रविन्द्र काफ्ले, पाँचथर– यहाँको कुम्मायक गाउँपालिका–५ की नरीमाया चेम्जोङ ७४ वर्ष पुगे । शारीरिक रूपमा अशक्त उनी राम्रोसँग हिँडडुल गर्न त सक्दैनथे नै, उमेर ढल्कँदै जाँदा उनको श्रवणशक्ति पनि कमजोर भइसकेको थियो । यसमाथि आँखाको दृष्टि क्षमता निकै कमजोर हुँदा वृद्धावस्थामा उनका दिन निकै कष्टपूर्ण बने । असाध्यै अप्ठ्यारोमा परे पनि उनको सुविधासम्पन्न अस्पतालसम्म पुग्ने र उपचार गराउन सक्ने अवस्था थिएन । गाउँमा शल्यक्रियासहितको आँखा शिविर घर नजिकैको यासोक बजारमा आउने सुनेपछि उनी छोराको सहयोगले उपचारमा आए । शल्यक्रियासहितको उपचारपछि मधुरो देख्ने आँखाहरु जवान हुँदाका जस्तै तेज भएपछि नरीमाया खुसी छिन् ।


ADVERTISEMENT


कुम्मायक गाउँपालिकाको यासोक बजारमा तीन दिनसम्म सञ्चालन भएको आँखा शिविरमा भेटिएका कुम्मायक–३ का ७२ वर्षीय रघुनाथ चम्लागाईँलाई आँखामा ज्योति फिर्दा नयाँ जीवन पाएजस्तो लागेको छ । वरपरका दृश्य हेर्दै आफ्ना अनुभव सुनाउँदै उनले भने, ‘आफ्नै परिवारका मान्छे चिन्न पनि गाह्रो थियो । अहिले निःशुल्क आँखाको शल्यक्रिया भएपछि राम्रोसँग देख्ने भएको छु ।’ गुमेको दृष्टि फर्किँदा शरीरमा ऊर्जा थपिएको र हल्का महसुस भएको उनको अनुभव छ । घर नजिकैको यासोक बजारमा सञ्चालित आँखा शिविरमा सेवा लिएर खुशी हुने चेम्जोङ र चम्लागाईँ प्रतिनिधि पात्रहरु मात्रै हुन् ।


ADVERTISEMENT

# # #


कुम्मायक गाउँपालिका र नेत्रज्योति सङ्घ ताप्लेजुङको सम्झौतापछि आँखा उपचार केन्द्र यासोक बजारमा स्थापना भएको छ । आँखा उपचार केन्द्रको उद्घाटनसँगै आयोजित शिविरमा सेवा लिन पाउँदा ग्रामीण क्षेत्रका सेवाग्राही खुसी भए । उक्त शिविरमा २४ ज्येष्ठ नागरिकको मोतियाविन्दूलगायत आँखाका समस्याको शल्यक्रियासहितको उपचार भएको छ । अन्य २८९ जनाले आँखासम्बन्धी समस्या समाधानका लागि शिविरबाट सेवा लिएका छन् ।

शिविरसँगै यासोकमा स्थापना भएको आँखा उपचार केन्द्रले दैनिक आँखा उपचारको सेवा दिने आँखा उपचार केन्द्र यासोकका प्रमुख वसन्त लिम्बूले जानकारी दिए । कुम्मायक गाउँपालिकाले आँखा उपचार केन्द्रलाई वार्षिक सात लाख रुपैँया बजेट र भवन उपलब्ध गराउने गराएको छ । विशेषत ज्येष्ठ नागरिकले सुविधायुक्त स्थानसम्म पुगेर आँखाको उपचार गराउन नसक्ने देखिएपछि आँखा शिविर सञ्चालन र आँखा उपचार केन्द्र स्थापना गरिएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

शिविरमा इटहरी आँखा अस्पतालका डा अङ्किता शर्मासहित नौस्वास्थ्यकर्मीको टोलीले जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका आँखाको समस्या भएका बिरामीको निःशुल्क उपचार गरेको थियो । यसक्रममा चश्मा र औषधिसमेत वितरण गरिएको छ । दुई वर्षअघि समेत कुम्मायक गाउँपालिकाले यासोक बजारमा शिविर सञ्चालन गरेको थियो । शिविरमा एक हजार ११० जनाले सेवा पाएका थिए भने ११३ जनालाई शल्यक्रियासहितको सेवा प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष चेम्जोङका अनुसार विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्य शिविर आयोजनाले रोग पालेर बसेकालाई समेत उपचारमा जान प्रोत्साहित गरिरहेको छ । यो गाउँपालिकाले चार वर्षको अवधिमा पाँचवटा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ । जसमा करिब दुई हजार सर्वसाधारणले सेवा पाएका छन् । यसरी सेवा लिनेमा कुम्मायकसहित तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण छन् । रासस