• डा. प्रकाशशरण महत, कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका लागि काठमाडौं क्षेत्र नम्बर ५ का प्रत्यक्ष उमेद्वार

निर्वाचन संघारमा छ । चुनावी कार्यक्रम र अभियानको व्यस्तता कुन रुपमा अघि बढिरहेको छ ?


ADVERTISEMENT


चुनावी अभियान एकदम तिव्र गतिमा बढिरहेको छ । हामी घरदैलो पनि गर्दैछौ । सानो ठूलो बैठक वा अन्य माध्यमहरुबाट पनि हामी जनताको दैलोमा पुगिराखेका छौँ ।


ADVERTISEMENT

# # #


यस पटक गठबन्धनको हिसाबले पनि निर्वाचन बढी प्रतिस्पर्धात्मक र रोचक बनेको छ । विशेष गरी वाम गठबन्धन चुनौतिका रुपमा देखा परेको भनिन्छ । नेपाली कांग्रेसले पनि लोकतान्त्रिक शक्तिहरुसंग मिलेर अघि बढेको देखिन्छ । यसमा तपाईको धारणा बताइदिनुस् न ?

मुलतः दुई वटा कुरा एकदमै महत्वपूर्ण छ । यो देश कुन बाटोमा जाने भन्ने कुरा हो । उल्टो बाटोतर्फ जाने, एकदलीय तर्फ जाने, असफल भइसकेको कम्युनिस्ट अधिनायकवादतिर जाने या स्वतन्त्रता, विधिको शासन, लोकतान्त्रिक मूल्य र मान्यता, मानव अधिकारमा विश्वव्यापी मान्यताका आधारमा देश अगाडी बढ्ने ? रोजाई स्पष्ट छ । यो स्थानीय निर्वाचन होइन । सानातिना असन्तुष्टिको निवार्चन होइन । यो एउटा आस्थाबीचको लडाईँ हो । त्यो आस्था मुलभूत भिन्नताको आधारमा हामीले रोज्नु पर्ने हुन्छ । मलूक एउटा लोकतन्त्रको बाटोमा जान्छ । हरेक नागरिकलाई शक्तिशाली बनाउने र उसको प्रतिभालाई प्रस्फुटन गरेर अगाडीको बाटो खोल्ने वा सबै नियन्त्रणमूखी, पार्टीको एउटा सर्वोच्च नेताले नै देशका सम्पूर्ण निर्णय गर्ने बाटोमा जाने भन्ने छान्नेबेला आएको छ । त्यस कारण मलाई लाग्छ, यो आस्थाको लडाईँ हो ।

यो ‘आस्था’को लडाईमा पल्ला कस्को भारी होला त ?

लोकतान्त्रिक गठबन्धनको पक्षमा नेपाली जनताले मतदान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ । नेपाली कांग्रेसले अहिलेसम्म हरेक आन्दोलनको नेतृत्व गरेको छ । नेपालमा शान्ति ल्याउन अग्रणी भूमिका निर्वाह गरेको छ । खुला अर्थतन्त्र र सामाजिक न्यायको जुन बाटो नेपाली कांग्रेसले खोल्यो त्यसले २०४८ सालको तुलनामा ०७४ सालमा धेरै विकास भएका छन् । माओवादीले सिर्जना गरेको १० वर्षे जनयुद्ध लगायतका बाधा अड्चन नआएको भए हामी अहिले मध्यम स्तरीय आय भएको मुलूकको हैसियतमा हुने थियौँ । हामी देशलाई पछाडी फर्काउने, स्थिर बनाईराख्ने पक्षमा होईन, आर्थिक फड्को मार्दै मूलुकलाई अघि बढाउने गतिमा दौडाउन चाहिरहेका छौं । यस अर्थमा पनि नेपाली कांग्रेसलाई मत दिनुपर्छ ।

काठमाडौं क्षेत्र नम्बर ५ लाई ‘हेभ्भी ह्वेट’ हरुको प्रतिस्पर्धाका रुपमा पनि हेरिएको छ । प्रतिस्पर्धीलाई पछाडी पार्छु भन्ने आत्मबिश्वास कत्तिको बढेको छ ?

पहिलो कुरा त हाम्रो अग्रगामी आस्था छ भने उहाँहरुको पक्षगामी आस्था छ । हिजो एमाले र माओवादीलाई जनताले किन मतदान गरे भने कम्युनिस्ट पार्टी नाम भएपनि यिनीहरु लोकतान्त्रिक पद्धती र बहुल विचार मान्लान्, हिंसा छाडेर शान्तिको बाटोमा आउलान् भनेर भोट हालेका हुन् । तर, उहाँहरुले कम्युनिस्ट पार्टी मिलेर एउटा पार्टी बनाउने, पहिलो चरणमा राष्ट्रपतीय शासन लागू गराउने, राष्ट्रपतीय शासन भनेको फ्रान्स र अमेरिकाको जस्तो होइन, एउटा दलको सर्वोच्च नेताको हातमा सम्पूर्ण अधिकारहरु दिने सपना देखिरहनु भएको छ । त्यसो भएर अहिले जनताको हातमा लोकतान्त्रिक मुल्य र मान्यतालाई मत दिने कि एकदलीयता वा अधिनायकवादलाई दिने भन्ने निर्णय गर्ने बेला आएको छ । यस कारण देशको लोकतान्त्रिक मूल्य मान्यतामा उभिएको पार्टीको एउटा उम्मेदवार तथा शसक्त प्रतिनिधि पात्रको रुपमा मलाई मत दिनुहुन्छ भन्ने मेरो विश्वास हो ।

