काठमाडौं – उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन खानीविभाग चोक र टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरी आजबाट सञ्चालनमा ल्याइएको छ ।


ADVERTISEMENT


ट्राफिक प्रहरी महाशाखाले एनसेलसँग समन्वय गरी खानीविभाग र काठमाण्डौं महानगरपालिका वडा नं १को सहयोगमा टुकुचामा नयाँ ट्राफिक लाईट जडान गरि संचालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


खानीबिभाग चोकमा जडान गरेको ट्राफिक लाईट महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई र एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले स्वीच अन गरी संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

उद्‌घाटन कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले उपत्यकाको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताए ।

“हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधिमैत्री बनाउने अभियानमा छौं, यसको लागि विभिन्न निकायहरूसँग निरन्तर समन्वय र सहकार्य गर्दै आइरहेका छौं । आज जडान भएका लाईट त्यसैको परिणाम भएको र आगामी दिनहरुमा अन्य चोकहरुमा समेत ट्राफिक लाईट राख्न हातेमालो गर्ने योजना समेत रहेको छ ।”

भट्टराईले थपे, “प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।”

कार्यक्रममा बोल्दै एनसेलका सुरक्षा प्रमुख सम्पत अर्यालले एनसेलको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आम सेवाग्राहीलाई प्रत्यक्ष लाभ हुने र दैनिक सडक प्रयोगमा हुने समस्या, ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए । पछिल्लो समय ट्राफिक प्रहरीले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनमा अन्य स्थानहरुमा ट्राफिक लाईट जडान र अन्य कार्यहरुमा सहकार्य एव सहयोगी बन्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एनसेलका प्रशासन प्रबन्धक नारायण दाहाल, सिएसआर प्रमुख बिशाखा राज्यलक्ष्मी खड्का, ट्राफिक प्रहरी अधिकृतहरु, अन्य पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरि टुकुचाको ट्राफिक लाईट उद्‍घाटन गर्दै कामनपा वडा नं १ का वडा सदस्य अशोक कुमार श्रेष्ठले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनलाई सबै तहबाट सहकार्य एव सहयोग हुनुपर्नेमा जोड दिए । स्थानीय तहले आफ्नो क्षेत्रमा सहज यातायात र दुर्घटना न्युनीकरणमा ध्यान दिनुपर्ने बताए ।

श्रेष्ठले पछिल्लो समय महाशाखाले प्रबिधिलाई जोड दिदै ट्राफिक लाईट जडानमा खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरुमा समेत ट्राफिक महाशाखासँग अझै सहकार्य गर्दै जाने बताए । हाल उपत्यकाको मुख्य ३८ चोकहरुमा ट्राफिक लाईटबाट सवारी व्यवस्थापन हुँदै आएको छ ।

ट्राफिक लाईट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाईटको पूर्ण पालना गरिदिन सम्पूर्ण पैदलयात्री तथा सवारी चालकहरूलाई महाशाखाले विशेष अनुरोध समेत गरेको छ ।