तनहुँ – करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ ।


ADVERTISEMENT


ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई १६ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो । विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए ।


ADVERTISEMENT

# # #


चित्रबहादुर आफ्नै कोठामा हातमा मोबाइल लिइरहेको अवस्थामा अचेत भेटिएका थिए । स्थानीयवासीका अनुसार उनको दाहिने हात, मोबाइल र चार्जरसमेत जलेको थियो । उपचारका लागि बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

क्षतिपूर्ति दिने सहमति भएसँगै शव दमौली अस्पतालमा परीक्षण गरी बेलचौतारामा लगेर अन्त्येष्टि गरिएको छ । समितिले किरिया खर्चबापत  एक लाख आइतबार उपलब्ध गराउने र बाँकी रु १५ लाख पुस २५ गतेभित्र उपलब्ध गराउने सहमति गरेको छ ।

करेन्ट लागेर सोही ठाउँका अन्य दुईजना घाइते भएका थिए । घाइतेको पनि उपचार खर्च समितिले बेहोर्ने भएको छ । विद्युत् व्यवस्थापन समितिको लापरबाहीले ट्रान्सफर्मरमा फ्युज नराखीकन विद्युत् प्रवाह गर्दा घटना भएको पीडित परिवारको आरोप छ ।