मनाङ – राष्ट्रपति विद्यादेवी भण्डारीले हिमाली जिल्ला मनाङको स्याउबारीको स्थलगत अवलोकन गरेकी छन् । केहि वर्षअघिदेखि मनाङमा शुरु भएको हाई डेन्सीटी स्याउफार्म अवलोकनका लागि राष्ट्रपति भण्डारी सोमबार बिहान मनाङ पुगेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी नेपाली सेनाको हेलीकप्टर मार्फत् मनाङ पुगेकी हुन् । मनाङको ङिस्याङ गाउँपालिका, भार्ताङ स्थीत एग्रो मनाङले शुरु गरेको स्याउ बगैंचा अवलोकन गरेको मनाङ प्रशासनले जनाएको छ ।


ADVERTISEMENT

# # #


स्याउ बगैंचाको अवलोकनपछि एक औपचारिक कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारक तत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने बताईन् । वातावरणीय सन्तुलन कायम राख्न वन जङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्यभूमिका रहेको र सबैले मिलेर वातावरण जोगाए मात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र अठोटका साथ लाग्नुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो ।

मौसम अनुकूलताका आधारमा गरिएको खेती तथा व्यवसायले व्यक्ति र देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सहयोग पुग्ने राष्ट्रपति भण्डारीले बताइन् । विश्वभर जलवायु परिवर्तनले असर गरिरहेको अवस्थामा नेपाल पनि अछुतो नरहेको बताउँदै राष्ट्रपति भण्डारीले यसका कारकहरुको न्यूनीकरणमा लाग्न सबैलाई आग्रहसमेत गरिन् ।

राष्ट्रपति भण्डारीलाई एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङ र प्रबन्ध निर्देशक युवराज गुरुङले स्याउ फार्मको बारेमा जानकारी गरएका थिए । भण्डारीका साथमा संविधान सभाका सदस्य डा भिष्म अधिकारी, राष्ट्रपति कार्यलयका सचिव, राष्ट्रपतिका विज्ञ सदस्य, प्रमुख स्वकीय सचिव र अरु भ्रमणदलका सदस्यहरु समेत रहेका थिए ।