कुसुम भट्टराई
दक्षिण चीन सागर र दक्षिण एशीयामा चीनको प्रभाव बढदै जाँदा अमेरिकालगायतका पश्चिमा मुलुकहरु गम्भीर हुँदैछन् । चीनले हालै मात्र पाकिस्तानलाई अहिलेसम्मकै सबैभन्दा ठूलो युद्धपोत ( वार शीप) प्रदान गरेर एकातिर भारतलाई दबाब दिन खोजेको छ भने ताइवानमाथि आधिपत्य जमाउन चीन झन्झन् आक्रामक भइरहेकै छ ।


ADVERTISEMENT


युद्धमा क्रियाको प्रतिक्रिया भइहाल्छ । ताइवान हडप्ने चीनको चाललाई असफल बनाउन अमेरिका पनि अब खुलेरै मैदानमा उत्रिएको छ । हालै मात्र अमेरिकी सांसदहरुको प्रतिनिधि मण्डलले ताइवानको भ्रमण गरेर के सन्देश दिएका छन् भने यो द्वन्द्वमा अमेरिका ताइवानकै पक्षमा छ ।


ADVERTISEMENT

# # #


ताइवानस्थित अमेरिकी केन्द्रले अमेरिकी सांसदहरुको भ्रमणको व्यवस्था मिलाएको हो । तर, यसप्रति चीन निकै क्रुद्ध देखिन्छ । चीनले ‘आगोसँग नजिस्कन’ अमेरिकालाई चेतावनी दिएको छ । चीनका विदेशमन्त्री वाङ लीले भनेका छन्, ‘अमेरिकाले आगो चलाएको छ, यसले उसैलाई जलाउने निश्चित छ ।’

अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणलाई ‘जोखीम र उत्तेजक’ भन्दै चीनीया विदेशमन्त्रीले ‘ताइवानको स्वतन्त्र फौजसँग अमेरिकाको साँठगाँठ खतरनाक खेल हो’समेत भनेका छन् । चीनीया विदेशमन्त्रीको भनाइलाई ‘काउन्टर’ दिँदै ताइवानका प्रधानमन्त्री सु सेङले चाहिँ ‘मित्रहरुबिचको पारस्परिक र उपयोगी भ्रमण’को संज्ञा दिएका छन् ।

अमेरिकी सांसदहरु अमेरिकी सेनाकै विमानबाट ताइवान पुग्नु पनि चीनको टाउको दुःखाइको कारण हो । अर्कोतिर ताइवान आसपासको अन्र्तराष्ट्रिय सामुद्रिक क्षेत्रमा मात्र हैन, ताइवानकै टेरिटोरीमा पनि अमेरिकी पनडुब्बी र युद्धपोतहरुले घुसपैठ गरेको भन्ने चीनको आरोप छ ।

यो त पछिल्लो परिदृश्य हो । चीन र ताइवानबीचको तनाव निकै उत्कर्षमा पुग्दैछ र यसको पछिल्लो सुरुवात चीनले नै गरेको हो । ताइवानको हवाई क्षेत्रमा चीनले आफ्ना लडाकु विमान उडाएर धाक धम्की दिइरहेको छ । यसले दक्षिण चीन सागर क्षेत्रमा शक्ति राष्ट्रहरुबीचको द्वन्द्व गम्भीर मोडमा पुगिरहेको जनाउ दिन्छ ।

ताइवानी रक्षामन्त्री चिउ कुओ चेङले चीनसँगको तनाव ४० वर्षयताकै उत्कर्ष बिन्दुमा पुगेको बताइसकेका छन् । आफ्ना लडाकु विमान ताइवान क्षेत्रमा घुसाएर चीनले अमेरिका, बेलायत, जापान, भारत, अष्ट्रेलिया, दक्षिण कोरियालगायतका ‘अकुस’ र ‘क्वाड’ कित्ताका मुलुकलाई चुनौती दिएपछि अब उनीहरु पनि यो मामिलामा चुप लागेर नबस्ने रणनीतिमा अग्रसर देखिन्छन् ।

