काठमाडौँ – कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी टोलमा बस्दै आएकी ४३ वर्षीय प्रेमा तामाङको श्रीमान र छोरा सहित ३ जनाको परिवार छ । पुर्खौली घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको दुर्गम गाउँ पलातीमा भए पनि प्राकृतिक जोखिमले गर्दा गाउँ स्थानान्तरण गर्नुपर्ने भएकोले बास र गाँसको खोजीमा पोखरामा आएकी हुन् ।


ADVERTISEMENT


सुरुसुरुमा पोखरामा सरसफाई तथा ज्याला मजदुरीको काम गर्छु भन्दा पनि उनले काम पाइनन् । ‘घरमा सरसफाईको काम गर्छु भन्दा पनि कसैले विश्वास गर्दैनथे ।’ उनले विगत सम्झिइन्, न्, ‘कहीँ कतै दैनिक ज्याला मजदुरीको काम पाई हाले पनि दैनिक ३ सय देखि ४ सय रुपैयाँसम्मको काम पाईन्थ्यो ।’


ADVERTISEMENT

# # #


दिउँसो उनी छोरालाई काखमा बोकेर ज्यालामजदुरी काम गर्थिन् र साँझ बिहान अरुको घरमा सरसफाइको काम समेत गर्थिन् । प्रेमाका श्रीमान् काठमाडौँमा कुखुराको दाना बनाउने एक कम्पनीमा काम गर्थे । प्रेमाको परिवारको जीविका जेनतेन चलिरहेको थियो । तर, कामको शिलसिलामा श्रीमानको दाहिने हात काटिएर अपाङ्ग भएपछि कम्पनीले जागीरबाट निकालिए । हातको उपचार गर्न जाँदा डाक्टरले क्यान्सर हुने संभावना छ, हात नै आधा काटेर उपचार गर्नु पर्छ भने पछि उपचारको क्रममा धेरै खर्च भयो ।

‘जति दुःख भए पनि आंटो पिठो खाए पनि हामी खुशी नै थियौ । तर श्रीमानको अकल्पनिय दुर्घटना पछि झन ठुलो समस्या आई पर्यो ।’ प्रेमाले दुःख सम्झिइन्, ‘श्रीमानको कमाईले घर चलिरहेको अवस्थामा त्यस पछि सवै बोझ मैले बोक्नु पर्ने भयो ।’ श्रीमानको औषधि उपचार, छोराको पढाई, घर भाडा, खाना, लगाउन सबै थोक आफूमाथि निर्भर भए पछि जिन्दगी जिउन उनलाई अझ अप्ठ्यारो पर्दै गयो ।’

एकदिन महेन्द्रपुलको एउटा होटलमा सरसफाई गर्दा त्यस होटलमा धेरै ग्राहकहरु आएर खाजा नास्ता खाएको र साहुको व्यापार एकदमै राम्रो भएको देखेपछि उनलाई आफूलाई पनि होटेल व्यवसाय गर्न मन लाग्यो । तर, त्यसका लागि आवश्यक पूँजी कसरी ल्याउने भन्ने प्रश्नको जवाफ थिएन ।

उनले भनिन्, ‘केही दिन आफ्नो क्षमता भन्दा पनि बाहिरको काम के सोच्नु भनेर छोडिदिएँ । तर अर्को मनले अब त यसरी चल्दैन, जसरी भए पनि गर्नु पर्छ भनेर कम्मर कसेँ ।’ आफ्नो योजना सुनाउँदै उनले छिमेकीसँग २० हजार ऋणका लागि आग्रह गरिन् । तर, ऋण त परको कुरा उनले उल्टै हप्की खाइन् । उनले थपिन्, ‘धेरै सँग हात फैलाएँ तर कसैले मलाई व्यवसाय गर्नको लागि हौसलासम्म पनि दिएनन् ।” यसरी धेरै हण्डर र ठक्कर खाएर निराश भएकी प्रेमाको एकदिन आफु बस्ने घर नजिकैकी गंगा नेपालीसँग भेट भयो । गंगाले प्रेमालाई छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्य बन्न सुझाव दिइन् ।

ऋण किस्ता किस्ता गरेर तिर्न पनि मिल्ने, बचत गर्न पनि पाइने कुरा थाहा पाएपछि प्रेमाले घरमा श्रीमानसँग सल्लाह गरेर २०७३को चैत्रमा छिमेक लघुवित्त वित्तीय संस्थाको सदस्य भइन् । छिमेक संस्थामा आवद्ध भए पछि पहिलो पटक उनले रु.४० हजार कर्जा लिएर होटल व्यवसायको लागि २ वटा टेबल, मःम बनाउने भाँडा र अन्य सामानहरु किनेर व्यवसाय सुरु गरिन् । व्यवसायको रेखदेख श्रीमानले गरे । पोखराजस्तो महंगो शहरमा एउटा व्यवसाय मात्रैले घरपरिवार, किस्ता, बचत तिर्न नपुगेपछि उनले दैनिक डोकोमा फलफुल बेच्ने, होटलमा सरसफाई काम गर्न, ज्याला मजदुरीको काम गर्न थालिन् ।

