काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सहमहामन्त्री (खुला) पदमा उम्मेदवारी दिएका नेता देवेन्द्रराज कण्डेलले निर्वाचनमा पराजित भए पनि आफ्नो राजनीतिक जिम्मेवारी र रूपान्तरणप्रतिको संकल्प कमजोर नभएको बताएका छन्।
निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसके पनि त्यसले थप परिपक्वता, दृढता र जिम्मेवारीबोधका साथ अघि बढ्ने प्रेरणा दिएको उनले बताएका हुन्।
नेपाली कांग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक विधि र पद्धति पार्टीको गहना रहेको बताएका छन्। कांग्रेसको सिपाहीका रूपमा पार्टीको लोकतान्त्रिक अभ्यासप्रति आफूहरू गर्व गर्ने उनको भनाइ छ।
१५औँ महाधिवेशनमा उत्साहका साथ सहभागी हुँदै आफूले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिएको तर निर्वाचन परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले उल्लेख गरेका छन्।
उनले पदमा रहे पनि नरहे पनि पार्टीका नेता–कार्यकर्ता तथा देशका दूरदराजमा रहेका आम नागरिकको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। सहमहामन्त्री पदको प्रतिस्पर्धाका क्रममा देश तथा विदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरूले व्यक्त गरेको सद्भाव र दिएको मतप्रति उनले आभारसमेत व्यक्त गरेका छन्।
कांग्रेसभित्र सकारात्मक परिवर्तन, सुदृढ संगठन र जनउत्तरदायी राजनीतिक संस्कारको स्थापना गर्न आफ्नो प्रयास र सक्रियता निरन्तर जारी रहने उनले बताएका छन्। आगामी दिनमा पनि सबैको साथ, सहयोग, शुभेच्छा र प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले पार्टीको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले महाधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पुनः बधाई दिँदै सफल कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन्।



























