– हिमालय पोष्ट विशेष संवाददाता


ADVERTISEMENT


लोकतन्त्र स्थापनापछि मुलुकभर च्याउ उम्रिए झैं अनेक नामका राजनीतिक पार्टीहरुको स्थापनाको लहर चलेको छ । तर, इतिहासमा त्यस्तो कालखण्ड पनि थियो, जतिबेला राजनीतिक दल गठन गर्नु नै स्वयंमा एउटा आन्दोलन या विद्रोह थियो । नेपाली कांग्रेसको स्थापना यस्तै संगीन घडीमा भएको थियो, जसका कतिपय पक्षबारे कांग्रेसको आजको पुस्तासमेत अनविज्ञ हुनसक्छ ।


ADVERTISEMENT

# # #


त्योबेला नेपालमा जहानीया राणा शासनको जगजगी थियो भने भारतमा अंग्रेजहरुको हैकम । भारतका जनता अंग्रेजहरुको गुलामीबाट ‘आजादी’ चाहिरहेका थिए भने नेपाली जनता राणाहरुको थिचोमिचो र निंरकुश शासनबाट मुक्ति खोजिरहेका थिए ।

भारत स्वतन्त्र नभएसम्म नेपाल पनि राणाहरुको दासताबाट मुक्त हुन नसक्ने दूरगामी सोच त्योबेलाका जोसिला युवा बीपी कोइरालामा थियो, जो भारतमा पढिरहेका थिए । अंग्रेजहरुले नेपालको राणा शासकहरुलाई आड भरोसा दिएकाले पनि भारतबाट अंग्रेजलाई लखेटेपछि मात्र नेपालमा पनि राणाविरुद्ध मोर्चा कस्न सकिने संभावना बिपीले देखेका थिए ।

पटना जेलबाट रिहा भए पनि बिपीका लागि नेपाल आउन सहज थिएन, त्यसैले भारतमै रहेर राणाविरोधी आन्दोनल चर्काउने सोच बमोजिम उनी भारतका नेपालीमाझ जागरण ल्याउँदै हिंडन थाले । यस्तैमा त्यो दिन पनि आयो, जब नेपाली कांग्रेस स्थापनाको महान ऐतिहासिक घोषणा भयो ।

महात्मा गान्धीको ‘स्वराज’को अभियानलाई सघाउन बिपी कोइरालालगायत भारतमा पढिरहेका नेपाली युवा विद्यार्थी पनि भारतीय स्वतन्त्रता संग्राममा सहभागी भए । यसक्रममा बिपी कोइराला पटनामा पक्राउ परे । बिपीलाई पटनाको हजारीबाग जेलमा राखिएको थियो, जहाँ उनको भेट भारतका समाजवादी नेताहरु राममनोहर लोहिया र जयप्रकाश नारायण आदिसँग भयो । जयप्रकाश र लोहियाजस्ता प्रखर समाजवादी नेतासँगको पटना जेलको सँगतकै कारण बिपीमा समाजवादप्रतिको झुकाव प्रगाढ भएको हो । जेल बसाइका क्रममा बिपीको चेतनामा अब नेपालमा पनि राणाशासनविरुद्ध आन्दोलन गर्नुपर्ने आवश्यकताको झिल्को पलाइसकेको थियो । (रामहरि जोशी, ‘अँध्यारोबाट उज्यालोतिर’)

राणाको विरोधमा आन्दोलन गर्नुपर्छ भन्ने सोच त थियो, तर यसलाई मूर्तरुप दिने कुनै संगठन थिएन । बिपीलाई थाहा थियो, क्रान्तिकारी विचार भएर मात्र पुग्दैन, त्यसलाई जनतासम्म लैजान र कार्यान्वयन गर्न क्रान्तिकारी सँगठन पनि चाहिन्छ । जसै भारतमा अंग्रेजहरुको शासनविरुद्ध आन्दोलनको दुन्दुभी फुकियो, नेपालमा पनि राणा शासनविरुद्ध आन्दोलन गर्ने परिवेशको निर्माण हुँदै गयो ।

भारतबाट अंग्रेजहरु अब लखेटिने संकेत देखिएपछि बिपीले पटना जेलबाटै नेपाली जनताको नाममा एउटा पर्चा लेखे र त्यसलाई विभिन्न माध्यमबाट बनारस, कलकत्ता, दार्जिलीङ र काठमाडौंसम्मका युवा विद्यार्थीमाझ प्रचार गराए । त्यो पर्चामा ‘भारतमा अंग्रेजहरुको शासन समाप्त हुनै लागेकाले अब नेपाललाई पनि राणाहरुको चँगुलबाट मुक्त गर्ने बेला आएकाले प्रजातन्त्रको संघर्षमा होमिन’ बिपीले आव्हान गरेका थिए ।

नेपालमा राणा शासनको दमन र क्रूरता उत्कर्षमा पुगिसकेको थियो । चार शहीदहरुलाई मृत्यु दण्ड दिइसकिएको थियो । यस्तोमा पटना जेलबाट रिहा भए पनि बिपीका लागि नेपाल आउन सहज थिएन, त्यसैले भारतमै रहेर राणाविरोधी आन्दोनल चर्काउने सोच बमोजिम उनी भारतका नेपालीमाझ जागरण ल्याउँदै हिंडन थाले । यस्तैमा त्यो दिन पनि आयो, जब नेपाली कांग्रेस स्थापनाको महान ऐतिहासिक घोषणा भयो ।

