काठमाण्डौं-राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावीका युवराज तथा यूएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म यूएईको औपचारिक भ्रमणमा गर्न जाने भएका छन् ।
यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जाने कार्यक्रम रहेको छ ।
नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् ।  राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम रहेको छ ।
राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधि रहनेछन् । राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


ADVERTISEMENT