काठमाडौं –  भान्साका लागि अत्यावश्यक वस्तु प्याजको मूल्य चाडपर्व नजिकिएसँगै सधैं महँगिने गर्छ । यस वर्ष फेरि चाडपर्वको समयमा प्याजको मूल्य उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार यतिबेला प्याजको मूल्य १ महीनाको अवधिमा प्रतिकिलो १२ रुपैयाँले बढेर थोक बजारमै प्रतिकिलो ६० रुपैयाँ पुगेको छ । यसअघि भदौ १७ गते प्याजको थोक मूल्य प्रतिकिलो ४८ रुपैयाँ रहेको थियो ।


ADVERTISEMENT


हरेक वर्ष चाडपर्व नजिकिएसँगै प्याजको मूल्य महँगिएको देखिन्छ । २०७६ भदौ १३ गते थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य दशैंतिहार शुरू भएसँगै ३८ रुपैयाँले बढेर सोही वर्ष असोज ९ गते प्रतिकिलो १ सय रुपैयाँ पुगेको थियो । २०७७ भदौमा भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि आकाशिएको प्याजको भाउ दशैंतिहार नसकिएसम्म ओरालो लागेन । प्रतिबन्धका कारण थोक बजारमै १ सय ८० रुपैयाँ किलो सम्म पुगेको प्याजको मूल्य गतवर्षको तिहारमा १ सय ३० रुपैयाँ रहेको थियो । तिहार सकिएसँगै प्याजको मूल्य पनि विस्तारै आरोला लाग्दै गयो । यस वर्ष गत वैशाखदेखि विस्तारै उकालो लागेको प्याजको मूल्य यस वर्षकै सबैभन्दा महँगो भएको छ । गत वैशाख १४ गते थोक बजारमा ५३ रुपैयाँ किलो रहेको प्याजको मूल्य त्यसयता निरन्तर बढेर सावन १४ मा ४५ रुपैयाँ, असोज १४ मा ५३ रुपैयाँ हुँदै अहिले ६० रुपैयाँ पुगेको छ । थोक बजाारमै महँगिएको प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ९० रुपैयाँसम्म पुगेको छ ।


ADVERTISEMENT

# # #


व्यापारीहरूले प्याजको मूल्य महँगो हुनुमा भारतीय बजारलाई कारण देखाएका छन् । भारतीय बजारमा प्याजको मूल्य आकाशिएपछि त्यसको असर नेपाली बजारसम्म परेको उनीहरूको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आर्चायले यति बेला प्याजको अफ सिजन भएकाले भारतीय बजारमा एकाएक यसको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको बताए । ‘भारतबाट प्याजको आयात घटेपछि यहाँ मूल्य बढेको हो । अब प्याजको नयाँ सिजन शुरू भएपछि मात्र मूल्य घट्ने सम्भावना छ, ’ उनले आर्थिक अभियान दैनिकसँग भने ।

हरेक दिन भारतबाट नेपालमा करीब १ सय टन प्याज आयात हुन्छ भने वार्षिक २ अर्व रुपैयाँभन्दा बढी मूल्यको प्याज भारतबाट नेपालमा आयात हुने सरकारी तथ्यांक छ । नेपालमा वार्षिक करीब ३ लाख टन प्याज उत्पादन हुन्छ भने खपत ४ लाख टन हुने गरेको छ । आर्थिक अभियान दैनिकबाट ।