गुल्मीमा गएराति भएको जिप दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।


ADVERTISEMENT


मलामी लिएर सदरमुकाम तम्घास फर्किंदै गरेको लु १ ज १५२१ नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ स्थित अर्खलेमा दुर्घटना भएको हो । दुर्घटनामा कपिलवस्तुको बाडगंगा नगरपालिका स्थायी ठेगाना भएको रुद्रबहादुर डेगा (५५) को ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, गुल्मीका हवल्दार देवीप्रसाद पौडेलले जानकारी दिए । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


दुर्घटनामा परी धुर्कोट गाउँपालिका आत्माराम राना, रेसुङ्गा नगरपालिका–४ का देवराज पाण्डेय, डिलबहादुर दर्लामी, सन्तोष पाण्डेय, ध्रुव मरासिनी, मोहनविक्रम थापा गम्भीर घाइते भएका छन् । उनीहरुको पाल्पा असपतालमा उपचार भइरहेको छ ।घाइते अन्य ७ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उकालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि गम्भीर घाइते छन् ।

मंगलवार डोजरले पल्टाएको ढुंगाले लागेर मृत्यु भएका वडा नम्वर ४, अर्खले निवासी ३५ वर्षीय रामबहादुर दर्लामीको शव सदगत गरेर फर्किने क्रममा बुधवार राति दुर्घटना भएको थियो । दर्लामीको शव डोजर धनी र उनका आफन्तबीच सहमति नजुट्दा एक दिन ढिला गरी उठेको थियो । प्रहरीका अनुसार दुर्घटनामा पुनः दर्लामीकै आफन्तको ज्यान गएको छ ।