इराकी शहर हबिजा नजिकै ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । सन् २०१३ देखि इस्लामिक स्टेट (आईएस) लडाकुको नियन्त्रणमा रहेको हबिजा शहर गत महिना इराकी सेनाले फिर्ता गराएको थियो । किर्कुक शहरका गभर्नर रकान सइदले बीबीसीलाई भनेका छन्, ‘शहरको बाहिर हवाइ आधार क्षेत्रमा सामुहिक चिहान फेला परेको हो । हबिजा मानिस मार्ने ठाउँ बनेको रहेछ ।’


ADVERTISEMENT


प्रत्यक्षदर्शी एक स्थानीयबासीले देखाइदिएपछि इराकी सेनाले सामुहिक चिहान फेला पारेको समाचारमा उल्लेख छ । सामुहिक चिहानमा केही शव सर्वसाधारणको सामान्य कपडा लगाएको अवस्थामा र केही शव आईएसले मृत्युदण्ड दिँदा लगाइदिने कपडा (जम्पसुट)मा छन् । इराकी सेनाले आईएस लडाकु नियन्त्रित क्षेत्रमा दर्जनौं सामूहिक चिहान फेला पारिसकेको छ ।


ADVERTISEMENT

# # #


गत वर्ष एसोसियटेड प्रेस (एपी)ले गरेको सर्भेमा ७२ वटा सामुहिक चिहान फेला परेको थियो । ती चिहानभित्र ५ हजार २ सयदेखि १५ हजार वटासम्म शव हुनसक्ने अनुमान गरिएको थियो । इराकी सेनाले हाल रावा शहरमा कारबाही केन्द्रित गरेको छ । रावा आईएस लडाकुले कब्जा गरेको अन्तिम इराकी शहर हो ।