छिमेक लघुवित्तबाट थप रु. ५० हजार कर्जा लिएर व्यवसायका लागि फ्रिज र अरु सामानहरु थप गरिन् विस्तारै दिनदिनै व्यवसायबाट आम्दानी बढ्न शुरु भयो । जसले उनलाई व्यवसाय विस्तार गर्न हौसला मिल्यो । पुनः छिमेक बाट २०७५ आश्विनमा रु २ लाख रुपैयाँ कर्जा लिई व्यवसाय विस्तार गरिन् । यहि कर्जाले उनले ३ सय वटा कुखुरा अटाउने खोर निर्माण गरी कुखुरा पालनको साथै बट्टाई चरा पालन पनि सुरु गरिन् ।

उनले मौसम अनुसारको व्यवसाय गर्नको लागि पुनः २०७६ वैशाखमा रु.२ लाख ५० हजार लिएकी छन् । जसबाट उनले मंसिर महिनादेखि वैशाखसम्म सेतीको किनारमा बालुवा निकाल्न आउने १ सय जनाभन्दा बढीको लागि खाजा नास्ता पसल चलाउन थालिन् । जसबाट दैनिक रु. ३ देखि ४ हजारसम्म खुद मुनाफा प्राप्त गर्न सकेको बताउँछिन् । पुनः वैशाखदेखि सुरुमा उनले कार्तिक महिनासम्म फलफुल डोकोमा राखेर बेच्ने गर्छिन् । जसबाट हरेक दिन ८ देखि १२ सयसम्म खुद मुनाफा गर्न सकेको बताउँछिन् । अहिले उनको छोरा स्नातक प्रथम वर्षमा पढिरहेका छन् र उनले पनि ९/१० कक्षाका विद्यार्थीहरुलाई ट्यूसन पढाएर घर परिवारलाई सहयोग गरिरहेका छन् ।

पैसाले पैसा कमाउने हुँदा उनले व्यवसायका हरेक क्षेत्रमा हात हाल्दै सफलता प्राप्त गरिन् । उनले ८ आना जग्गा मासिक ५ हजार भाडा बुझाउने शर्तमा सम्झौता गरी उक्त जग्गामा १० वटा कोठा भएको घर निर्माण गरिन् । ७ वटा कोठा मासिक २८ हजार लिने गरी भाडामा पनि दिएकी छन् ।

उनले २०७७ असोजमा ३ लाख ५० हजार रुपैयाँ ऋण लिएर व्यवसायमा लगाएकी छन् । यसरी ऋण रकम पनि वढाउदै व्यवसाय पनि बढाउदै जाँदा उनको औषत मासिक आम्दानी १ लाख ५० हजारसम्म हुने गर्दछ । यसरी दुःख गरेर कमाएको आम्दानीबाट व्यवसाय वृद्धिका साथै श्रीमानको औषधि उपचार, छोराको पढाइ खर्च, घरभाडा, खाना खर्च, पानी, बत्ती सबै खर्च गरेर पनि मासिक २० देखि २५ हजार छिमेकमा बचत गर्न सफल भएकी छन् ।

प्रेमाले अहिलेसम्म विभिन्न व्यवसाय मार्फत गरेको आम्दानीले तीन वटा घडेरी किनिसकेको बताउँछिन् । साथै अर्काे घडेरी खरिदको लागि रु. ५ लाख बैना दिई सम्झौता समेत गरिसकेकी छन् ।

हिजो दुःख परेको समयमा एक रुपैयाँ पनि नपत्याउने आफन्त छरछिमेकीहरु आज उनीसँग आर्थिक सहयोग मागिरहेका हुन्छन् । ‘सहयोग मागेको बेलामा वहाँहरुलाई सहयोग गर्न पाउनु पनि मेरो लागी खुशीको कुरा हो ।’ उनले भनिन्, ‘मेहेनत गरेपछि पक्कै पनि सफल भईन्छ । समयलाई चिनेर अगाडि बढ्नु पर्दछ । काम सानो ठुलो हुदैन ।’

उनले छिमेक लघुवित्तजस्ता संस्थाहरुको साथ पाएमा प्रगति गर्न धेरै समय कुर्नु नपर्ने उनको भनाई छ । उनले भनिन्, ‘मलाई हेर्नुहोस त छिमेको सदस्य बनेको आज जम्मा ४ वर्षमा मेरो प्रगति राम्रै छ नि । त्यसैले हामीले भाग्यमा भन्दा हामीले कर्ममा विश्वास गर्नुपर्छ ।’

प्रेमाको अबको योजना बैना गरेको घडेरी पास गर्ने, राम्रो घर बनाउने, छोरोलाई पढाउने र नेपालमै राम्रो ठाउँमा जागीरे बनाउने हो । व्यवसायलाई अझ व्यवस्थित बनाई बढाउने समेत योजना रहेको उनले बताइन् ।

उनले भनिन्, ‘म छिमेकमा आवद्ध अरु दिदी बहिनीहरुलाई सफल हुनको लागि १ वटा मात्र संस्थाको सदस्य बन्ने, ईमान्दार भएर आर्थिक कारोबार गर्ने, कर्जाको सही सदुपयोग गर्ने, आर्थिक कारोबार गर्दा परिवारमा पुर्ण रुपमा सल्लाह गरेर मात्र आर्थिक कारोबार गर्नुहुन अनुरोध गर्दछु ।’ इमान्दार, मेहनती र लगनशील भएर दुःख ग¥यो भने पैसा कमाउनको लागी विदेशी भूमिमा जानु नपर्ने उनले बताइन् ।