काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७७÷७८ मा परेका भ्रष्टाचारका उजुरीलाई विश्लेषण गर्दा मुलुकमा भ्रष्टाचारको पारो बढेको पाइएको छ ।


ADVERTISEMENT


सो अवधिमा अख्तियारमा परेका २२ हजार ६ सय ६५ उजुरीमध्ये १४ हजार ४ सय २५ वटा उजुरी मात्रै फर्छ्यौट भएका छन् । जुन कुल उजुरीको ६४ दशमलब २३ प्रतिशत मात्र हो । सो अवधिमा अख्तियारले भ्रष्टाचारको आरोपमा ४ सय ४३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दायर गरेको छ ।


ADVERTISEMENT

# # #


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रतिवेदनअनुसार आयोगमा परेको उजुरीलाई आधार मान्दा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ ।

यसैगरी, शिक्षा क्षेत्रअन्तर्गतका निकाय, भूमि प्रशासनसँग सम्बन्धित क्षेत्र, वन तथा वातावरण, स्वास्थ्य तथा जनसंख्या, भौतिक पूर्वाधार तथा यातायात, गृह, ऊर्जा, अर्थ मन्त्रालय र मातहतका निकायमा समेत उल्लेख्य रूपमा भ्रष्टाचार हुने गरेको पाइएको हो । अख्तियारमा परेको उजुरीका आधारमा ती निकायमा अत्यधिक भ्रष्टचार भएको देखिएको हो ।

आयोगले सोमबार आफ्नो ३१औं वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएलगत्तै सो प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सुशासन कायम गर्न आयोगका पदाधिकारी र सबै कर्मचारी उच्च मनोबल र नैतिकताका साथ अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यस कार्यमा सबैको सहयोग आवश्यक रहने बताइन् । राजधानी दैनिकबाट ।