बीपी कोइरालाको सभापतित्वमा सम्पन्न अधिवेशनमा गणेशमान सिंह पनि ‘कृष्णबहादुर’को नामबाट सहभागी भएका थिए । किनकी, गणेशमान सिंह भारतमा पनि भूमिगत थिए । र, सोही अधिवेशनमा व्यापक छलफलपछि पार्टीको नाम राखियो, नेपाली राष्ट्रिय कांग्रेस ।

कलकत्ताको खाल्सा स्कूलमा त्यो दिन

नेपालमा ‘कांग्रेस’ नाम गरेको पार्टीको पहिलो न्वारान विसं २००३ मा भएको थियो । त्यतिबेला देवीप्रसाद सापकोटाको अध्यक्षतामा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको गठन गरिएको थियो ।

बीपी कोइराला राणाविरुद्ध नेपाली जनतालाई गोलबन्द गर्दै जब कलकत्ता पुगे, त्यतिबेला प्रजातन्त्रवादी नेता कार्यकर्ताहरुको एउटा सम्मलेनको आयोजना गरियो । कलकत्ता भवानीपुरस्थित खाल्सा स्कूलको प्राङणमा २००३ माघ १२ र १३ गते आयोजित दुई दिने अधिवेसनमा नेपाल र भारतका गरी दुई सय जति सहभागी थिए । बीपी कोइरालाको सभापतित्वमा सम्पन्न अधिवेशनमा गणेशमान सिंह पनि ‘कृष्णबहादुर’को नामबाट सहभागी भएका थिए । किनकी, गणेशमान सिंह भारतमा पनि भूमिगत थिए । र, सोही अधिवेशनमा व्यापक छलफलपछि पार्टीको नाम राखियो, नेपाली राष्ट्रिय कांग्रेस ।

डा. तुलसी भट्टराइद्वारा लिखित पुस्तक ‘बिपी र कांग्रेस’मा उल्लेख भए अनुसार सो अधिवेशनमा विभिन्न प्रस्ताव पारित गरियो । नेपालमा प्रजातन्त्र स्थापना गर्न अहिंसात्मक आन्दोलन प्रारम्भ गर्ने र अहिंसात्मक आन्दोलनबाटै राणातन्त्र समाप्त पारेर प्रजातन्त्र स्थापना गर्ने प्रस्ताव सर्वसम्मतीले पारित भयो ।

अधिवेशनको दोस्रो दिन ‘नेपाली राष्ट्रिय कांग्रेस’को कार्यसमिति गठन गरियो । गणेशमान सिंहले नेपालको जेलमा रहेका प्रजापरिषद्का अध्यक्ष टंकप्रसाद आचार्यको नाम सभापतिमा प्रस्ताव गरेका थिए । कसै-कसैले बीपी कोइरालालाई सभापति बनाउनुपर्ने प्रस्ताव नराखेका हैनन् । तर, स्वयं बीपीले नै टंकप्रसाद आचार्यको नाममा समर्थन जनाएपछि सर्वसम्मत रुपमा आचार्यलाई सभापति बनाइएको थियो ।

नेपाली राष्ट्रिय कांग्रेसको ऐतिहासिक पहिलो कार्य समितिमा बी.पी. कार्यबाहक सभापति बने । महामन्त्रीमा बालचन्द्र शर्मा, प्रकाशमान विभाग प्रमुखमा डा. डिल्लीरमण रेग्मी, सङ्गठनमन्त्रीमा कृष्णप्रसाद भट्टराईलाई निर्वाचित भए । सदस्यहरुमा डी.एन प्रधान, रुद्रप्रसाद गिरी, गोपालप्रसाद भट्टराई, ल्याक्पा छिरिङ शेर्पा, डी.वी परियार र ईश्वर बराल चयन भएका थिए ।

सो ऐतिहासिक अधिवेशनको तयारीमा सक्रिय रहनेहरुमध्ये रामहरि जोशी, नरेन्द्रकुमार प्रधान, डीके शाही, सूर्यमान वान्तवा, लक्खीदेवी सुन्दास आदि मुख्य थिए । बनारसका नरेन्द्र रेग्मीको घरमा पार्टीको केन्द्रिय कार्यालय थियो । अनि बनारस शाखाका सभापति चाहिँ देवीप्रसाद सापकोटालाई नै बनाइयो, जसको अध्यक्षतामा पहिलो पटक अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस बनेको थियो । कांग्रेसको कलकत्ता शाखाका प्रमुख डी.एन प्रधान बने । यसरी कलकत्ताको खाल्सा स्कूलमा नेपालको राजतन्त्र समाप्त पारेर प्रजातन्त्रात्मक शासनप्रणाली स्थापना गर्ने उद्देश्यका साथ पहिलोपल्ट नेपाली राष्ट्रिय काङ्ग्रेस पार्टीको स्थापना भयो ।

क्रमशः…

(सम्पादकीय नोट : नेपाली कांग्रेसको आशन्न १४औँ महाधिवेशनको अवसरमा हिमालयपोष्टले नेपाली कांग्रेसको इतिहासको श्रृङ्खला सुरु गरेको छ । यसपछि क्रमशः अन्य भागहरु प्रकाशित हुँदै जानेछन् । यो सामग्री हिमालय पोष्टको सम्पत्ति भएकाले अनुमति बिना प्रकाशन/प्रशारण गरिए कानुन बमोजिम कारबाहीको प्रक्रिया थालिने छ ।)