त्यस्तै स्थानीय जनताको विकास निमार्णको चाहानालाई पनि शसक्त रुपमा म प्रतिनिधित्व गर्न सक्छु । व्यक्तिगत रुपमा भन्नुपर्दा भित्र एउटा र बाहिर अर्कै कुरा गर्ने मान्छे म होइन । जनतालाई छक्याएर, झुक्याएर आफ्नो तात्कालिक स्वार्थ पूरा गरेपछि त्यस क्षेत्रतर्फ फर्केर नहेर्ने खालको मानिस म होइन । मैले जे जिम्मेवारी पाएँ, त्यसलाई इमान्दार भएर, जिम्मेवार भएर निर्वाह गरेको छु । त्यस कारण व्यक्तिगत रुपमा मेरो जुन किसिमको शैक्षिक योग्यता र पृष्ठभूमीका अनुभवहरु छन्, त्यसको उपयोग गरेर यहाँका जनताको सेवा गर्न सक्ने क्षमता मसंग छ । यस अर्थमा पनि जनताले मलाई रोज्छन् भन्ने आत्मविश्वास छ । समग्र पार्टीको आस्था र विश्वास छ । त्यसअनुसार पनि जनताले मलाई मत दिन्छन् जस्तो लाग्छ ।

नेतृत्वको लगाम लिएर अघि बढ्छु भनेर उमेद्वार बनिरहँदा क्षेत्र र जनताका लागि बनाईएका योजना र कार्यक्रमहरु पनि होलान । चुनाव मुखैमा छ, भन्ने बेला पनि यही हो, बताईदिनुस् न जितेर आएपछि के कस्ता कामहरु गर्ने मस्तिष्क मन्थनमा हुनुहुन्छ ?

कुनै पनि क्षेत्र राष्ट्रिय राजनीतिबाट अलग रहन सक्दैनन् । राष्ट्रिय राजनीति ठिक बाटोमा गयो भने, विधिको शासनको बाटोमा गयो भने गरिखाने वातावरण सिर्जना हुन्छ । तर देशमा उद्योगधन्दा, स्कुल वा विकासका पूर्वाधार निर्माण नगर भन्ने प्रवृत्ति हावी भयो भने देश अगाडी बढ्न सक्दैन । त्यस कारण राष्ट्रिय राजनीतिलाई अगाडी बढाउनका लागि पनि नेपाली कांग्रेसबाट यो क्षेत्रको प्रतिनिधिको नाताले विजय जरुरी छ । त्यसो भयो भने यो देशमा रोजगारी बढ्छ, उद्योगधन्दा खोलिन्छन् त्यसपछि राजस्व बढ्छ । राजश्व बढेपछि देशको बजेट बढ्छ । त्यो बजेटको एउटा ठूलो हिस्सा यो क्षेत्रमा लगानी हुनुपर्छ भन्ने कुरालाई म शसक्त प्रतिनिधित्व गर्नसक्छु । बुढानिलकण्ठ जस्तो एउटा धार्मिक धरोहर, सांस्कृतिक धरोहर यहीँ छ । टोखा, यता हाडी गाउँ छ । त्यस्तै अनेकौँ मठमन्दिरहरुलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । हाम्रो सांस्कृतिक धरोहरलाई बेवास्ता गरेर हाम्रो पहिचान कायम हुन सक्दैन ।

दोस्रो कुरा यहाँको सहरीकरण अव्यवस्थित भएको छ । ठूलो लगानी आवासीय हाउजिङहरुमा भएको छ । तर, बाटो नबनेको र भएपनि खोज्दै जानुपर्ने अवस्था छ । त्यस कारण यसलाई व्यवस्थित गर्नुपर्यो । स्थानीय वा प्रदेश सरकारले गर्न नसकेका कामहरुलाई केन्द्रबाट योजनाबद्ध विकासको एउटा प्रोजेक्ट ल्याएर त्यसलाई लागू गर्नुपर्छ । यसलाई व्यवस्थित सहर बनाउने काम गर्नुछ । त्यस्तै यहाँका खोल्सा खाल्सी नालाको रुपमा परिणत भएका छन् । तिनलाई दर्गन्ध रिहित बनाएर छुट्टै योजना ल्याएर वातावरणमैत्री बनाउने । त्यस्तै विभिन्न वर्ग तथा युवाको रोजगारीको चाहनालाई पूरा गर्नका लागि यहाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा कसरी लगानी आउँछ र कुन क्षेत्रमा ल्याउनुपर्छ भन्ने कुरा मलाई राम्रोसंग थाहा छ । ‘आइटी’ क्षेत्रमा लगानी, होटेल क्षेत्रमा लगानी र अरु उद्योग व्यवसायमा पनि लगानी ल्याउनका लागि प्रोत्साहित गर्ने काम म गर्छुु ।

