काठमाण्डौं- भूकम्पपीडितले अब ‘ख’ वर्गका विकास बैंकबाट पनि अनुदान लिन सक्ने भएका छन् । राष्ट्र बैंकले ‘ख’ वर्गका बैंकमार्फत पनि सरकारी करोबार सञ्चालन गर्न अवाश्यक व्यवस्था मिलाउने भएपछि भूकम्पपीडितले अनुदान लिन सक्ने भएका हुन् ।
यो सुविधा भूकम्पपीडितको हकमा मात्रै लागू हुनेछ । ‘क’ वर्गको बैंकले मात्रै भूकम्पपीडितलाई अनुदान दिन नसकेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पहलमा राष्ट्र बैंकले नयाँ नियम लागू गरेको हो । प्राधिकरणले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंकर्स एसोसिएसन, कर्जा सुरक्षण निगमसँग गरेको छलफलमा सो जानकारी दिइएको हो ।


ADVERTISEMENT


छलफलमा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी, नेपाल राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि सिबाकोटी, बैंकर्स एसोसियसनका उपाध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना, निक्षेप तथा कर्जा सुरक्षण कोषका सिइओ विष्णु बाबु मिश्र सहभागी थिए ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले सामूहिक जमानी वा धितो जमानीमा निब्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा भइरहेका प्रयास र त्यसलाई तीव्रता दिन सम्बन्धित निकायसँग छलफल गरेको बताए । -नयाँ पत्रिकाबाट


ADVERTISEMENT

# # #