ७ घन्टापछि उद्धार गरेको छ । ललितपुरको पुल्चोकस्थित एक घरमा बन्धक बनाइएकी निता डंगोललाई पुल्चोक प्रहरीले उद्धार गरेको हो । प्रहरीले बन्धक बनाउने भारतीय नागरिक रबि सिंहलाई नियन्त्रणमा लिएको छ । सिंहले पहिला निताको श्रीमान दिलिपलाई पुल्चोकबाट नियन्त्रणमा लिइ कुटपीट गरेको र पछि डेरामा गएर नितालाई बन्धक बनाएर राखेका थिए ।


ADVERTISEMENT


निताले आफू बन्धकमा परेको प्रहरीलाई मोबाइलबाट जानकारी गराएपछि पुल्चोक प्रहरीका प्रहरी निरीक्षक गोविन्द पन्थीले सिंहलाई फोन गरेर बन्धक नबनाउन आग्रह गरेका थिए । तर अटेर गरेपछि राती ८ बजे प्रहरी पुगेर निताको उद्धार गरेको हो ।


ADVERTISEMENT

# # #


निताको उद्धारपछि उनलाई पक्राउ गर्न बखुल्डोलस्थित घरमा प्रहरी पुगेको थियो । प्रहरी आउने थाहा पाउने भएपछि उनी फरार भएका थिए । रकम लेनदेनमा सिंह र डंगोल परिवारको विवाद भएको प्रहरी अनुसन्धानबाट देखिएको छ । पार्टनरसिपमा रेष्टुरेन्ट संचालन गर्दै आएका उनीहरुबीच रेष्टुरेन्ट डुब्न थालेपछि विवाद सुरु भएको प्रहरी निरीक्षक पन्थीले बताए ।

सिंहलाई ९ बजे नियन्त्रणमा लिइएको पन्थीले बताए । सिंहलाई शरिर बन्धक मुद्दा चलाउने उनले बताए ।