धनुषा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था अस्थिर हुनाले देशले बिडम्बना भोगेको बताए । साथै उनले अहिले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह उठेकोले यसको समाधान हुनुपर्ने पनि  बताएका छन् ।


ADVERTISEMENT


सोमबार नेपाल प्रेस युनियन धनुषाले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता पौडेलले राज्यका सबै अंगहरुमाथि प्रश्नचिन्ह खडा भएको र व्यवस्था अस्थिर हुनाले देशले बिडम्बना भोगेको  बताएका हुन् ।


ADVERTISEMENT

# # #


संसद, संवैधानिक निकाय, अदालत र राजनीतिक पार्टीहरु समेतले आफ्नो भुमिका प्रभावकारी रुपमा खेल्न नसकेको उनले बताए । राजनीतिक पार्टीहरु जनताको भरोसाको केन्द्र भएपनि पार्टीहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ । उनले कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन तथा प्रजातन्त्रको दरिलो सम्वाहक बनाउन आफू लागि पर्ने पनि बताए ।

देशमा पार्टी व्यवस्थित रुपमा चल्नुपर्ने, संवैधानिक निकायहरु व्यवस्थित रुपमा चल्नुपर्ने र अदालत पनि मर्यादामा रहनुपर्ने उनले बताए । उनले भने, ‘आज संसद चल्न नसकेर अस्ति भर्खरै संसद स्थगित भएको छ । अदालतको त्यो अवस्था छ । अरु संवैधानिक निकायहरु त्यस्तै हालतमा छन् । राजनीतिक पार्टीहरुको त्यो हालत छ । आज राजतन्त्र गइसकेपछि राजनीतिक पार्टीहरु नै नेपाली जनताको भरोसाको केन्द्र हुन् । तर राजनीतिक पार्टीहरुको अवस्था के छ रु कम्युनिष्ट पार्टीको हालत हामीले देखिहाल्यौँ ।’

वरिष्ठ नेता पौडेलले आफूले अहिले लोकतन्त्रको एजेण्डालाई बोकेर हिँडेको बताए । वर्तमान समयमा आर्थिक विकास र सामाजिक विकासको बाटोमा जानुपर्ने आवश्यकता रहेको भएपनि राजनीतिक मुद्दामै अल्मल्लिनु परेको भन्दै उनले प्राप्त राजनीतिक परिवर्तन र व्यवस्थालाई सुनिश्चिता दिनका लागि काम गर्नुपर्ने बताए ।

उनले नेपालको व्यवस्था अस्थिर हुनाको बिडम्बना नेपालले भोगिरहेको बताए । वर्तमान राजनीतिक प्रणाली र व्यवस्थालाई संस्थागत गर्नुपर्नेमा उनको जोड छ ।