काठमाण्डौं-रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीद्वारा आर्थिक हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ । सर्पले टोकेर उपचारका लागि अस्पताल गएका बिरामीले तिर्ने शुल्क अस्पतालमा कार्यरत कर्मचारीले नै खल्तीमा हाल्ने गरेको तथ्य फेला परेको हो । सर्पले टोकेका बिरामीलाई उपचार गराएबापत अस्पतालले ११ सय रुपैयाँ लिने निर्णय गरेको र सो रकम अस्पतालको खातामा नगर्इ कर्मचारीले नै राख्ने गरेको पाइएको हो ।


ADVERTISEMENT


राति आकस्मिक कक्षमा काम गर्ने करारमा राखिएका कार्यलय सहयोगी संजय बच्छारले कार्तिक २८ गते सर्पले टोकेर उपचार गर्न गएका बिरामीले तिरेको शुल्क हिनामिना गरेका हुन् । गुजरा नगरपालिका-५ का एैनुल हकले ६ वर्षीय नातीलाई सर्पले टोकेर उपचार गराउन ल्याएका थिए । कर्मचारी बच्छारले ८ सय दिने भए रसिद काट्न नपर्ने तर ११ सय दिने भए रसिद काट्ने भनेर बिरामीका आफन्तसँग बार्गेनिङ्ग गरेका थिए ।


ADVERTISEMENT

# # #


रसिद काट्ने भएपछि करारमा राखिएका कार्यालय सहयोगी बच्छारले बिरामीका आफन्तलाई दिने रसिदमा आकस्मिक भर्ना शुल्क एकसय र सर्पदंशको उपचारबापत एक हजार लेखेर दिएको र अस्पतालको ओसीकपीमा भने कार्वन राखेर एकसय मात्रै लेखेको तथ्य सार्वजनिक भएको हो । साहास नेपाल नामक संस्थामा कार्यरत रहेका मंगल साहलाई शंका लागेपछि उनले रसिदको ओसीकपी हेर्न मागेका थिए ।

अस्पतालले राख्ने रसिदको ओसीकपीमा एकसय रुपैया मात्रै लिएको देखेपछि उनले घटना सार्वजनिक गरेका हुन । बिरामीले तिरेको शुल्क कर्मचारीले राख्ने गरेको भन्दै उनीहरुले ती कर्मचारीलाई हटाउन माग गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश लामिछानेसँग उजुरी समेत गरेका छन्। अस्पतालका अध्यक्ष लामिछानेले कर्मचारीले गल्ती गरेको स्विकार गर्दै छानविन गर्ने र समितिको निर्णयले कारबाही समेत गर्ने बताएका छन् ।