काठमाडौं – नेपालमा राज्य तहबाटै पप्पी सिड (अफिमको बियाँ) भनिने अफिमको तस्करी  हुने गरेको देखिन आएको छ ।  ‘तस्करी’मा राज्य नै सक्रिय भइरहेको यो घटना डरलाग्दो छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको स्वीकृतिमा एक सय ६३ टन (एक लाख ६३ हजार पाँच सय किलो) सिड नेपाल भित्रिएको हो । जसको मूल्य १२ करोड २१ लाख ५० हजार परेको छ ।


ADVERTISEMENT


मन्त्रालयले योसहित दुई हजार मेट्रिकटन सिड आयातका लागि स्वीकृति दिएको छ । मन्त्रालयले टर्कीबाट आयात गर्न स्वीकृति दिएपछि साउनयता भित्रिन थालेको हो । तर, उक्त सिड संयुक्त राष्ट्रसंघको अफिस अन ड्रग एन्ड क्राइमअन्तर्गतको इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्ड (आइएनसिबी)को स्वीकृतिविना नै आयात गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


युएन ट्रिटी सेरिज भोलुम– ५२० को नं ७५१५ र रिपोर्ट अफ इन्टरनेसनल नार्कोटिक्स कन्ट्रोल बोर्ड– १९९५ अनुसार बोर्डको स्वीकृतिपछि मात्रै कुनै पनि मुलुकले सिड उत्पादन गर्न पाउँछ ।

उक्त मुलुकले बोर्डको उच्च निगरानीमा सिड उत्पादन गर्छ । निर्यातका लागि पनि उसले बोर्डकै स्वीकृति लिनुपर्छ । यस क्रममा उसले निर्यात गर्न लागिएको मुलुकको नामसमेत बोर्डलाई जानकारी गराउनुपर्छ ।

टर्कीले पप्पी सिड उत्पादन गर्न कन्ट्रोल बोर्डको स्वीकृति लिएको छ । उत्पादित सिड नेपालमा निर्यात गर्न चाहे यसका लागि पनि उसले अनिवार्य रूपमा बोर्डको स्वीकृति लिनुपर्छ । तर, टर्कीले बोर्डबाट त्यस्तो स्वीकृति लिए–नलिएको सम्बन्धमा मन्त्रालय नै प्रस्ट छैन । सिड आयातका लागि अनुमति दिँदा उद्योगमन्त्री लेखराज भट्ट थिए । नयाँपत्रिका दैनिकमा खबर छ ।