गत १ अक्टोबरमा चीनले राष्ट्रिय दिवस मनाउने क्रममा सैन्य शक्ति प्रदर्शन गर्दै ताइवानको प्रतिरक्षा क्षेत्रमा ३८ लडाकु विमान उडाएको थियो । त्यसप्रति आपत्ति जनाउँदै ताइवानी राष्ट्रपति साइ इंग वेनले ‘चीनले ताइवानमाथि कब्जा गरेमा एशीयामै यसको भयंकर र विनाशकारी असर पर्नेछ’ चेतावनी दिएकी थिइन् ।

यस क्षेत्रमा चीनको वायुसैन्य अभ्यासलाई अमेरिकाले ‘उत्तेजक गतिविधि’को संज्ञा दिँदै आएको छ । तर, चीन आफ्नो मिसनमा आक्रामक देखिन्छ । चीनीया संचार माध्यम ‘ग्लोबल टाइम्स’ले अमेरिकालगायतका मुलुकले नै चीनलाई वायुसैन्य अभ्यासका लागि बाध्य बनाएको दाबी गर्दै अमेरिका, बेलायत, जापान, नेदरल्यान्डस्, क्यानडा र न्यूजिल्याण्डले फिलिपिन्स सागरमा यसअघि गरेको संयुक्त जलशैन्य अभ्यासको जिकीर गर्दै आएको छ ।

बेइजिङस्थित ‘साउथ चाइना सी स्ट्राटेजिक सिचुएशन प्रोबिङ इनिसिएटिभ’को दाबी अनुसार सो सैन्य अभ्यासमा अमेरिकाका दुईवटा विमानवाहक युद्धपोत ‘यूएस कार्ल भिन्सन’ र ‘यूएस रोनल्ड रेगन’ तथा बेलायतको ‘एचएमएस क्वीन एलिजावेथ’ सहभागी थिए । ती युद्धपोतहरु ताइवान नजिकैको बाशी च्यानलबाट गएकै कारण चीनले वायुशैन्य अभ्यास चर्काएको चिनियाँ थिंकटयाँकहरुको दाबी छ ।

पुरानो कटुता
चीन ताइवानलाई आफ्नो अभिन्न हिस्सा मान्छ । ताइवानलाई आफूमा विलय गराउने चीनको दाउ छ । चिनिँया राष्ट्रपति सि चिन फिंगले चीनले ताइवानमाथि अवश्य कब्जा गर्ने उदघोष गरिसकेका छन् । ताइवान भने स्वतन्त्र र सार्वभौम मुलुकको घोषणा गर्ने तयारी गरिरहेको छ । ताइवान स्वतन्त्रता घोषणतर्फ अग्रसर हुँदा अमेरिकी प्रभाव पनि बढदै गएको देखिन्छ । यो चीनलाई पचिरहेको छैन ।

सन् १६४२ देखि १६६१ सम्म ताइवान नेदरल्यान्डको  उपनिवेश थियो । त्यसपछि ताइवानमा चीनको चिंग राजवंशले सन् १८९५ सम्म शासन गर्‍यो  । सन् १८९५ मा जापानसँगको युद्धमा चीन पराजित भयो र ताइवान पनि जापानको अधीनमा आयो । दोश्रो विश्वयुद्धमा जापानको हारपछि अमेरिका र बेलायतले ताइवानलाई चीनका ठूला नेता तथा शैन्य कमाण्डर च्याङ काइ शेकलाई सुम्पिए ।

चीनको ठूलो हिस्सामा त्योबेला च्याङ काइ शेककै नियन्त्रण थियो । कालान्तरमा माओत्से तुङ नेतृत्वको कम्युनिष्ट सेनासँग च्याङ काइ शेकका सेनाहरु हारे । च्याङ र उनका सहयोगी चीनबाट भागेर ताइवान पुगे । त्योबेला १५ लाख मात्र जनसंख्या भएको ताइवानमा च्याङ काइ शेककै प्रभूत्व रह्यो । धेरै वर्षसम्म ताइवान र चीनविच कटु सम्बन्ध रहिरह्यो । सन् १९८० मा आएर दुबै देशबीचको सम्बन्ध केही हदसम्म सुमधुर हुँदै गयो ।

