एसीसी यू–१९ एसिया कपअन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र पाकिस्तान भिड्दै छन् । बंगलादेशले ४८ ओभरमा ६ विकेट गुमाउदै २४६ रन बनाएको छ ।


ADVERTISEMENT


बंगलादेश नेपालसम्मिलित समूह ‘ए’ को विजेता बन्दै अगाडि बढेको हो । प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानसँग पराजित पाकिस्तान भने त्यसपछि लगातार दुई खेलमा जित दर्ता गर्दै दोस्रो चरण पुग्न सफल रह्यो । समूह ‘ए’ को विजेता बंगलादेशले समूह चरणका तीनै खेलमा जित हात पार्दै ६ अंक जोड्न सफल रह्यो । बंगलादेशले पहिलो खेलमा नेपालसँग २ विकेटको जित पाएको थियो । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थाबाट जित पाएको बंगलादेशले दोस्रो खेल मलेसियालाई २ सय ६२ रनको भारी अन्तरले हरायो ।


ADVERTISEMENT

# # #


दुवै खेल जिते पनि बंगलादेशको दोस्रो चरण पक्का भइसकेको थिएन । भारतविरुद्ध जित हात पारे सेमिफाइनलमा स्थान पक्का हुने समीकरण थियो । बंगलादेशले अन्तिम खेलमा भारतलाई ८ विकेटले पराजित गर्दै स्थान सुरक्षित बनायो । त्यसको फाइदा नेपाललाई पनि पुग्यो । चौथो संस्करणसम्म आइपुग्दा नेपालले पहिलोपल्ट सेमिफाइनलयात्रा तय गर्‍यो । अर्कोतर्फ भारत पहिलोपल्ट एसिया कपको दोस्रो चरण पुग्न असफल रह्यो । पहिलो दुई संस्करणमा समूह चरणबाट बाहिरिएको बंगलादेशले पनि लगातार दोस्रोपल्ट सेमिफाइनल पक्का गरेको हो ।

पहिलो संस्करणमा भारतसँगको संयुक्त विजेता पाकिस्तान दोस्रो संस्करणको फाइनलमा भारतसँगै पराजित भएको थियो । तर तेस्रो संस्करणमा रनरेटले पछाडि परेपछि उसको यात्रा समूह चरणमै समेटियो । जारी प्रतियोगितामा अफगानिस्तानविरुद्ध लज्जास्पद हार बेहोरेको पाकिस्तानले राम्रो पुनरागमन गर्‍यो । यूएईलाई २ सय २६ रनले हराएको पाकिस्तानले अन्तिम खेलमा साबिक उपविजेता श्रीलंकालाई ३ विकेटले हरायो । सोही हार श्रीलंकालाई दोस्रो चरण पुग्न बाधक बन्यो । बंगलादेश अपराजित रहने एकमात्र टोली हो । नेपालसँग निकै प्रतिस्पर्धात्मक खेलमा जित पाएपछि टोलीले दुवै खेलमा सहजै विजय हासिल गरेको थियो । पहिलोपल्ट फाइनल पुग्ने अभियानलाई सार्थक पार्न बंगलादेशले दुईपटक फाइनल पुगेको पाकिस्तानलाई हराउनुपर्नेछ ।