काठमाण्डौं-गत वर्षात्मा आएको बाढीले चितवन राष्ट्रिय निकुञ्जबाट बगाएर लगेका थप तीनवटा गैँडा भारतको वाल्मीकि नगर वाइल्ड रिजर्भ क्षेत्रमा भेटिएका छन् । यसअघि सो रिजर्भबाट एउटा बच्चासहित चारवटा गैँडाको जीवितै उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा छोडिएको थियो । योपटक पनि शुक्रबार मात्रै एउटा पोथी गैँडाको उद्धार गरी निकुञ्जमा छाडिएको छ । उद्धार गरिएको पोथी गैँडा सीमा क्षेत्रबाट ३० किलोमिटरको मदनपुर भन्ने ठाउँमा देखा परेको थियो । दुई दिन लगाएर पोथी गैँडालाई नियन्त्रणमा लिइएको थियो ।


ADVERTISEMENT


निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए, “एउटा पोथी गैँडाको उद्धार गरिसक्न नपाउँदै अरू दुईवटा गैँडा भारतीय क्षेत्रमा भेटिएपछि उद्धार गर्न निकुञ्जको प्राविधिक टोली भारततर्फ गइसकेको छ ।
भारतीय अधिकारीले अरू दुईवटा गैँडा देखिएपछि चितवन राष्ट्रिय निकञ्जमा खबर गरेका थिए । गैँडा समात्न हात्तीसमेत नेपालबाट लिनुपर्ने हुँदा केही समय लाग्ने प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । नेपालका चारवटा हात्तीलाई प्राविधिक टोलीसँगै पठाइएको छ ।


ADVERTISEMENT

# # #


पशुचिकित्सकसहित गैँडासँग सम्बन्धित विज्ञ गरी ४० जना प्राविधिक टोलीलाई पुनः भारत पठाइएको र उता गैँडाको खोजी गर्ने कार्य भइरहेको उहाँले बताए । चितवनसँग जोडिएको वाल्मीकि नगर टाइगर रिजर्भ बाघका लागि उपयुक्त बासस्थान भए पनि गैँडाका लागि उपयुक्त मानिँदैन ।

प्रमुख संरक्षण अधिकृत कँडेलले भने, “एउटा गैँडा नेपालको त्रिवेणीदेखि २७ किलोमिटर टाढा र अर्को गैँडा ४० किलोमिटर पिप्रासी भन्ने ठाउँमा देखिएको छ । ” वन्यजन्तु भएकाले एक ठाउँमा देखिएको गैँडा केही छिनमै अर्को ठाउँमा जाने हुँदा त्यसको खोजी कार्य भइरहेको छ । भेटिएपछि हात्ती लगाएर बेहोस पारेर नियन्त्रण लिई नेपाल ल्याउने कार्यक्रम छ ।
विश्वमै दुर्लभ मानिएको एकसिङ्गे गैँडाका लागि चितवन उपयुक्त वासस्थान मानिन्छ । चितवनमा मात्रै ६०० भन्दा बढी गैँडा रहेको अनुमान छ । गत साउनमा आएको बाढीले तीन महिनापछि पनि भारतबाट बगाएर पु¥याएको गैँडा भेटिनुले चितवनबाट थुप्रै गैँडा बगेर नोक्सानी भएको हुनसक्ने अड्कल गर्न थालिएको छ । चितवनपछि बर्दिया, शुक्लाफाँट र पर्सा राष्ट्रिय निकुञ्जमा पनि एकसिङ्गे गैँडा पाइन्छन् । गत वर्षमात्रै चोरीसिकार र करेन्ट लगाएर चारवटा गैँडा मारिएका थिए ।