चीनले त्यसैताक ‘एक देश दुई प्रणाली’को प्रस्ताव ताइवानसमक्ष राखेको थियो । आफूलाई चीनकै अंग मानेमा स्वायत्तता प्रदान गरिने प्रस्तावलाई ताइवानले भने स्वीकार गरेन । सन् २००० मा चेन श्वाय बियान ताइवानको राष्ट्रपति भए, जसले खुला रुपमै ताइवानको स्वतन्त्रताको समर्थन गरे । उनको यस्तो रवैया चीनलाई रुचेन । त्यसबेलादेखि ताइवान र चीनबीचको सम्बन्ध तनावपूर्ण रहँदै आएको देखिन्छ ।
चीनबाट केवल १८० किलोमिटर टाढा रहेको ताइवानको भाषा र पुर्खा चिनिँया नै हो । तर, चीन र ताइवानबीच मुलभूत भिन्नता भनेको राजनीतिक प्रणाली  हो । डेढ अर्ब जनसंख्या भएको चीनमा कम्युनिष्टहरुको एकदलीय शासन छ, अर्कोतिर अढाइ करोड मात्र जनसंख्या भएको ताइवानमा लोकतान्त्रिक व्यवस्था छ । राजनीतिक प्रणालीगत भिन्नता पनि दुवे मुलुकबीचको तनावको कारण हो ।

हालसम्म ताइवानलाई विश्वका १५ देशले मात्र स्वतन्त्र राष्ट्रको मान्यता दिएका छन् । चीनसँग सम्बन्ध बिग्रने भयका कारण कतिपय लोकतान्त्रिक मुलुकले अझैसम्म ताइवानलाई स्वतन्त्र राष्ट्र मानेका छैनन् । सन् २००५ मा जब चीनले पृथकतावादविरोधी कानून पारित गर्‍यो , जुन कानूनले ताइवानलाई बलपूर्वक चीनमा मिलाउनसक्ने अधिकार दिएको छ । यति मात्र हैन, ताइवानले आफूलाई स्वतन्त्र राष्ट्र घोषित गरेमा चिनिँया सेनाले उसमाथि हमला गर्न सक्नेछ ।

‘सिलिकन शील्ड’ले बचाउला ताइवान ?

चीनले जतिसुकै लडाकु विमानको गस्ती लगाए पनि ताइवानसँग एउटा यस्तो सुरक्षा कवच छ, जसका कारण चीनले ताइवानमाथि सोझै हमला गर्नुअघि सय पटक सोच्नुपर्ने हुन्छ । ताइवानको यो सुरक्षा रणनीतिलाई ‘शिलिकन शील्ड’ भन्ने गरिएको छ । पत्रकार क्रेग एडिशनले आफ्नो पुस्तक ‘सिलिकन शील्ड–प्रोटेक्टिङ ताइवान अगेन्स्ट अटयाक फ्रम चीन’मा उल्लेख गरे अनुसार ताइवानसँग एउटा यस्तो उद्योग छ, जसमाथि लडाकु विमानदेखि सोलर प्यानल र भिडियो गेमदेखि मेडिकल उपकरणसम्मका उद्योग निर्भर छन् ।

‘ताइवान विश्वभर एडभान्स सेमीकन्डक्टर चिप्सको मुख्य उत्पादक मुलुक हो । यसै कारण चिनिँया सेना ताइवानका विरुद्ध हमला गर्न सक्दैनन्’ पत्रकार क्रेग एडिशन भन्छन् । उनका अनुसार कथम कदाचित् ताइवानको विषयलाई लिएर दक्षिण चीन सागर क्षेत्रमा युद्ध भइहाल्यो भने त्यसको असर व्यापक हुनेछ र चीनले त्यसको ठूलो मूल्य चुकाउनुपर्नेछ । यो युद्ध चीनका लागि महंगो पर्नेछ र चीन हमला गर्नबाट पछि हटनुपर्नेछ ।

