काठमाडौँ– विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।


ADVERTISEMENT


यसका साथै चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको र उक्त कार्य जनस्वास्थ्य सेवा ऐन–२०७५ तथा विज्ञापन (नियमन गर्ने) ऐन– २०७६ विपरीत भएकाले यसलाई तत्काल हटाउन समेत बोर्डले अपिल गरेको छ । अन्यथा कानूनबमोजिम कारबाही हुनेसमेत बोर्डले जनाएको छ ।


ADVERTISEMENT

# # #


बोर्डद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन’, भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा गर्न नहुने’ व्यवस्था गरेको जनाइएको छ । रासस