अर्को भनेको यहाँ अत्यन्त महत्वको शिवपूरी राष्ट्रिय निकुञ्ज पनि छ । त्यहाँ ‘टुरिजम्’ को विकास गरेर त्यस् क्षेत्रका जनतालाई आय आर्जन गर्ने एउटा राम्रो माध्यम पनि बन्छ । विभिन्न किसिमका पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिन्छ । रसुवा केरुङ नाका जोड्ने बाटो यहीबाट जान्छ । टोखाबाट नुवाकोट तर्फ निस्किने २५ किलोमिटरको सुरुङमार्ग निर्माण कार्य अगाडी बढ्दैछ । शिवपूरी राष्ट्रिय निकुञ्जमा चितवनको जस्तै ‘जिप राइड’ निर्माण गरेपछि २२ किमी सुरुङ मार्ग घटाउन सकिन्छ । त्यसका लागि आवश्यक लगानी ल्याउने कुरामा म पहल गर्न सक्छु । त्यो याग्यता र क्षमता म राख्न सक्छु ।

नेपालमा प्रजातन्त्र स्थापना देखि संविधान निर्माण र कार्यान्वयनसम्म सबैजसो आन्दोलनमा नेपाली कांग्रेसले अग्रणी भूमिका निभायो । अब विकास र समृद्धिलाई राष्ट्रिय एजेण्डा भनिरहँदा त्यसको नेतृत्वका लागि पनि कांग्रेस तयार छ ?

एकदम तयार छ, सक्छ । हामीले सधैँ नेतृत्व गरेका छौँ । ०४६ सालअघि २ प्रतिशत आर्थिक वृद्धिदर थियो । तुरुन्तै ६ प्रतिशत आर्थिक वृद्धिदर पुग्यो । नेपालमा हिंसात्मक द्धन्द नभएको भए देखि हामी धेरै अगाडी पुगिसक्थ्यौं । धेरै रोकावटहरुका वाबजुत यति धेरै परिवर्तन आएको छ । स्वतन्त्रताको जगमा नै यो सम्भव भएको हो । त्यसलाई थुनछेक गर्ने प्रवृत्ति हावी नभएको भए नेपाल अहिले विकसित मुलूकको सूचिमा हुन्थ्यो । त्यस कारण आर्थिक, सामाजिक रुपान्तरणको नेतृत्व पनि नेपाली कांग्रेसले गर्न सक्छ । संग – संगै हरेक नेपालीले स्वतन्त्रतापूर्वक जीवनयापनका कुराहरु गर्न पाउने अधिकार त्यो महत्वपूर्ण कुरा हो । त्यसको पक्षमा हामी उभिएकाले पनि अहिले जनताको रोजाई स्पष्ट छ ।

अन्त्यमा, निर्वाचन प्रचार – प्रसारका लागि घरदैलो सम्मै पुगिरहँदा जनतालाई तपाईँको सन्देश के छ ?

मैले माथि नै भने, कि अहिलेको रोजाई १९–२० को रोजाई होइन । अहिलेको रोजाई भनेको यो देशलाई कुन बाटोमा लाने भन्ने तर्फ केन्द्रित छ । आकाश पातालको कुरा गर्ने, जगै नभएको गफ लगाउँदै जनतालाई भुलाएर जादू नै गरिदिन्छन् कि भन्ने भ्रम जनतामा सिर्जना गर्ने राजनीति नेपालमा लामो समयसम्म भयो । यस्ले गर्दा नेपाल जति अगाडी बढ्नु पर्ने थियो त्यस् अनुसार बढ्न सकेन । यस कारण अब यो अनिश्चिततालाई अन्त्य गर्नुपर्छ । लोकतन्त्रको पक्षमा, विधिको शासनका पक्षमा, कानूनी राज्यको पक्षमा जाने पार्टीलाई जनताले मतदान गर्नुपर्छ । जनतालाई भुलाईरहने, उल्टोपाल्टो कुरा गरिरहने, असम्भव गफ गरेर जनतालाई आफ्नो पक्षमा तान्ने प्रवृत्तिको अन्त्यका लागि जनताले नेपाली कांग्रेसलाई मतदान गर्नुपर्छ । एउटा शसक्त प्रतिनिधिको रुपमा काठमाडौं क्षेत्र नं. ५ मा मेरो उमेद्वारी छ । प्रदेशको लागि अन्य उमेद्वार साथीहरु हुनुहुन्छ । राष्ट्र र जनताका पक्षमा हामीलाई जिताउनु पर्छ भन्ने मेरो आग्रह छ ।