विश्वका अन्य मुलुकझैं चीन पनि ताइवानमा निर्माण हुने एडभान्स सेमीकन्डक्टर चिप्समाथि निर्भर छ । यो एउटा यस्तो चिप्स हो, जसमाथि सेमीकन्डक्टर सर्किट बनाइन्छ । सिलिकनबाट बन्ने यो चिप्समै विश्वका सबै प्राविधिक उत्पादन निर्भर छन् ।

चीन–ताइवान युद्धको व्यापक असरबाट चीन या अमेरिका दुवै बच्नसक्ने छैनन् । अतः ‘सिलिकन शिल्ड’ नै प्रभावकारी ढंगले ताइवानलाई चिनिँया सेनाको आक्रमणबाट सुरक्षित राख्ने दाबी गर्दै पत्रकार क्रेग भन्छन्, ‘ताइवानमाथिको आक्रमणको मूल्य कतिसम्म चर्को हुनेछ भने चीनलाई आक्रमण गर्नुअघि धेरैपटक सोच्नुपर्नेछ ।’

लामो समयदेखि चल्दै आएको तनावबीच चीनले अहिलेसम्म ताइवानमाथि सैन्य आक्रमण गर्न नसक्नुका पछाडि ‘सिलिकन शील्ड’कै करामत भएको विश्लेषण गरिएको छ । विश्वकै प्रविधिमा प्राण भर्न ताइवान सक्षम हुँदैनथ्यो भने अहिलेसम्म चीनको कोपभाजनबाट यो मुलुक बच्ने थिएन ।

अमेरिकी शक्रियता र सन्तुलन नीति

हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य प्रभावबाट चिन्तित अमेरिका, बेलायत, जापान, भारत र अष्ट्रेलियालगायतका मुलुकहरु ‘क्वाड’ र ‘अकुस’ सम्झौतामार्फत् आफ्नो सैन्य क्षमता बढाउँदैछन् । हालै मात्र अमेरिकामा क्वाड शिखर वार्ता भयो भने त्यसअघि अष्ट्रेलियालाई परमाणु उर्जामा आधारित पनडुब्बी निर्माणमा अमेरिकाले सघाउने सम्बन्धी ‘अकुस सम्झौता’ पनि भएको छ ।

अमेरिका के कुरामा ढुक्क देखिन्छ भने चीनले सैन्य गतिविधि बढाए पनि ताइवानमाथि हमला नै चाहिँ गरिहाल्नेछैन । चीनलाई पक्कै हेक्का छ, उसले ताइवानमाथि आक्रमण गरेमा अमेरिकालगायतका मुलुक हातमा दही जमाएर बस्ने छैनन् । किनकी, चीनले ताइवानमाथि कब्जा जमाएमा विश्वकै सबैभन्दा उन्नत प्रविधि चीनको हातमा जानेछ, जसको सोझो असर अमेरिकालगायतका मुलुकमाथि पर्नेछ ।

ताइवानसँग अमेरिकाको गाढा मित्रता छ । अमेरिकाको ‘ताइवान सम्बन्ध कानून’ बमोजिम अमेरिकाले ताइवानमा सैन्य अस्त्र आपूर्ती गर्दै आएको छ । अमेरिकाको नीति छ, यदि चीनले ताइवानमाथि कुनै पनि खालको आक्रमण गरेमा अमेरिकाले त्यसलाई गम्भीरतापूर्वक लिनेछ ।

सन् १९९६ मा ताइवानका बारेमा अमेरिका र चीनबीच गम्भीर तनाव उत्पन्न भएको थियो । त्योबेला ताइवानको राष्ट्रपति निर्वाचनमा प्रभाव पार्न चीनले मिसाइल परिक्षण गरेको थियो । तात्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले ठूलो मात्रामा सैन्य शक्ति प्रदर्शन गरेका थिए । भियतनाम युद्धपछि त्यो नै अमेरिकाको सबैभन्दा ठूलो सैन्य प्रदर्शन थियो ।

अमेरिकाले ताइवानतर्फ अमेरिकी लडाकु जहाज पठायो र चीनलाई सन्देश दियो, ताइवानको सुरक्षामा अमेरिका कुनै सम्झौता गर्ने छैन । अचेल अमेरिकाले चीन र ताइवानबीचको सम्बन्धमा सन्तुलन कायम गर्ने कोशिस गरिरहेको छ । तर, पछिल्लो बढ्दो तनावका कारण अमेरिकाको भूमिका झन अहं भएको छ । यही परिवेशमा भएको अमेरीकी सांसदहरुको ताइवान भ्रमणले चीनमाथि थप दबाब सिर्जना गरेको छ ।

हिन्द महासागर र दक्षिण चीन सागरमा चीनको बढदो प्रभाव रोक्ने निर्णायक युद्ध हुनसक्छ, ताइवानको तनाव । यो चीन र ताइवान मात्र हैन, पश्चिमा मुलुकको पनि रणनीतिक प्रतिष्ठाको विषय हो । हालैमात्र चिनियाँ कम्युनिष्ट पार्टीको पूर्ण अधिवेशनले ‘तेश्रो ऐतिहासिक प्रस्ताव’ पारित गर्दै राष्ट्रपति शी जिन फिङलाई अझ शक्तिशाली देखाउन खोजेको छ । भित्रभित्र मानवअधिकार र मौलिक हकका विषयमा चिनियाँ जनमत विभाजित हुन थाले पनि चिनको सत्ताले झनझन आफूमा शक्ति केन्द्रित गर्दैछ ।

विश्व राजनीतिमा आफ्नो दबदबा सावित गर्दै आन्तरिक जनमत सामु शान झार्न पनि चीनले ताइवानमाथि आफ्नो सिकन्जा आगामी दिनमा अझ कस्दै जानेछ । यस्तोमा अमेरिकालगायतका पश्चिमा मुलुक चुप लागेर पक्कै बस्ने छैनन् । ताइवानबाटै युद्धको उदघोष हुनसक्ने खतरातर्फ पनि विश्वका बुद्धीजिवीहरु चिन्तित देखिन्छन् ।

यही उहापोहबीच जलवायु परिवर्तनका विषयमा हालै मात्र चीन र अमेरीकाले एकसाथ सहकार्य गर्ने आश्चर्यजनक घोषणा गरेका छन् । चीन र अमेरिका वैश्विक मुद्दामा एउटै बिन्दुमा उभिनु दुर्लभ घटना हो । र, यसका पछाडि अमेरिकाका हालका राष्ट्रपति जो बाइडेनको ‘युद्ध शिथिलीकरण नीति’ पनि प्रमुख कारण हो । बाइडेन येमनका हुती बिद्रोहीदेखि अफगानिस्तानका तालिबानसँगसमेत लड्ने पक्षमा देखिँदैनन् । उनी शान्ति वार्ताबाट विश्वमा युद्ध अन्त्यको बडा उदारवादी र एक हिसाबले गान्धीवादी सोचबाट अभिप्रेरित भएको देखिन्छ । यही कारण ताइवानको हकमा पनि अमेरिकाले ठाडै चीनसँग शत्रुता मोल्ने छैन, बरु चीनलाई दबाबमा राख्दै ताइवानमाथिको कब्जा रोक्ने कोशिस गर्नेछ ।

अर्थात् चीनको चुरीफुरी कायमै रहने, ताइवानमाथि कब्जा पनि भइनहाल्ने र चीन र अमेरीका पनि आमने सामने युद्धमा नउभिने परिस्थितिलाई यथास्थितिमै कायम राख्ने अमेरीकी नीति देखिन्छ । यसका लागि शक्ति सन्तुलन, दबाब र सँगसँगै कुटनीतिक प्रयास पनि जारी रहने भएकाले ताइवानको तनावले अहिले नै भीषण युद्धको लिइहाल्ने अवस्था भने देखिँदैन ।